1बिहान हुने बित्तिकै मुख्य पूजाहारीहरू, धर्म-गुरुहरू, शास्त्रीहरू र जम्मै महासभाले आपसमा सल्लाह गरी येशूलाई बाँधेर लगे, र पिलातसकहाँ सुम्पिदिए।
2पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?”
3मुख्य पूजाहारीहरूले उहाँमाथि धेरै कुराको दोष लगाए।
4पिलातसले उहाँलाई फेरि यसो भनेर सोधे, “के तिमीसित केही जवाफ छैन? हेर, तिम्रो विरुद्धमा तिनीहरूले कति कुराहरूको दोष लगाउँछन्।”
5तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्क परे।
6निस्तार-चाड़को बेला मानिसहरूले मागेको एक जना कैदीलाई तिनीहरूका निम्ति पिलातसले छोड्ने गर्थे।
7विद्रोहको समयमा हत्या गर्ने विद्रोहीहरू झ्यालखानमा थिए। तीमध्ये बारब्बा नाउँको एक जना त्यहाँ थियो।
8भीड आयो र पिलातसलाई उनको चलनअनुसार तिनीहरूका निम्ति गरिदेऊन् भनी बिन्ती गर्न लाग्यो।
9पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?”
10किनकि ईर्ष्याले गर्दा नै मुख्य पूजाहारीहरूले येशूलाई उनीकहाँ सुम्पेका हुन् भनी उनलाई थाहा थियो।
11तर बरु बारब्बालाई तिनीहरूका निम्ति उनले छोडिदेऊन् भनेर मुख्य पूजाहारीहरूले भीड़लाई सुर्याए।
12पिलातसले फेरि तिनीहरूलाई सोधे,
13तिनीहरू फेरि चिच्च्याए, “त्यसलाई क्रूसमा टाँग्नुहोस्।”
14पिलातसले तिनीहरूलाई भने, “किन? उसले के अपराध गरेको छ र?”
15तब पिलातसले भीड़लाई सन्तुष्ट पार्ने इच्छाले तिनीहरूका निम्ति बारब्बालाई छोडिदिए, र येशूलाई कोर्रा लाएर क्रूसमा टाँग्न सुम्पिदिए।
16सिपाहीहरूले उहाँलाई प्रेटोरियन, अर्थात् महलभित्र लगे, र जम्मै पल्टनलाई भेला गराए।
17अनि तिनीहरूले उहाँलाई बैजनी रङ्गको वस्त्र लगाइदिए, र काँढ़ाहरूको मुकुट गाँथेर उहाँको शिरमा लगाइदिए,
18अनि “यहूदीहरूका राजाको जय” भन्दै तिनीहरूले उहाँलाई सलाम गर्न लागे।
19अनि तिनीहरूले उहाँको शिरमा निगालोले हिर्काउँदै उहाँलाई थुके, र घुँड़ा टेकेर उहाँलाई दण्डवत् गरे।
20अनि येशूको गिल्ला गरिसकेपछि तिनीहरूले बैजनी वस्त्र फुकालिदिए, र उहाँका आफ्नै लुगा लगाइदिए। त्यसपछि तिनीहरूले उहाँलाई क्रूसमा टाँग्नलाई बाहिर लगे।
21अनि अलेक्जेन्डर र रूफसका बुबा, कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए।
22त्यसपछि तिनीहरूले येशूलाई गलगथा भन्ने ठाउँमा ल्याए— गलगथाको अर्थ खोपड़ीको स्थान हो।
23अनि तिनीहरूले उहाँलाई मूर्र मिसाएको दाखमद्य दिए। तर उहाँले त्यो ग्रहण गर्नुभएन।
24तिनीहरूले उहाँलाई क्रूसमा टाँगे। अनि कसले कुन भाग पाउने सो निश्चय गर्न चिट्ठा हालेर तिनीहरूले उहाँका लुगाहरू आपसमा बाँड़े।
25तिनीहरूले उहाँलाई क्रूसमा टाँग्दा बिहानको नौ बजेको थियो।
26उहाँको दोष-पत्रमा “यहूदीहरूका राजा” भन्ने लेखिएको थियो।
27तिनीहरूले उहाँसँग दुई जना डाँकूहरू क्रूसमा टाँगे— एउटालाई उहाँको दाहिनेपट्टि, र अर्कालाई उहाँको देब्रेपट्टि।
28[धर्मशास्त्रको वचन यसरी पूरा भयो, “उहाँ अपराधीहरूसँग गनिनुभयो।”]
29त्यहाँबाट जाने मानिसहरूले आफ्नो मुन्टो हल्लाउँदै यसो भनेर उहाँलाई गिल्ला गरे, “वाह! तँ मन्दिर भत्काएर तीन दिनमा बनाउने,
30क्रूसबाट ओर्लेर आइज, र आफूलाई बचा।”
31त्यसै गरी मुख्य पूजाहारीहरूले पनि शास्त्रीहरूसँग यसो भन्दै आपसमा उहाँको ठट्टा गरे, “यसले अरूलाई बचायो, तर आफूलाई चाहिँ बचाउन सक्दैन।
32यो इस्राएलका राजा, ख्रीष्ट अब क्रूसबाट ओर्लेर आओस्, र हामी त्यो देख्नेछौं र विश्वास गर्नेछौं।” उहाँसँग क्रूसमा टाँगेकाहरूले पनि उहाँको निन्दा गरे।
33बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो।
34तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो,
35वरपर उभिनेहरूमध्ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्यसले एलियालाई बोलाउँदैछ।”
36अनि एक जनाले दौड़ेर गई एउटा स्पन्ज सिर्कामा पूरै चोपेर एउटा लामो निगालोमा यसो भनेर उहाँलाई पिउन दियो, “हेरौं, कतै एलिया त्यसलाई झार्न आउँछन् कि।”
37तब येशूले ठूलो सोर निकालेर प्राण त्याग्नुभयो।
38अनि मन्दिरको पर्दा टुप्पादेखि फेदसम्मै दुई भाग भई च्यातियो।
39येशूले यसरी प्राण त्याग्नुभएको देखेर उहाँको सामने उभिएका कप्तानले भने, “साँच्चै नै यी मानिस परमेश्वरका पुत्र रहेछन्।”
40त्यहाँ टाढ़ैबाट हेरिरहने केही स्त्रीहरू पनि थिए। तिनीहरूमध्ये मरियम मग्दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।
41उहाँ गालीलमा हुनुहुँदा, यिनीहरूले उहाँलाई पछ्याउँथे, र उहाँको सेवा-टहल गर्थे। येशूको साथमा यरूशलेममा आएका अरू धेरै स्त्रीहरू पनि त्यहाँ थिए।
42तयारीको दिन, अर्थात् शबाथ-दिनको अघिल्लो दिन, साँझ पर्दैथियो।
43महासभाका प्रतिष्ठित सदस्य अरिमाथियाका योसेफ, जसले परमेश्वरका राज्यको बाटो हेर्दैथिए, तिनले साहसपूर्वक पिलातसकहाँ गएर येशूको लाश मागे।
44येशू अघि नै मरिसक्नुभएको सुन्दा पिलातस छक्क परे। अनि कप्तानलाई आफूकहाँ बोलाएर उहाँको मृत्यु भएको हो कि होइन भनी सोधपूछ गरे।
45उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए।
46अनि योसेफले मलमलका कपड़ा किने, र लाश तल झारेर कपड़ाले बेह्रे, अनि चट्टानमा खोपेर बनाइएको एउटा चिहानमा राखे। त्यसपछि चिहानको मुखमा तिनले एउटा ढुङ्गा राखिदिए।
47मरियम मग्दलिनी र योसेफकी आमा मरियमले उहाँलाई राखेको ठाउँ हेरिराखेका थिए।