मर्कूस 7:1-37 NNRV2012 - Bible AI

1यरूशलेमबाट आएका फरिसीहरू र शास्‍त्रीहरू येशूका चारैतिर भेला भए।

2येशूका कतिपय चेलाहरूले अशुद्ध हात, अर्थात्‌ नधोएको हातले खाएका तिनीहरूले देखे।

3फरिसीहरू र सबै यहूदीहरू तिनीहरूका पुर्खाहरूले दिएका परम्‍पराअनुसार हात नधोई भोजन खाँदैनन्‌।

4बजारबाट आएपछि स्‍नान गरेर शुद्ध नभई तिनीहरू खाँदैनन्‌। यति मात्र होइन, तिनीहरूले यस्‍ता धेरै अरू परम्‍परा मान्‍दछन्, अर्थात्‌ कचौराहरू, भाँड़ाहरू र काँसोका भाँड़ाहरू धुने परम्‍परा।

5तब फरिसीहरू र शास्‍त्रीहरूले उहाँलाई सोधे, “तपाईंका चेलाहरू पितापुर्खाले राखिदिएका परम्‍परामा किन चल्‍दैनन्, तर अशुद्ध हातले खान्‍छन्‌?”

6तब उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यशैयाले तिमी कपटीहरूका विषयमा ठीकसँग यसरी अगमवाणी गरे, जस्‍तो लेखिएको छ, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मदेखि टाढ़ा छ।

7 तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌।’

8 तिमीहरू परमेश्‍वरको आज्ञालाई त्‍यागेर मानिसहरूका परम्‍परा मान्‍छौ।”

9उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू आफ्‍ना परम्‍परा मान्‍नलाई कति धूर्ततासँग परमेश्‍वरको आज्ञालाई टारिदिन्‍छौ।

10किनभने मोशाले भनेका छन्, ‘आफ्‍ना आमा-बुबालाई आदर गर, र जसले आमा-बुबाको विरुद्धमा दुष्‍ट कुरा बोल्‍छ त्‍यो मारिनैपर्छ।’

11यदि कुनै मानिसले आफ्‍ना बुबा वा आमालाई ‘मबाट जे-जति मद्दत तपाईंहरूलाई मिल्‍नुपर्ने त्‍यो कुर्बान हो,’ (अर्थात्‌ परमेश्‍वरलाई चढ़ाइएको) भन्‍छ भने,

12तिमीहरू त्‍यसलाई आफ्‍ना आमा-बुबाको निम्‍ति फेरि केही गर्न दिँदैनौ।

13यसरी तिमीहरू आफ्‍नो चलिआएको परम्‍परालाई कायम राखेर परमेश्‍वरको वचनलाई चाहिँ रद्द तुल्‍याउँछौ। अनि यस्‍तै अनेक कामहरू तिमीहरू गर्दछौ।”

14उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरा कुरा सुन र बुझ।

15यस्‍तो केही कुरा छैन जो बाहिरबाट मानिसभित्र पसेर त्‍यसलाई अशुद्ध पार्न सक्‍छ, तर मानिसबाट बाहिर निस्‍कने कुराहरूले नै मानिसलाई अशुद्ध पार्छ।

16[जसको सुन्‍ने कान छ त्‍यसले सुनोस्‌।”]

17मानिसहरूलाई छोड़ेर घरभित्र पसेपछि उहाँका चेलाहरूले उहाँलाई यस दृष्‍टान्‍तको विषयमा सोधे।

18उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्‍छ त्‍यसले उसलाई अशुद्ध पार्न सक्‍दैन भनेर तिमीहरू जान्‍दैनौ?

19किनकि त्‍यो उसको हृदयमा होइन, तर पेटभित्र पस्‍तछ, र बाहिर निस्‍किहाल्‍छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)

20उहाँले भन्‍नुभयो, “मानिसबाट जे बाहिर निस्‍कन्‍छ त्‍यसैले मानिसलाई अशुद्ध पार्छ।

21किनकि भित्रबाट, अर्थात्‌ मानिसको हृदयबाट खराब विचार, व्‍यभिचार, चोरी, हत्‍या, परस्‍त्रीगमन,

22लोभ, दुष्‍टता, छल, छाडापन, ईर्ष्‍या, निन्‍दा, घमण्‍ड, मूर्खता निस्‍कन्‍छन्‌।

23यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्‍कन्‍छन्, र मानिसलाई अशुद्ध पार्छन्‌।

24त्‍यहाँबाट उठेर उहाँ टुरोस र सीदोनका सीमातिर गएर एउटा घरभित्र पस्‍नुभयो। यो कुरा कसैले थाहा नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्‍थ्‍यो, तर उहाँ गुप्‍त रहन सक्‍नुभएन।

25त्‍यसै बेला एउटी स्‍त्रीले उहाँको विषयमा सुनी र आएर उहाँको पाउमा परी— त्‍यस स्‍त्रीको छोरीलाई अशुद्ध आत्‍मा लागेको थियो।

26त्‍यो सिरियाको फोनिकेमा जन्‍मेकी एउटी ग्रीक स्‍त्री थिई। त्‍यस स्‍त्रीले आफ्‍नी छोरीबाट भूत निकालिदेऊन्‌ भनी उहाँलाई बिन्‍ती गरी।

27उहाँले त्‍यसलाई भन्‍नुभयो, “पहिले छोराछोरीहरूलाई खान देऊ, किनकि छोराछोरीहरूका रोटी लिएर कुकुरहरूलाई फालिदिनु उचित होइन।”

28तर त्‍यसले उहाँलाई भनी, “हो प्रभु, तर कुकुरहरूले पनि त छोराछोरीहरूले टेबिलमुनि खसालेका टुक्राहरू खान्‍छन्‌।”

29उहाँले त्‍यसलाई भन्‍नुभयो, “तिमीले यसो भनेको कारण नै तिमी घर जाऊ। तिम्री छोरीबाट भूत निस्‍केर गएको छ।”

30त्‍यो घरमा गई र छोरीलाई खाटमा सुतिरहेकी भेट्टाई र त्‍यसबाट भूतचाहिँ निस्‍किसकेको थियो।

31टुरोसको इलाकाबाट निस्‍केर उहाँ सीदोन भएर डेकापोलिसका सिमानाका बीचबाट हुँदै गालील-समुद्रमा जानुभयो।

32त्‍यहाँ मानिसहरूले एक जना बहिरो र गूँगो मानिसलाई उहाँकहाँ ल्‍याए, र त्‍यसमाथि हात राखिदिनोस्‌ भनी उहाँलाई बिन्‍ती गरे।

33त्‍यसलाई भीड़बाट अलग्‍गै एकान्‍तमा लगेर येशूले आफ्‍ना औँला त्‍यसका कानमा लगाउनुभयो। त्‍यसपछि थुकेर त्‍यसको जिब्रो छुनुभयो।

34अनि स्‍वर्गतिर हेरेर लामो सास लिई त्‍यसलाई भन्‍नुभयो, “इफ्‍फाता,” अर्थात्‌ “खोलिजा।”

35त्‍यति नै बेला त्‍यसका कान खोलिए, र त्‍यसको जिब्रोको बन्‍धन फुक्‍यो, र त्‍यो स्‍पष्‍ट बोल्‍न लाग्‍यो।

36 “यो कसैलाई नभन्‍नू,” भनी उहाँले तिनीहरूलाई आज्ञा दिनुभयो। तर जति-जति उहाँले मानिसहरूलाई आज्ञा दिनुहुन्‍थ्‍यो, झन्‌ बढ़ी उत्‍साहसाथ तिनीहरूले यसको घोषणा गर्दथे।

37मानिसहरू आश्‍चर्यले अत्‍यन्‍तै चकित भए, र भन्‍न लागे, “उहाँले सबै कुरा असल गर्नुभएको छ। उहाँले बहिरालाई सुन्‍ने र गूँगालाई बोल्‍नेसम्‍म पनि तुल्‍याउनुहुन्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>