1“अब हे पूजाहारी हो, यो चेताउनी तिमीहरूका निम्ति हो।”
2सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “मेरो नाउँलाई सम्मान दिन यदि तिमीहरू सुन्दैनौ र यो तिमीहरूका हृदयमा राखेनौ भने, म तिमीहरूलाई सराप पठाउनेछु, र तिमीहरूका आशिष्हरूलाई सराप दिनेछु। मैले अघि नै ती सरापेको छु, किनकि तिमीहरूले मलाई इज्जत दिन आफ्ना हृदयलाई ठीक पारेका छैनौ।
3“तिमीहरूको कारण म तिमीहरूका सन्ततिलाई हप्काउनेछु। म तिमीहरूका मुखमा तिमीहरूका चाड़हरूमा बलि चढ़ाइएका पशुहरूको मैला फिँजाइदिनेछु, र तिमीहरू पनि त्यसैसित लगिनेछौ।
4लेवीसित बाँधेको मेरो करार रहिरहोस् भनी मैले यो चेताउनी तिमीहरूलाई दिएको हुँ भनी तिमीहरूले थाहा पाउनेछौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
5“मेरो करार त्यससँग थियो, जीवन र शान्तिको करार, र मेरो सम्मान गरोस् भनेर मैले ती त्यसलाई दिएँ, र त्यसले सम्मान गर्यो र मेरो नाउँको श्रद्धापूर्वक भय मान्यो।
6सत्यको शिक्षा त्यसको मुखमा नै थियो, र त्यसका ओठमा कुनै झूटो कुरा पाइएन। शान्ति र सोझोपनमा त्यो मसँगै हिँड़्यो, र धेरैलाई त्यसले पापबाट फर्कायो।
7“किनकि पूजाहारीका ओठले ज्ञानको रक्षा गर्नुपर्दछ, र मानिसहरूले त्यसको मुखबाट शिक्षा खोज्नुपर्दछ, किनभने त्यो सर्वशक्तिमान् परमप्रभुको समाचारवाहक हो।
8तर तिमीहरू त बाटोदेखि एकातिर लागेका छौ, र तिमीहरूको शिक्षा धेरैलाई ठोकरको कारण भएको छ। लेवीसँग बाँधिएको करार तिमीहरूले भङ्ग गरेका छौ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
9“यसैले मैले तिमीहरूलाई सबै मानिसहरूका सामुन्ने तुच्छ र विनम्र तुल्याएको छु, किनभने तिमीहरू मेरो बाटोमा हिँड़ेका छैनौ, तर व्यवस्थाका कुरामा तिमीहरूले पक्षपात गरेका छौ।”
10“हामी सबैका एउटै पिता हुनुहुन्न र? के एउटै परमेश्वरले हामीलाई सृष्टि गर्नुभएको होइन र? त किन हामी एकले अर्काको विश्वास भङ्ग गरेर हाम्रा पिता-पुर्खाको करारलाई अपवित्र पार्छौं?
11यहूदाले विश्वास भङ्ग गरेको छ। इस्राएल र यरूशलेममा घिनलाग्दो काम गरिएको छ। यहूदाले पराई देवताकी छोरीलाई विवाह गरेर परमप्रभुलाई मन पर्ने पवित्रस्थानलाई अपवित्र पारेको छ।
12यसो गर्ने जोसुकै मानिस भए तापनि, त्यसले सर्वशक्तिमान् परमप्रभुमा भेटी ल्याए तापनि परमप्रभुले त्यसलाई याकूबका पालहरूबाट बहिष्कृत गरिदेऊन्।
13फेरि तिमीहरू अर्को कुरा गर्दछौ: तिमीहरू परमप्रभुको वेदीलाई आँसुले भिजाउँदछौ। तिमीहरू रुँदछौ र विलाप गर्दछौ, किनभने उहाँले तिमीहरूका हातको भेटीलाई कहिल्यै ध्यान दिनुहुन्न, न त त्यो उहाँलाई ग्रहणयोग्य हुन्छ।
14तिमीहरू सोध्छौ, “किन?” किनभने परमप्रभु तिमीहरू र तिमीहरूको जवानीपनकी पत्नीको बीचमा साक्षीको काम गर्दैहुनुहुन्छ, किनकि तिमीहरूले त्यससँगको विश्वास भङ्ग गर्यौ, यद्यपि तिनी तिम्री जीवन-साथी र वैवाहिक करारमा बाँधिएकी पत्नी हो।
15के परमप्रभुले तिनीहरूलाई एउटै बनाउनुभएको होइन र? शरीर र आत्मामा तिनीहरू उहाँकै हुन्। अनि तिनीहरू किन एउटै हुन्? किनभने उहाँले ईश्वरीय सन्तान खोज्दैहुनुहुन्थ्यो। यसैले तिमीहरू आफ्नो आत्माको रक्षा गर, र आफ्नो जवानीपनकी पत्नीसँगको विश्वास भङ्ग नगर।
16“सम्बन्धविच्छेदको कुरालाई म घृणा गर्दछु,” परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ। “मानिसले आफैलाई आफ्नो वस्त्रलेझैँ अत्याचारले ढाक्ने कामलाई पनि म घृणा गर्दछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
17तिमीहरूले आफ्नो कुराले परमप्रभुलाई थकित तुल्याएका छौ।