मीका 2:1-13 NNRV2012 - Bible AI

1धिक्‍कार तिनीहरूलाई, जसले अधर्मको युक्ति निकाल्‍छन्, जो आफ्‍ना ओछ्यानमा ढल्‍केर खराब षड्‌यन्‍त्र रच्‍दछन्‌। बिहान उज्‍यालो हुने बित्तिकै त्‍यो काम तिनीहरू गरिहाल्‍दछन्, किनभने त्‍यो गर्ने सामर्थ्‍य तिनीहरूसँग छ।

2तिनीहरूले खेतहरूको लोभ गरेर ती खोस्‍छन्, र घरहरूको लोभ गरेर ती कब्‍जा गर्छन्‌। तिनीहरूले मानिसको घर तथा उत्तराधिकार ठगेर लिन्‍छन्‌।

3यसैकारण परमप्रभु भन्‍नुहुन्‍छ, “म यस प्रजाको निम्‍ति यस्‍तो विनाशको योजना रच्‍दैछु। त्‍यसबाट तिमीहरू बाँच्‍न सक्‍दैनौ। तिमीहरू घमण्‍डसाथ हिँड्‌न सक्‍नेछैनौ, किनकि त्‍यो एउटा विपत्तिको समय हुनेछ।

4त्‍यस दिन मानिसहरूले तिमीहरूलाई हाँसोमा उड़ाउनेछन्‌। तिनीहरूले यो विलापको गीत गाएर तिमीहरूको खिसी गर्नेछन्,

4‘हामी बिलकुलै नष्‍ट भयौं। मेरो प्रजाको सम्‍पत्ति बाँड़िएको छ। उहाँले त्‍यो खोस्‍नुहुन्‍छ। उहाँले हाम्रा जमिनहरू हामीलाई धोका दिनेहरूलाई बाँड़िदिनुहुन्‍छ’।”

5यसकारण परमप्रभुको समुदायमा चिट्ठा हालेर जमिन बाँड़िदिने तिमीहरूसित कोही हुनेछैन।

6“अगमवाणी नगर,” तिनीहरूका अगमवक्ताहरू भन्‍छन्‌। “यी कुरासम्‍बन्‍धी अगमवाणी नगर।” बेइज्‍जत हामीमाथि आइपर्नेछैन।”

7हे याकूबका घराना हो, के यसै भनिओस्‌ त? “के परमप्रभुका आत्‍मा रिसाउनुभएको छ? के उहाँले यस्‍तो काम गर्नुहुन्‍छ र?

7“के सोझो बाटो हिँड्‌नेहरूलाई मेरो वचनले असल गर्दैन र?

8भर्खरै मेरा प्रजा शत्रुहरूझैँ खड़ा भएका छन्‌। केही परवाह नगरी छेउबाटै जानेहरूबाट तिमीहरूले लड़ाइँबाट फर्कने मानिसहरूले जस्‍तै मूल्‍यवान्‌ खास्‍टो खोसेर लैजान्‍छौ।

9मेरा प्रजाका स्‍त्रीहरूलाई तिनीहरूका आनन्‍दमय घरहरूबाट तिमीहरू निकालिदिन्‍छौ। तिनीहरूका बालकहरूबाट मेरो आशिष्‌ सदाको निम्‍ति तिमीहरू खोसिलैजान्‍छौ।

10उठ, गइहाल! किनकि यो तिमीहरूको विश्राम गर्ने ठाउँ होइन, किनभने त्‍यो दूषित पारिएको छ, केही उपाय नहुने गरी यो नष्‍ट पारिएको छ।

11यदि कुनै झूट बोल्‍ने र छली मानिस ‘म तिम्रो निम्‍ति धेरै दाखमद्य र मद्यको निम्‍ति अगमवाणी गर्नेछु” भनेर भन्‍छ भने, त्‍यो यस प्रजाको निम्‍ति उचित अगमवक्ता हुनेछ!

12“हे याकूब, म निश्‍चय नै तिमीहरू सबैलाई भेला गर्नेछु। इस्राएलका बचेकाहरूलाई म निश्‍चय नै जम्‍मा गर्नेछु। म तिनीहरूलाई गोठमा भेड़ाहरूलाई झैँ र चरनमा बगाललाई झैँ एक ठाउँमा जम्‍मा गर्नेछु। त्‍यस ठाउँमा मानिसहरूको भीड़ हुनेछ।

13बाटो बनाउनुहुने तिनीहरूका अगि जानुहुनेछ। तिनीहरूले ढोका भत्‍काएर बाहिर निस्‍केर जानेछन्‌। तिनीहरूका राजा तिनीहरूका अगाड़ि जानेछन्‌। परमप्रभु तिनीहरूका अगिअगि हुनुहुनेछ’।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
>