मीका 5:1-15 NNRV2012 - Bible AI

1हे फौज भएको सहर, तेरा फौजहरूलाई भेला गर्, किनकि हाम्रो विरुद्धमा घेरा हालिएको छ। तिनीहरूले इस्राएलका शासकलाई डण्‍डाले गालामा हिर्काउनेछन्‌।

2“तर ए बेथलेहेम एप्राता, तँ यहूदाका कुलहरूमध्‍ये सानो भए तापनि तँबाट मेरो निम्‍ति एक जना निस्‍कनुहुनेछ, जो इस्राएलका शासक हुनुहुनेछ, जसको सुरु पुरानो समयदेखि, अर्थात्‌ प्राचीनकालदेखि नै छ।”

3यसकारण जबसम्‍म प्रसववेदनामा परेकीले जन्‍माउँदिन र उहाँका दाजुभाइहरू इस्राएलीहरूसँग मिल्‍न आउँदैनन्, त्‍यस समयसम्‍म इस्राएल त्‍यागिनेछ।

4उहाँले परमप्रभुको शक्तिमा र परमप्रभु आफ्‍ना परमेश्‍वरका नाउँको महत्त्वमा खड़ा भएर आफ्‍ना बगाललाई चराउनुहुनेछ। अनि तिनीहरू सुरक्षित रहनेछन्, किनकि पृथ्‍वीको पल्‍लो छेउसम्‍मै उहाँको महानता पुग्‍नेछ।

5अनि उहाँ तिनीहरूका शान्‍ति हुनुहुनेछ।

5जब अश्‍शूरीहरू हाम्रो देशमा आउँछन्‌ र हाम्रा किल्‍लाहरूलाई आक्रमण गर्छन्, तब हामी तिनीहरूको विरुद्धमा सात गोठाला अथवा आठ मुखियाहरू खड़ा गर्नेछौं।

6तिनीहरूले अश्‍शूर देशलाई तरवारले र निम्रोदको देशलाई नाङ्गो तरवारले शासन गर्नेछन्‌। जब अश्‍शूरीहरू हाम्रो देशलाई आक्रमण गर्न आउँछन्‌ र हाम्रो सिमानामा कुल्‍चन्‍छन्, तब उहाँले हामीहरूलाई अश्‍शूरीहरूका हातबाट छुटकारा दिनुहुनेछ।

7याकूबका बाँकी रहेकाहरूचाहिँ धेरै मानिसहरूका बीचमा परमप्रभुबाट आएको शीत र घाँसमाथि पर्ने झरीझैँ हुनेछन्, जसले न त कुनै मानिसलाई न मानिसजातिलाई पर्खन्‍छ।

8याकूबका बाँकी रहेकाहरूचाहिँ जाति-जातिहरू र धेरै मानिसहरूका बीचमा हुनेछन्, जङ्गलका पशुहरूका बीचमा हुने सिंह र भेड़ाबाख्राहरूका बीचमा हुने जवान सिंहजस्‍ता हुनेछन्, जो लतार्दै र फहराउँदै हिँड्‌छन्, र कसैले छुटाउन सक्‍दैन।

9तिमीहरूको बाहुली आफ्‍ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट हुनेछन्‌।

10परमप्रभु घोषणा गर्नुहुन्‍छ, “त्‍यस दिन म तिमीहरूका घोड़ाहरूलाई तिमीहरूका बीचबाट नष्‍ट पार्नेछु, र तिमीहरूका रथहरू विनाश गर्नेछु।

11म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्‍काइदिनेछु।

12म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ।

13म तिमीहरूका बीचबाट खोपिएका मूर्तिहरू र चोखा ढुङ्गाहरू नष्‍ट गर्नेछु। तिमीहरू फेरि कहिल्‍यै आफ्‍ना हातले बनाएका कुराहरूका अगि झुक्‍नेछैनौ।

14म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्‍याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्‍काइदिनेछु।

15मेरा आज्ञा नमान्‍ने जाति-जातिहरूलाई म मेरो रीस र क्रोधमा साटो लिनेछु।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
>