1परमप्रभु जे भन्नुहुन्छ, सो तिमीहरू ध्यानसित सुन:
2हे पर्वत हो, हे पृथ्वीका अनन्त जग हो, परमप्रभुको आरोप ध्यानसित सुन। किनकि आफ्नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्छ।
3“हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ।
4मैले त तिमीहरूलाई मिश्रदेशदेखि माथि ल्याएँ र तिमीहरूलाई दासत्वको देशबाट मोल तिरेर छुटाएँ। तिमीहरूका अगुवा हुनलाई मोशा, हारून र मिरियमलाई पनि मैले पठाएँ।
5हे मेरा प्रजा, मोआबको राजा बालाकले के सल्लाह गरेको थियो, र बओरको छोरा बालामले त्यसलाई के जवाफ दियो, त्यो स्मरण गर। शित्तीमदेखि गिलगालसम्मैको यात्रालाई सम्झ, ताकि तिमीहरूले परमप्रभुका धार्मिक कामहरूलाई जान्न सक।”
6के लिएर म परमप्रभुको सामु आऊँ, र उच्च भएका परमेश्वरको सामु निहुरूँ? के एक वर्षे बाछाहरू लिएर होमबलि चढ़ाउनलाई म उहाँको सामु आऊँ?
7के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्न हुनुहुन्छ र? के म आफ्नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ?
8ए मानिस, जे असल छ, त्यो उहाँले तँलाई देखाउनुभएको छ। र परमप्रभुले तँबाट के चाहनुहुन्छ? केवल यति, ठीकसित काम गर्नू र कृपालाई प्रेम गर्नू र तेरा परमेश्वरसित विनम्र भएर हिँड्नू।
9ध्यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्छ— तपाईंका नाउँको भय मान्नु ज्ञान हो— “लाठो र त्यसलाई नियुक्त गर्नेको कुरामा ध्यान देओ।
10हे दुष्ट घराना हो, के तैंले अधर्मसित प्राप्त गरेको धन-सम्पत्ति र सरापिएको तेरो बेईमान तौल म बिर्सू?
11के कपटको तराजू र छलका ढकको थैलो राख्नेलाई म निर्दोष तुल्याऊँ?
12त्यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्। त्यसका मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्छन्।
13यसकारण मैले तेरा पापहरूको कारण तँलाई नाश गर्न थालेको छु।
14तँ खान त खान्छस्, तर अघाउँदैनस्, र तेरो पेट अझै भोकै रहनेछ। तैंले सञ्चय त गर्छस् तर जोगाउँदैनस्, किनभने जे जोगाउँछस् त्यो म तरवारलाई दिइहाल्नेछु।
15तैंले रोप्न त रोप्छस्, तर कटनी गर्नेछैनस्। तैंले जैतूनको तेल निकाल्न त निकाल्छस्, तर आफ्नो जीउमा लगाउन पाउनेछैनस्। दाख पेल्न त पेल्छस्, तर दाखमद्य पिउन पाउनेछैनस्।
16तैंले ओम्रीका कानूनहरू र आहाबको घरानाका सारा काम पालन गरेको छस्, र तँ तिनीहरूका परम्पराको पछि लागेको छस्। यसकारण म तँलाई नाश गर्नेछु, र तेरा मानिसहरूलाई खिसीको पात्र तुल्याउनेछु। तैंले जाति-जातिहरूको गिल्ला सहनुपर्नेछ।”