यर्मिया 1:1-19 NNRV2012 - Bible AI

1बेन्‍यामीनको इलाकाको अनातोतमा बस्‍ने पूजाहारीहरूमध्‍ये एक जना, हिल्‍कियाहका छोरा यर्मियाका वचन यी हुन्‌।

2यहूदाका राजा अमोनका छोरा योशियाहका राजकालको तेह्रौँ वर्षमा परमप्रभुको वचन तिनीकहाँ आयो,

3अनि परमप्रभुको वचन यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालभरि र यहूदाका राजा योशियाहका छोरा सिदकियाहका राजकालको एघारौँ वर्षको पाँचौँ महिनासम्‍म, यरूशलेमका मानिसहरू कैदमा नलगुञ्‍जेलसम्‍मै आइरह्यो।

4परमप्रभुको यो वचन मकहाँ आयो,

5“मैले तँलाई गर्भमा रच्‍नभन्‍दा अघि नै तँलाई चिनिसकेको थिएँ, तँ जन्‍मनभन्‍दा अघि नै मैले तँलाई अलग गरें। मैले तँलाई जाति-जातिहरूका निम्‍ति एक अगमवक्ता नियुक्त गरें।”

6मैले भनें, “हे परमप्रभु परमेश्‍वर, म त बोल्‍नै जान्‍दिनँ, म त बालकै छु।”

7तर परमप्रभुले मलाई भन्‍नुभयो, “‘म त बालकै छु,’ भनी नभन्‌। जसकहाँ म तँलाई पठाउँछु ती हरेककहाँ तँ जानैपर्छ र जे-जे म तँलाई आज्ञा गर्छु, ती तैंले भन्‍नैपर्छ।

8तिनीहरूसँग नडरा, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

9तब आफ्‍नो हात पसारेर परमप्रभुले मेरो मुख छुनुभयो, र मलाई भन्‍नुभयो, “अब, मैले मेरा वचन तेरो मुखमा हालिदिएको छु।

10हेर्, उखेल्‍न र भत्‍काउन, नाश गर्न र भताभुङ्ग पार्न, निर्माण गर्न र रोप्‍न म आज तँलाई जाति-जातिहरू र राज्‍य-राज्‍यहरूमाथि नियुक्त गर्दछु।”

11परमप्रभुको यो वचन मकहाँ आयो: “यर्मिया, तँ के देख्‍छस्‌?” मैले भनें, “म हाड़े-बदामका रूखको एउटा हाँगा देख्‍दैछु।”

12तब परमप्रभुले मलाई भन्‍नुभयो, “तैंले ठीकै देखिस्, किनकि मेरो वचन पूरा भएको होस्‌ भनेर म नियालेर हेरिरहेको छु।”

13परमप्रभुको यो वचन फेरि मकहाँ आयो: “तँ के देख्‍दैछस्‌?” मैले भनें, “एउटा उम्‍लँदैगरेको भाँड़ो उत्तर दिशाबाट घोप्‍टिरहेको म देख्‍दैछु।”

14तब परमप्रभुले मलाई भन्‍नुभयो, “उत्तरदेखि नै यस देशका सबै मानिसहरूमाथि सर्वनाश खन्‍याइनेछ।

15म उत्तरका राज्‍यहरूका सबै मानिसहरूलाई बोलाउनै लागेको छु,” परमप्रभु भन्‍नुहुन्‍छ। “उनीहरूका राजाहरू आएर हरेकले आ-आफ्‍नो सिंहासन यरूशलेमका मूल ढोकाहरूको पस्‍ने ठाउँमा स्‍थापना गर्नेछ। उनीहरू त्‍यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरहरूका विरुद्धमा आउनेछन्‌।

16मलाई त्‍यागेर तिनीहरूले गरेका सबै दुष्‍टताको कारणले गर्दा तिनीहरूका विरुद्धमा म मेरो न्‍यायको फैसला सुनाउनेछु। तिनीहरूले पराई देवताहरूका निम्‍ति धूप बाले, र आफ्‍नै हातले बनाएका कुराहरूलाई दण्‍डवत्‌ गरे।

17“तँचाहिँ तयार हो! उठ्, र जे-जे कुराको म तँलाई आज्ञा दिन्‍छु ती तिनीहरूलाई भन्‌। तिनीहरूदेखि तँ नडरा, नत्रता म तँलाई नै तिनीहरूका सामुन्‍ने भयभीत पार्नेछु।

18आज यो सारा देश, यहूदाका राजाहरू, अधिकारीहरू, पूजाहारीहरू र देशका मानिसहरूका विरुद्धमा उभिनलाई मैले तँलाई एक किल्‍ला भएको सहर, फलामको खामो र काँसाको पर्खाल बनाएको छु।

19तिनीहरूले तेरो विरुद्ध युद्ध गर्नेछन्, तर तिनीहरू तँमाथि विजयी हुनेछैनन्, किनकि तँलाई बचाउनलाई म तेरो साथमा छु,” परमप्रभु भन्‍नुहुन्‍छ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
div>