यर्मिया 10:1-25 NNRV2012 - Bible AI

1हे इस्राएलका घराना हो, परमप्रभुले तिमीहरूलाई के भन्‍नुहुन्‍छ सो सुन।

2परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूका चाल नसिक, अथवा उनीहरूझैँ आकाशका चिन्‍हहरूदेखि त्रासित नहोओ।

3किनकि जाति-जातिहरूका रीतिथिति त व्‍यर्थ हुन्‌। उनीहरू वनमा एउटा रूख ढाल्‍छन्, र सिकर्मीको हातले हतियारद्वारा कुनै आकार बनाइन्‍छ।

4उनीहरूले त्‍यसलाई सुन र चाँदीले सिँगार्दछन्‌। त्‍यो नहल्‍लिओस्‌ भनेर उनीहरूले त्‍यसलाई घन र कीलाले ठोक्‍दछन्‌।

5खरबूजा बारीमा राखेका तर्साउने पुतलाजस्‍तै उनीहरूका मूर्तिहरू बोल्‍न सक्‍दैनन्‌। तिनीहरूलाई बोक्‍नु पर्छ, किनकि तिनीहरू हिँड्‌न सक्‍दैनन्‌। तिनीहरूदेखि नडराओ, किनभने तिनीहरूले केही खराबी गर्न सक्‍दैनन्, न त तिनीहरूले केही असल गर्न सक्‍छन्‌।”

6हे परमप्रभु, तपाईंजस्‍तो कोही पनि छैन। तपाईं महान्‌ हुनुहुन्‍छ। पराक्रममा तपाईंको नाउँ महान्‌ छ।

7हे जाति-जातिका महाराजा, कसले तपाईंलाई सम्‍मान गर्नुपर्दैन र? तपाईं यसका योग्‍य हुनुहुन्‍छ। जाति-जातिका बुद्धिमान्‌ मानिसहरूमध्‍ये र उनीहरूका जम्‍मै राज्‍यहरूमा तपाईंजस्‍तै कोही पनि छैन।

8उनीहरू त बुद्धिहीन र मूर्ख छन्‌। उनीहरू बेकामका काठका मूर्तिहरूबाट सिकाइन्‍छन्‌।

9तर्शीशबाट पिटिएको चाँदी ल्‍याइन्‍छ, र उपज देशबाट सुन। जे कारीगर र सुनारले बनाउँछन्, बैजनी र नीला लुगा त्‍यसलाई लगाइन्‍छन्‌— ती सबै सिपालु मानिसहरूद्वारा बनाइन्‍छन्‌।

10तर परमप्रभु त साँचो परमेश्‍वर हुनुहुन्‍छ, उहाँ जीवित परमेश्‍वर, अनन्‍तका महाराजा हुनुहुन्‍छ। जब उहाँ क्रुद्ध हुनुहुन्‍छ, तब पृथ्‍वी काम्‍दछ। जाति-जातिहरूले उहाँको क्रोध सहन सक्‍दैनन्‌।

11“तिनीहरूलाई यसो भन्‌: ‘यी देवताहरू, जसले आकाश र पृथ्‍वीलाई बनाएनन्, तिनीहरू पृथ्‍वीबाट र आकाशमुनिबाट नष्‍ट हुनेछन्‌’।”

12तर परमेश्‍वरले नै पृथ्‍वीलाई आफ्‍नो सामर्थ्‍यले बनाउनुभयो। उहाँले आफ्‍नो बुद्धिले संसारलाई स्‍थापित गर्नुभयो, र आफ्‍नो समझशक्तिले उहाँले आकाशलाई फैलाउनुभयो।

13जब उहाँ गर्जनुहुन्‍छ, तब आकाशमा पानीको गर्जन हुन्‍छ। उहाँले पृथ्‍वीको पल्‍लो छेउदेखि बादल उठाउनुहुन्‍छ। उहाँले वृष्‍टिसँग बिजुली चम्‍काउनुहुन्‍छ, र आफ्‍ना भण्‍डारबाट बतास चलाउनुहुन्‍छ।

14हरेक मानिस मूर्ख र बुद्धिहीन छ। हरेक सुनार त्‍यसका मूर्तिहरूद्वारा नै लाजमा पर्छ। त्‍यसका मूर्तिहरू झूटा हुन्, तिनमा सास हुँदैन।

15ती व्‍यर्थका हुन्, गिल्‍लाको थोक मात्र। तिनीहरूका न्‍याय हुँदा ती नष्‍ट हुन्‍छन्‌।

16उहाँ, जो याकूबका भाग हुनुहुन्‍छ, यीजस्‍ता हुनुहुन्‍न, किनकि उहाँ नै सारा थोकहरूलाई बनाउनुहुने हुनुहुन्‍छ, इस्राएललाई पनि, जो उहाँको निज उत्तराधिकारको कुल हो— सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो।

17हे घेराभित्र परेका हो, देश छोड्‌नका लागि आ-आफ्‍नो पोकोपन्‍तरो जम्‍मा गर।

18किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “यस बेला म यस देशका बासिन्‍दाहरूलाई फ्‍याँकिदिनेछु। तिनीहरूमाथि सङ्कष्‍ट ल्‍याउनेछु, ताकि तिनीहरू पक्राउ परून्‌।”

19मेरो चोटको कारण मलाई धिक्‍कार छ! मेरो चोट निको हुनेछैन! तर मैले आफैलाई भनें, “यो त मेरो रोग हो, जो मैले सहनैपर्छ।”

20मेरो पाल नष्‍ट भएको छ। त्‍यसका सबै डोरीहरू चुँड़िएका छन्‌। मेरा छोराहरू मबाट गइहाले, र तिनीहरू अब छैनन्‌। मेरो पाल टाँगिदिने र मेरो वासस्‍थान बनाइदिने अब कोही छैन।

21गोठालाहरू निर्बुद्धि छन्, र परमप्रभुलाई सोधपूछ गर्दैनन्‌। यसैकारण तिनीहरू सफल हुँदैनन्, र तिनीहरूका सबै बगाल तितरबितर भएका छन्‌।

22सुन! एउटा खबर आइरहेछ— उत्तरको देशबाट एउटा ठूलो खैलाबैला! त्‍यसले यहूदाका सहरहरूलाई उजाड़ पर्छ र स्‍यालहरूको अखड़ा तुल्‍याउँछ।

23हे परमप्रभु, मलाई थाहा छ, कि मानिसको जीवन उसको आफ्‍नै होइन। मानिसले आफ्‍नो मार्ग आफैले निर्देशन गर्नुहुँदैन।

24हे परमप्रभु, मलाई सुधार्नुहोस्, तर ठीक न्‍यायसित मात्र, तपाईंको रीसमा त होइन, नत्रता तपाईंले मलाई भस्‍म पार्नुहुनेछ।

25तपाईंलाई स्‍वीकार नगर्ने जाति-जातिहरूमाथि र तपाईंको नाउँ नलिने मानिसहरूमाथि आफ्‍नो क्रोध खन्‍याउनुहोस्‌। किनकि उनीहरूले याकूबलाई स्‍वाहा पारेका छन्‌। उनीहरूले तिनलाई पूर्ण रूपले निलेका छन्, र तिनको जन्‍मभूमिलाई उजाड़ पारिदिएका छन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>