यर्मिया 18:1-23 NNRV2012 - Bible AI

1यर्मियाकहाँ आएको परमप्रभुको वचन यही हो:

2“तल कुमालेको घरमा जा, र त्‍यहाँ म तँलाई मेरो सन्‍देश दिनेछु।”

3यसैले म तल कुमालेको घरमा गएँ। त्‍यहाँ त्‍यसले आफ्‍नो चक्‍कामा केही बनाइरहेको मैले देखें।

4तर त्‍यसले बनाइरहेको माटोको भाँड़ो त्‍यसका हातमा बिग्रियो, यसकारण कुमालेले आफूलाई मन परेअनुसार अर्को भाँड़ो बनायो।

5तब परमप्रभुको यो वचन मकहाँ आयो:

6“हे इस्राएलको घराना, यस कुमालेले गरेझैँ के म तँलाई पनि गर्न सक्‍दिनँ र?” परमप्रभु भन्‍नुहुन्‍छ। “हे इस्राएलको घराना, कुमालेको हातमा माटो भएझैँ तँ पनि मेरो हातमा छस्‌।

7यदि कुनै बेला कुनै जाति अथवा कुनै राज्‍यको विषयमा त्‍यसलाई उखेलिदिन्‍छु, तोड़िदिन्‍छु र सर्वनाश गरिदिन्‍छु भनी मैले भनेको छु भने,

8र यदि मैले चेताउनी दिएको जातिले आफ्‍नो खराबीदेखि पछितो गर्‍यो भने, मैले सोचेको विपत्ति त्‍यसमाथि ल्‍याउनदेखि म मेरो मन बद्‌लनेछु।

9अनि यदि कुनै जाति अथवा कुनै राज्‍यको विषयमा म त्‍यसलाई बनाउनेछु र खड़ा गर्नेछु भनी कुनै समयमा मैले घोषणा गरेको छु भने,

10र त्‍यसले मेरो कुरा नसुनेर मेरो दृष्‍टिमा खराबी गर्‍यो र मेरो आज्ञापालन गरेन भनेदेखि, त्‍यसलाई असल गर्ने मेरो विचारमाथि फेरि म विचार गर्नेछु।

11“यसैकारण अब यहूदाका मानिसहरू र यरूशलेममा बस्‍नेहरूलाई भन्, ‘परमप्रभु यही भन्‍नुहुन्‍छ: हेर, म तिमीहरूका विरुद्धमा सर्वनाश तयार गरिरहेछु, र तिमीहरूका विरुद्धमा एउटा युक्ति रचिरहेछु। यसैले तिमीहरू हरेक आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र तिमीहरूका चाल र कामहरू सुधार’।

12तर तिनीहरूले त यस्‍तो जवाफ दिनेछन्, ‘त्‍यसो गर्नु व्‍यर्थ छ। हामी त आफ्‍नै युक्तिअनुसार हिँड्‌नेछौं, हामी हरेक आफ्‍नै दुष्‍ट हृदयको हठअनुसार चल्‍नेछौं’।”

13यसकारण परमप्रभु यसो भन्‍नुहुन्‍छ: “जाति-जातिहरूकहाँ गएर सोध, यस्‍तो कुरो कसले सुनेको छ? कुमारी इस्राएलले अति घृणित काम गरेकी छ।

14के लेबनानको हिउँ कहिले त्‍यसको पहराको भीरबाट हराउँछ र? के त्‍यसको टाढ़ा मुहानबाट बगेर आउने चिसो पानी कहिले रोकिन्‍छ र?

15तरै पनि मेरो प्रजाले त मलाई बिर्सिसकेको छ, तिनीहरू बेकामका मूर्तिहरूलाई धूप बाल्‍छन्, जसले तिनीहरूलाई आफ्‍ना मार्गमा र पुराना बाटाहरूमा ठेस खान लगाएका छन्, र तिनीहरूलाई पक्‍की सड़कमा होइन तर गोरेटोतिर हिँड़ाएका छन्‌।

16तिनीहरूको देश उजाड़ पारिनेछ, र सदासर्वदा गिल्‍लाको पात्र हुनेछ। त्‍यसबाट हिँड्‌ने सबै तर्सनेछन्, र टाउको हल्‍लाउनेछन्‌।

17पूर्वीय बतासझैँ तिनीहरूका शत्रुहरूका सामुन्‍ने म तिनीहरूलाई तितरबितर पारिदिनेछु। तिनीहरूका सर्वनाशको दिनमा म तिनीहरूलाई मेरो मुख होइन, तर मेरो पीठ फर्काइदिनेछु।”

18तिनीहरूले भने, “आऔं, हामीहरू यर्मियाको विरुद्धमा षड्‌यन्‍त्र रचौं, किनकि न त पूजाहारीले सिकाएको व्‍यवस्‍था नष्‍ट हुनेछ, न बुद्धिमान्‌ पुरुषको सल्‍लाह, न अगमवक्ताबाट दिइएको वचन हराउनेछ। यसैले आऔं, हामीहरू कुराद्वारा त्‍यसलाई आक्रमण गरौं, र त्‍यसको कुनै पनि कुरामा ध्‍यान नदिऔं।”

19हे परमप्रभु, मेरा कुरा ध्‍यानसित सुन्‍नुहोस्, मलाई दोष लाउनेहरूले के भनिरहेका छन्‌ सुन्‍नुहोस्‌!

20के भलाइको सट्टामा खराबी गरिन्‍छ? तर मेरा विरोधीहरूले मेरो प्राणको लागि एउटा खाड़ल खनेका छन्‌। तपाईंको क्रोध तिनीहरूदेखि पर हटाउनलाई तिनीहरूका पक्षमा कुरा गर्न म तपाईंको सामुन्‍ने खड़ा भएँ, सो सम्‍झनुहोस्‌।

21यसैले तिनीहरूका छोराछोरीहरूलाई अनिकालको गाँसमा हालिदिनुहोस्, तिनीहरूलाई तरवारको धारमा सुम्‍पिदिनुहोस्‌। तिनीहरूका पत्‍नीहरू निर्वंश र विधवा होऊन्, तिनीहरूका मानिसहरू मृत्‍युमा परून्, तिनीहरूका जवानहरू लड़ाइँमा तरवारले मारिऊन्‌।

22तपाईंले तिनीहरूमाथि एक्‍कासि आक्रमण गर्नेहरू ल्‍याउनुहुँदा तिनीहरूका घरहरूदेखि रुवाबासीको सोर सुनिओस्‌। किनकि तिनीहरूले मलाई पक्रनका लागि खाड़ल खनेका छन्, र मेरा खुट्टाका लागि पासो लुकाएर थापेका छन्‌।

23तर हे परमप्रभु, मलाई मार्न तिनीहरूले गरेका सबै षड्‌यन्‍त्र तपाईंलाई जाहेरै छ। तिनीहरूका अपराधहरू क्षमा नगर्नुहोस्, अथवा तिनीहरूका पाप तपाईंको दृष्‍टिदेखि नहटाउनुहोस्‌। तपाईंको सामुन्‍ने तिनीहरू पराजित होऊन्, तपाईंको क्रोधको समयमा तिनीहरूसित उचित व्‍यवहार गर्नुहोस्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>