1“यदि कुनै मानिसले आफ्नी पत्नीलाई त्याग्छ र त्यो स्त्री उदेखि छुट्टिएर अर्को मानिसकी पत्नी भई भने, के त्यो मानिसले फेरि त्यसकहाँ फर्केर जानुपर्ने? के त्यो देश बिलकुलै बिटुलो हुनेथिएन र? तर तँचाहिँ एउटी वेश्याझैँ धेरैकहाँ गएकी छस्— र के तँ मकहाँ फर्केर आउँछेस्?” परमप्रभु भन्नुहुन्छ।
2“आफ्ना आँखा उठाएर नाङ्गा डाँड़ाहरूमा हेर्। तिनीहरूमध्ये कुनचाहिँमा तैंले कुकर्म गरेकी छैनस् र? एउटा अरबी मरुभूमिमा बसेझैँ तँ आफ्ना प्रेमीहरूको प्रतीक्षामा बाटो हुँदो बसिस्। तैंले देशलाई आफ्नो व्यभिचार र दुष्ट कर्मले बिटुलो पारेकी छस्।
3यसैकारण झरी थामिएको छ, र बसन्तको वर्षा परेको छैन। तापनि तेरो रूप निर्लज्ज वेश्याजस्तै छ। तँ लाजले रातो हुन इन्कार गर्छेस्।
4के भर्खरै मात्र तैंले मलाई यसरी पुकारिनस्, ‘हे मेरा पिता, युवावस्थादेखि मेरा मित्र,
5के तपाईं सधैँ रिसाइरहनुहुन्छ र? के तपाईंको क्रोध सधैँसम्म रहिरहन्छ?’ तैंले त यसरी कुरा गर्छेस्, तर तैंले सकेसम्म खराबी गर्छेस्।”
6योशियाह राजाका राजकालमा परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएलले के गर्यो, के तैंले देखेको छस्? त्यो गएर हरेक डाँड़ामा र हरेक झ्याम्म परेको रूखमुनि त्यसले व्यभिचार गरेकी छ।
7त्यसले यी सबै काम गरेपछि मकहाँ फर्कन्छे होला भनी मैले विचार गरेको थिएँ, र तर त्यो फर्किन, र त्यसकी विश्वासघाती बहिनीले त्यो देखी।
8त्यस अविश्वासी इस्राएलका सबै व्यभिचारको कारण मैले त्यसलाई त्यागपत्र दिएर निकालिदिएँ। तापनि मैले हेरें, त्यसकी विश्वासघाती बहिनी यहूदा डराइन, तर गएर त्यसले पनि वेश्यावृत्ति गरी।
9वेश्यावृत्ति इस्राएलको निम्ति यति सजिलो कुरा भयो, कि त्यसले ढुङ्गा र रूखसित व्यभिचार गरेर देशलाई बिटुलो पारी।
10यी सबै भए तापनि त्यसकी विश्वासघाती बहिनी यहूदा, पूर्ण हृदयले त होइन, तर बाहिरी रूपले मात्र मतिर फर्किइ,” परमप्रभु भन्नुहुन्छ।
11परमप्रभुले मलाई भन्नुभयो, “अविश्वासी इस्राएल विश्वासघाती यहूदाभन्दा अझ धर्मी ठहरी।
12
13
14“फर्क, अविश्वासी प्रजा हो,” परमप्रभु भन्नुहुन्छ, “किनभने म तेरो पति हुँ। म सहरबाट एक जनालाई र वंशबाट दुई जनालाई छान्नेछु र तिमीहरूलाई सियोनमा ल्याउनेछु।
15अनि मेरो हृदयले रुचाएका गोठालाहरू म तिमीहरूलाई दिनेछु, जसले तिमीहरूलाई ज्ञान र बुद्धिसित डोर्याउनेछन्।
16ती दिनमा जब तिमीहरू देशमा खूब बढ़ेर फैलिनेछौ, तब मानिसहरूले फेरि कहिल्यै ‘परमप्रभुका करारको सन्दूक’ भनी भन्नेछैनन्,” परमप्रभु भन्नुहुन्छ। “त्यसको विचार तिनीहरूका मनमा आउनेछैन, त्यसको सम्झना नै हुनेछैन, त्यसको अनुपस्थितिको केही ख्याल रहनेछैन। त्योजस्तै अर्को फेरि कहिल्यै बनाइनेछैन।
17त्यस बेला यरूशलेम ‘परमप्रभुको सिंहासन’ भनिनेछ, र सबै जातिहरू परमप्रभुको नाउँलाई महिमा दिन यरूशलेममा भेला हुनेछन्। हठी भएर आफ्ना मनका दुष्ट कुराहरूमा तिनीहरू फेरि कहिल्यै लाग्नेछैनन्।
18ती दिनमा यहूदाका घराना इस्राएलका घरानासित मिल्नेछ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई उत्तराधिकार स्वरूप दिएको देशमा तिनीहरू उत्तरको देशदेखि एकैसाथ आउनेछन्।
19“म आफैले भनें, ‘कति खुशीसित आफ्ना छोराहरूजस्तै तिमीहरूसँग व्यवहार गर्नेथिएँ र एउटा सुन्दर देश, जातिहरूमा सबैभन्दा मनपर्दो पैतृक-सम्पत्ति तिमीहरूलाई दिनेथिएँ। अनि मैले विचार गरेको थिएँ, कि तिमीहरूले मलाई ‘पिता’ भनी पुकार्नेछौ र मलाई पछ्याउनदेखि फर्केर जानेछैनौ।
20तर जसरी एक विश्वासघाती पत्नीले आफ्नो पतिलाई त्याग्छे, त्यसरी नै तिमीहरू पनि मप्रति विश्वासघाती भएका छौ, हे इस्राएलका घराना हो,” परमप्रभु भन्नुहुन्छ।
21नाङ्गा डाँड़ाहरूमा एउटा चिच्च्याई सुनिन्छ— इस्राएलका मानिसहरूका रुवाइ र पुकाराको सोर, किनभने तिनीहरू कुमार्गमा चलेका छन्, र तिनीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई बिर्सेका छन्।
22“हे अविश्वासी मानिस हो, फर्क, तिमीहरूको विश्वासघातबाट म तिमीहरूलाई निको पार्नेछु।”
23निश्चय नै देवता-देवी पुज्नेहरू, डाँड़ा र पहाड़हरूमा होहल्ला मच्चाउनेहरू छली छन्। निश्चय नै परमप्रभु हाम्रा परमेश्वरमा इस्राएलको उद्धार छ।
24हाम्रा युवावस्थादेखि नै ती लाजलाग्दा देवताहरूले हाम्रा पिता-पुर्खादेखि परिश्रम गरेर ल्याएका फलहरूलाई— अर्थात् तिनीहरूका बगाल, बथान, तिनीहरूका छोराछोरीहरूलाई स्वाहा गरेका छन्।
25अब हामी आफ्ना लाजमा डुबौं र हाम्रो अपमानले हामीलाई ढाकोस्। हामी र हाम्रा पिता-पुर्खाहरूले परमप्रभु हाम्रा परमेश्वरको विरुद्धमा पाप गर्दैआएका छौं। हामीले आफ्नो युवावस्थादेखि आजको दिनसम्म परमप्रभु हाम्रा परमेश्वरको आज्ञापालन गरेका छैनौं।”