यर्मिया 35:1-19 NNRV2012 - Bible AI

1यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको राजकालमा परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो:

2“रेकाबीका परिवारकहाँ गएर तिनीहरूलाई परमप्रभुको घरका छेउका कोठाहरूमध्‍ये एउटामा निम्‍तो दिएर दाखमद्य खुवा।”

3यसैले मैले यर्मियाका छोरा, हबसिन्‍याहका नाति याजन्‍याह र तिनका भाइहरू, तिनका सबै छोराहरू, अर्थात्‌ रेकाबीहरूका सबै परिवारलाई ल्‍याउन गएँ,

4र मैले तिनीहरूलाई परमप्रभुको घरमा परमेश्‍वरको भक्त यिग्‍दल्‍याहका छोरा हानानका छोराहरूको कोठामा ल्‍याएँ। यो कोठाचाहिँ अधिकृतहरूको कोठाको छेउमा थियो, जो शल्‍लूमका छोरा मासेयाह ढोकेको कोठाको मास्‍तिर थियो।

5त्‍यसपछि मैले दाखमद्यका घैँटाहरू र केही बटुका रेकाबीहरूका अगि राखिदिएँ, र तिनीहरूलाई भनें, “केही दाखमद्य पिओ।”

6तर तिनीहरूले जवाफ दिए, “हामी दाखमद्य पिउनेछैनौं। किनभने रेकाबका छोरा हाम्रा पुर्खा योनादाबले हामीलाई यस्‍तो आज्ञा गरेका थिए: ‘तिमीहरूले र तिमीहरूका सन्‍तानले कहिल्‍यै दाखमद्य नपिओ।

7त्‍यसबाहेक तिमीहरूले कहिल्‍यै घर नबनाउनू, बीउ नछर्नू, दाखबारी नलगाउनू। तिमीहरूले यस्‍ता कामहरू कहिल्‍यै नगर्नू, तर तिमीहरूले बसोबास गरेको देशमा धेरै दिनसम्‍म बाँचिरहून्‌ भनेर तिमीहरू सधैँ पालहरूमा फिरन्‍तेझैँ बस्‍नू’।

8रेकाबका छोरो योनादाब हामीहरूका पुर्खाका जम्‍मै आज्ञा हामीले पालन गरेका छौं, अर्थात्‌ न त हामी आफै न हाम्रा पत्‍नीहरू, न छोराछोरीहरूले मद्य पिएका छौं,

9अथवा घर बनाएर बसेका छौं, दाखबारी वा खेत रोपेका छौं, वा अन्‍न उमारेका छौं।

10तर हामी पालहरूमा बसेका छौं, र हाम्रा पुर्खा योनादाबले आज्ञा गरेको हरेक वचन पालन गर्दैआएका छौं।

11तर जब बेबिलोनका राजा नबूकदनेसरले यस देशमाथि आक्रमण गरे, तब हामीले भन्‍यौं, ‘बेबिलोनीहरू र अरामीहरूका सेनाबाट भाग्‍न अब हामी यरूशलेममा जाऔं’। यसैले हामीहरू यरूशलेममा बसेका छौं।

12तब परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

13“सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: यहूदाका मानिसहरू र यरूशलेमका बासिन्‍दाहरूलाई गएर भन्, ‘के तिमीहरू शिक्षा सिक्‍दैनौ र मेरा वचन पालन गर्दैनौ?’ परमप्रभु भन्‍नुहुन्‍छ।

14रेकाबको छोरो योनादाबले आफ्‍ना सन्‍तानलाई ‘तिमीहरूले दाखमद्य नखानू’ भनेर दिएको आज्ञा तिनीहरूले मान्‍दैआएका छन्‌। तिनीहरू आजसम्‍म दाखमद्य खाँदैनन्, किनभने तिनीहरूले आफ्‍ना पुर्खाको आज्ञा पालन गरेका छन्‌। तर मैले तिमीहरूलाई घरीघरी भन्‍दैआएँ, तापनि तिमीहरूले मेरो कुरा मानेका छैनौ।

15मैले तिमीहरूकहाँ मेरा सबै दास अगमवक्ताहरूलाई घरीघरी पठाएँ। तिनीहरूले भने, “तिमीहरू हरेक अब आ-आफ्‍नो दुष्‍ट मार्गबाट फर्क, र आफ्‍ना क्रियाकलाप सुधार, र अन्‍य देवताहरूको सेवा गर्न तिनीहरूका पछि नलाग। तब मात्र मैले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई दिएको देशमा तिमीहरू रहन पाउनेछौ।” तर तिमीहरूले मेरो कुरामा ध्‍यान दिएनौ, अथवा मेरा कुरा सुनेनौ।

16रेकाबको छोरो योनादाबका सन्‍तानले त आफ्‍ना पिता-पुर्खाले दिएको आज्ञा पालन गरेका छन्, तर यस प्रजाले मेरो आज्ञा पालन गरेको छैन’।

17“यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘सुन! म यहूदा र यरूशलेमका सबै बासिन्‍दाहरूमाथि मैले उच्‍चारण गरेको हरेक सर्वनाश तिनीहरूमाथि ल्‍याउनेछु। मैले तिनीहरूलाई भनें, तर तिनीहरूले ध्‍यानसित सुनेनन्‌। मैले तिनीहरूलाई बोलाएँ, तर तिनीहरूले जवाफै दिएनन्‌’।”

18तब यर्मियाले रेकाबीहरूका परिवारलाई भने, “सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: ‘तिमीहरूले आफ्‍ना पुर्खा योनादाबको आज्ञा पालन गर्दै, र तिनका सबै शिक्षाहरू मान्‍दै, र तिनले तिमीहरूलाई दिएका सबै आदेश मान्‍दैआएका छौ’।

19यसकारण सर्वशक्तिमान्‌ परमप्रभु, इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ: ‘रेकाबको छोरो योनादाबको सन्‍तानमा मेरो सेवा गर्ने एउटै मानिसको पनि अभाव हुनेछैन’।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>