यर्मिया 36:1-32 NNRV2012 - Bible AI

1यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको चौथो वर्षमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

2“एउटा पत्रको मुट्ठो लिएर त्‍यसमा इस्राएल र यहूदा र सबै जाति-जातिहरूका विषयमा मैले योशियाहको राजकालदेखि अहिलेसम्‍म तँसँग भनेका जम्‍मै कुराहरू लेख्‌।

3शायद मैले तिनीहरूमाथि ल्‍याउने प्रत्‍येक सर्वनाशका योजनाको विषयमा जब यहूदाका मानिसहरूले सुन्‍नेछन्, तब तिनीहरू हरेकले आफ्‍ना दुष्‍ट चाल छोड्‌नेछन्, अनि म तिनीहरूका दुष्‍टता र पाप क्षमा गर्नेछु।”

4यर्मियाले नेरियाहका छोरा बारूकलाई बोलाए, र बारूकले एउटा पत्रको मुट्ठोमा यर्मियाले लेखाएका सबै कुरा, जो परमप्रभुले यर्मियालाई भन्‍नुभएको थियो, सो लेखे।

5तब यर्मियाले बारूकलाई भने, “मलाई मनाही छ, म परमप्रभुको मन्‍दिरमा जान सक्‍दिनँ।

6यसैले कुनै उपवासको दिन परमप्रभुको भवनमा गएर तिमीले मबाट सुनेर पत्रको मुट्ठोमा मैले तिमीलाई लेख्‍न लाएका कुरा मानिसहरूले सुन्‍ने गरी पढ़ेर सुनाइदेऊ। यहूदाका नगरहरूबाट आएका सबै मानिसहरूले सुन्‍ने गरी पढ़ेर सुनाइदेऊ।

7शायद तिनीहरूले आफ्‍ना बिन्‍ती परमप्रभुको सामुन्‍ने ल्‍याउनेछन्‌ र तिनीहरू हरेकले आ-आफ्‍नो दुष्‍ट चाल छोड्‌नेछन्‌। किनकि यस जातिको विरुद्धमा जुन रीस र क्रोध पोखाउँछु भनी परमप्रभुले घोषणा गरिसक्‍नुभएको छ, ती ठूला छन्‌।”

8यर्मिया अगमवक्ताले भनेअनुसार नेरियाहका छोरा बारूकले गरे। तिनले पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका कुरा परमप्रभुको मन्‍दिरमा पढ़ेर सुनाए।

9यहूदाका राजा योशियाहका छोरा यहोयाकीमको पाँचौँ वर्षको नवौँ महिनामा यरूशलेममा भएका सबै मानिसहरू र यहूदाका नगरहरूबाट आएकाहरूका निम्‍ति परमप्रभुको सामु उपवास बस्‍ने घोषणा भयो।

10तब सचिव शापानका छोरा गमर्याहको कोठाबाट, जो माथिल्‍लो चोकमा परमप्रभुका मन्‍दिरको नयाँ मूल ढोकामा थियो, त्‍यहीँबाट बारूकले पत्रको मुट्ठोबाट यर्मियाका कुरा मन्‍दिरमा भएका सबै मानिसहरूले सुन्‍ने गरी पढ़े।

11जब गमर्याहका छोरा, अर्थात्‌ शापानका नाति मीकायाले त्‍यस पत्रको मुट्ठोमा लेखिएका परमप्रभुका सबै वचन सुने,

12तब तिनी तल झरेर राजाको महलमा सचिवको कोठाभित्र पसे। त्‍यहाँ यी सबै अधिकारीहरू— सचिव एलीशामा, शमायाहका छोरा दलायाह, अक्‍बोरका छोरा एल्‍नातान, शापानका छोरा गमर्याह र हनन्‍याहका छोरा सिदकियाह बसिरहेका थिए।

13तब मानिसहरूले सुन्‍ने गरी पत्रको मुट्ठोबाट बारूकले पढ़ेका सबै कुरा, जो तिनले सुनेका थिए, मीकायाले तिनीहरूलाई बताइदिए।

14तब अधिकारीहरू सबै मिलेर नतन्‍याहका छोरा, शेलेम्‍याहका नाति, कूशीका पनाति यहूदीलाई बारूककहाँ यो समाचार भनी पठाए, “मानिसहरूलाई पढ़ेर सुनाएको पत्रको मुट्ठो लिएर यहाँ आऊ।” यसैले नेरियाहका छोरा बारूक त्‍यो लिएर तिनीहरूकहाँ आए।

15तिनीहरूले तिनलाई भने, “बस, त्‍यो पढ़ेर हामीलाई सुनाऊ।”

15यसैले बारूकले तिनीहरूलाई त्‍यो पढ़ेर सुनाए।

16जब तिनीहरूले ती सबै कुरा सुने तब तिनीहरू डरले एक-अर्कालाई हेर्न लागे, र तिनीहरूले बारूकलाई भने, “हामीले यी सबै कुरा राजालाई सुनाउनैपर्छ’।

17तब तिनीहरूले बारूकलाई सोधे, “हामीहरूलाई बताऊ, तिमीले यी सबै कुरा कसरी लेख्‍यौ? के यर्मियाले लेखाएअनुसार तिमीले लेखेका हौ?

18बारूकले तिनीहरूलाई जवाफ दिए, “उहाँले नै मलाई यी सबै कुरा लेखाउनुभयो, र मैले चाहिँ यो पत्रको मुट्ठोमा मसीले लेखें।”

19तब ती अधिकारीहरूले बारूकलाई भने, “तिमी र यर्मिया दुवै गएर लुक। तिमीहरू कहाँ छौ भनी कसैले थाहा नपाओस्‌।”

20तिनीहरूले सचिव एलीशामाको कोठामा त्‍यो पत्रको मुट्ठो राखेपछि चोकमा गएर राजालाई सबै कुरा बताइदिए।

21तब राजाले त्‍यो पत्रको मुट्ठो ल्‍याउन भनी यहूदीलाई पठाए, र तिनले सचिव एलीशामाको कोठाबाट त्‍यो निकालेर ल्‍याए, अनि राजा र राजाका छेउमा उभिरहेका अधिकारीहरूलाई त्‍यो पढ़ेर सुनाए।

22नवौँ महिना थियो, यसैले राजा हिउँदमा बस्‍ने कोठामा बसिरहेका थिए। तिनको अगि मकलमा आगो बलिरहेको थियो।

23जब यहूदीले तीन-चार खण्‍ड पढ़िसक्‍थे, तब राजाले कागत काट्‌ने चक्‍कूले ती काटेर मकलमा हालिदिन्‍थे। त्‍यो जम्‍मै पत्रको मुट्ठो मकलमा भस्‍म नभएसम्‍म तिनले त्‍यसो गर्दैरहे।

24राजा र तिनका टहलुवाहरू यी कुरा सुनेर डराएनन्, न त तिनीहरूले आफ्‍ना लुगा च्‍याते।

25एल्‍नातान, दलायाह र गमर्याहले राजालाई त्‍यो पत्रको मुट्ठो नजलाउनुहोस्‌ भनी बिन्‍ती गर्दा पनि तिनले तिनीहरूको कुरामा ध्‍यानै दिएनन्‌।

26त्‍यसको सट्टा राजाले आफ्‍ना छोरा यरहमेल, अज्रीएलका छोरा सरायाह र अबदीलका छोरा शेलेम्‍याहलाई लेखक बारूक र यर्मिया अगमवक्तालाई पक्रेर ल्‍याउने हुकुम गरे। तर परमप्रभुले तिनीहरूलाई लुकाउनुभएको थियो।

27यर्मियाले लेखाएअनुसार बारूकले लेखेको पत्रको मुट्ठा राजाले जलाइदिएपछि परमप्रभुको यो वचन यर्मियाकहाँ आयो:

28“अर्को एउटा पत्रको मुट्ठामा यहूदाको राजा यहोयाकीमले जलाइदिएको अघिको पत्रको मुट्ठामा भएका सबै कुरा लेख्‌।

29अनि यहूदाको राजा यहोयाकीमलाई भन्, ‘परमप्रभु यसो भन्‍नुहुन्‍छ: तैंले त्‍यो पत्रको मुट्ठो जलाइस्, र भनिस्, “बेबिलोनका राजा आएर निश्‍चय नै यो देश नष्‍ट पार्छन्, र उनले मानिस र पशु दुवैलाई नामेट गर्छन्‌ भनी किन तैंले त्‍यसमा लेखिस्‌?”

30यसैकारण यहूदाको राजा यहोयाकीमको विषयमा परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘दाऊदको सिंहासनमा बस्‍ने अब त्‍यसको कोही सन्‍तान हुनेछैन। त्‍यसको लाश दिउँसो घाममा र राती शीतमा पड़िरहने गरी फालिनेछ।

31म त्‍यसलाई, त्‍यसका सन्‍तानलाई र त्‍यसका टहलुवाहरूलाई तिनीहरूका दुष्‍ट्याइँको निम्‍ति दण्‍ड दिनेछु। म तिनीहरूमाथि र यरूशलेममा बस्‍नेहरू र यहूदाका मानिसहरूमाथि ती सबै सर्वनाश ल्‍याउनेछु, जसको घोषणा मैले तिनीहरूका विरुद्धमा गरिसकेको छु, किनभने यी कुरामा तिनीहरूले ध्‍यानै दिएनन्‌’।”

32तब यर्मियाले अर्को एउटा पत्रको मुट्ठो ल्‍याएर नेरियाहका छोरा लेखक बारूकलाई दिए, र तिनले यर्मियाले लेखाएअनुसार यहूदाका राजा यहोयाकीमले आगोमा जलाइदिएको पत्रको मुट्ठोका सबै कुरा त्‍यसमा लेखे। अनि त्‍यस्‍तै अरू धेरै कुरा पनि त्‍यसमा थपिए।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>