1परमप्रभुले याकूबमाथि टिठ्याउनुहुनेछ, र इस्राएललाई फेरि छान्नुहुनेछ, र तिनीहरूलाई उहाँले तिनीहरूको आफ्नै ठाउँमा बसाल्नुहुनेछ। विदेशीहरू तिनीहरूसित मिल्नेछन्, र याकूबका घरानासित उनीहरू मिलेर बस्नेछन्।
2जाति-जातिहरूले तिनीहरूलाई लगेर तिनीहरूकै ठाउँमा पुर्याउनेछन्। इस्राएलका घरानाले परमप्रभुको देशमा उनीहरूलाई नोकर-नोकर्नीहरूको रूपमा अधिकार गर्नेछन्। तिनीहरूलाई कैद गर्नेहरूलाई तिनीहरूले कैदी बनाउनेछन्। तिनीहरूलाई अत्याचार गर्नेहरूमाथि तिनीहरूले शासन गर्नेछन्।
3जब परमप्रभुले तिमीहरूको दु:ख, कष्ट र कठोर बन्धनबाट तिमीहरूलाई विश्राम दिनुहुनेछ,
4तब तिमीहरूले बेबिलोनका राजाको विरुद्धमा यसरी ठट्टा गर्नेछौ: अत्याचारीको कसरी पतन भयो! त्यसको रीसको अन्त कसरी भयो!
5परमप्रभुले दुष्टहरूको लहुरो भाँचिदिनुभयो, शासन गर्नेहरूको राजदण्ड,
6जसले मानिसहरूलाई रीसमा लगातार हिर्काइरहन्थ्यो र रोक्न नसक्ने सतावटसाथ झोँकमा जाति-जातिहरूलाई दमन गर्थ्यो।
7सबै देशहरूले विश्राम र शान्ति पाएका छन्। तिनीहरू गाउन लागेका छन्।
8सल्लाका रूखहरू र लेबनानका देवदारुहरू तँलाई हेरी यसो भनेर रमाउँछन्, “तँ ढालिएकोदेखि यसो हामीलाई काट्न कोही रूख काट्ने आएको छैन।”
9तेरो आगमनमा तँलाई भेट्न चिहान
10उनीहरू सबैले तँलाई जवाफ दिएर भन्नेछन्, “तँ पनि हामीजस्तै निर्बल भएको छस्। तँ हामीजस्तै भएको छस्।”
11तेरा सबै रवाफ त तेरा वीणाको गुञ्जनसँगै चिहानमा झारिएका छन्। औँसा तेरो ओछ्यान र कीरा तेरो ओढ्ने भएका छन्।
12ए बिहानको तारा, प्रभातको पुत्र, तँ स्वर्गबाट कसरी खसेको छस्! उहिले जाति-जातिहरूलाई होच्याउने, तँ कसरी भूइँमा तल खसालिइस्।
13तैंले आफ्नो हृदयमा भनिस्, “म स्वर्गमा उक्लनेछु। परमेश्वरका ताराहरूभन्दा माथि म मेरो सिंहासनलाई उच्च पार्नेछु। पवित्र पर्वतको सबैभन्दा उच्च टाकुरामा सभासद्को पर्वतमा म विराजमान हुनेछु।
14म बादलको टुप्पाभन्दा माथि उक्लनेछु, म आफूलाई सर्वोच्च परमेश्वर जत्तिकै बनाउनेछु।”
15तर तँ चिहानसम्म, खाड़लको तल्लो गहिराइसम्मै होच्याइस्।
16तँलाई देख्नेहरूले तँलाई एक टक लाएर हेर्नेछन्, र तेरो भाग्यमाथि ध्यानसित गुनेर भन्नेछन्, “पृथ्वीलाई हल्लाउने तथा राज्यहरूलाई थरहरी पार्ने
17त्यो त्यही मानिस हो, जसले संसारलाई मरुभूमि बनायो र त्यसका सहरहरूलाई पराजय गर्यो? कैदीहरूलाई घर जानलाई नदिने के यो त्यही मानिस हो?”
18जाति-जातिका सबै राजाहरू, प्रत्येक आ-आफ्नै चिहानमा गौरवमा पस्रिरहेका छन्।
19तर तँचाहिँ त तेरो चिहानबाट नचाहिने हाँगाजस्तै फ्याँकिइस्। तँ तरवारले रोपिएकाहरूसँग, खाड़लका ढुङ्गाहरूमा खसेकाहरूसँग मारिएकाहरूले ढाकिएको छस्। तँ खुट्टाले कुल्चिएर पैतालामुनि परेको लाशझैँ भएको छस्।
20दफनको समयमा तँ उनीहरूसित मिल्नेछैनस्, किनकि तैंले आफ्नो देशको संहार गरेको छस्, तैंले आफ्ना मानिसहरूलाई मारेको छस्।
21उनीहरूका पुर्खाका पापको निम्ति त्यसका छोराहरूलाई मार्न ठाउँ तयार गर। देशका उत्तराधिकारी हुन उनीहरू नउठून्, र पृथ्वी उनीहरूका सहरहरूले नभरोस्।
22“सर्वशक्तिमान् परमप्रभु यो घोषणा गर्नुहुन्छ, ‘म उनीहरूका विरुद्धमा खड़ा हुनेछु, र बेबिलोनबाट बाँचेकाहरू, त्यसका बालबच्चाहरू, र त्यसको नाउँ मेटिदिनेछु।
23म त्यसलाई लाटोकोसेरो बस्ने ठाउँ र धाप बनाउनेछु। म त्यसलाई सर्वनाशको कुच्चोले बढ़ार्नेछु,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
24सर्वशक्तिमान् परमप्रभुले यसो भनेर शपथ खानुभएको छ, “जो योजना मैले बनाएको छु, त्यो निश्चय नै पूरा हुनेछ। जो अभिप्राय मैले गरेको छु, त्यो स्थिर रहनेछ।
25म अश्शूरीलाई मेरै देशमा नाश गर्नेछु, मेरा पर्वतहरूमा त्यसलाई पैतालाले कुल्चनेछु। त्यसको जुवा मेरा प्रजाबाट उतारिनेछ र त्यसको भारी तिनीहरूका काँधबाट हटाइनेछ।”
26यही योजना सारा पृथ्वीको निम्ति सङ्कल्प गरिएको छ, र यही हात सारा जाति-जातिहरूमाथि पसारिएको छ।
27किनभने सर्वशक्तिमान् परमप्रभुले अभिप्राय राख्नुभएको छ, र कसले त्यसको खण्डन गर्न सक्छ? उहाँको हात पसारिएको छ, र कसले त्यो फर्काउन सक्छ र?
28आहाज राजा मरेको वर्षमा यो ईश्वरवाणी आयो:
29“हे सारा पलिश्तीहरू, तिमीहरूलाई हिर्काउने लहुरो भाँचियो भनेर रमाहट नगर, किनकि त्यही साँपको वंशबाट विषालु सर्प निस्कनेछ। त्यसको फल अति विषालु सर्प हुनेछ।
30गरीबभन्दा गरीबले पनि खर्क पाउनेछ, र दरिद्र निर्धक्कसित ढल्कन पाउनेछ, तर म तिमीहरूको वंशलाई अनिकालले विनाश पार्नेछु, र तिमीहरूका बाँचेकाहरूलाई चाहिँ त्यसले मार्नेछ।
31ए मूल ढोका, डाँको छोड़ी-छोड़ी रोऊ! ए सहर, चीत्कार गर! ए पलिश्तीहरू, तिमीहरू सबै पग्लेर जाओ! उत्तरबाट धूवाँको बादल आउँछ, त्यसको सेनाको पङ्क्तिमा एउटै पनि धरमराउने हुँदैन।
32तब त्यस जातिका राजदूतहरूलाई के जवाफ दिने? “परमप्रभुले सियोनलाई स्थापित गर्नुभयो, र दु:खमा परेका उहाँका प्रजाहरूले त्यसमा शरण पाउनेछन्।”