1दमस्कसको विषयमा ईश्वरवाणी: “हेर, दमस्कस अब सहरजस्तो रहनेछैन। त्यो भग्नावशेषको थुप्रो हुनेछ।
2अरोएरका सहरहरू त्यागिनेछन्, र ती भेड़ाका बगालका निम्ति हुनेछन्, जुनहरू लेट्नेछन्, र तिनीहरूलाई कसैले तर्साउनेछैन।
3एफ्राइमको किल्लाले घेरिएको सहर र दमस्कसको राजसी शक्ति लोप हुनेछ। अरामको बाँचेको भागचाहिँ इस्राएलीहरूको गौरवझैँ हुनेछ,” सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
4“त्यो दिन याकूबको गौरव लोप हुनेछ, र त्यसको शरीरको बोसो घटेर जानेछ।
5यो कटनी गर्नेले पाकेको अन्न बटुलेझैँ, र आफ्नो पाखुराले फसलको अन्न काटेझैँ, रपाईहरूको बेँसीमा एउटा मानिसले शिला-बाला टिपेझैँ हुनेछ।
6तापनि जैतून झारेपछि अलि-अलि फलहरू रहेझैँ, त्यसमा केही शिला रहनेछ— माथिल्लो हाँगाको टुप्पामा दुई-तीन वटा फलहरू र फलदायक हाँगाहरूमा चार-पाँच वटा जैतूनका फल रहेझैँ,” परमप्रभु इस्राएलका परमेश्वर भन्नुहुन्छ।
7त्यस दिन मानिसहरूले आफ्ना सृष्टिकर्तातिर हेर्नेछन्, र तिनीहरूका आँखा इस्राएलका परमपवित्रतिर लागिरहनेछन्।
8तिनीहरूले आफ्ना हातले बनाएका वेदीतिर हेर्नेछैनन्, न त तिनीहरूले आफ्ना औँलाले बनाएका वेदीहरू र अशेरा देवीका खम्बाहरूलाई आदर गर्नेछन्।
9त्यस दिन इस्राएलीहरूको कारणले तिनीहरूले त्यागेका शक्तिशाली सहरहरू झाड़ीहरू र बूटाबूटीझैँ हुनेछन्। सबै उजाड़ हुनेछन्।
10तैंले तेरो उद्धार गर्ने परमेश्वरलाई बिर्सेको छस्, र चट्टान, अर्थात् तेरो किल्लालाई तैंले सम्झिनस्। यसैकारण, यद्यपि तैंले अति सुन्दर बोटहरू रोपिस् र विदेशबाट ल्याएका दाखका बोटहरू लगाइस्,
11र ती रोपेको दिन तैंले ती बढ्न पनि लगाउँछस्, र बिहानसम्म तेरा बिरुवालाई कोपिला लाग्ने बनाउँछस्, तापनि रोगको दिन र निको नहुने पीडाको दिनमा फसल शून्य हुनेछ।
12अहो! धेरै जाति-जातिका खैलाबैला— तिनीहरू समुद्रको गर्जनझैँ गर्जन्छन्। अहो! जाति-जातिहरूको हल्ला— ठूला-ठूला पानीहरू गर्जेझैँ तिनीहरू गर्जन्छन्।
13यद्यपि हुर्रिएर आएको पानीको गर्जनझैँ जाति-जातिहरू गर्जन्छन्, जब उहाँले तिनीहरूलाई हप्काउनुहुन्छ, तिनीहरू टाढ़ा भागेर जान्छन्, र बतासले उड़ाएको डाँड़ाको भुस र आँधीबेहरीले उड़ाउने झारझैँ खेदिनेछन्।
14साँझमा, एक्कासि त्रास! बिहान हुनुभन्दा अघि ती रहँदैनन्। हामीहरूलाई लुट्नेहरूको भाग यस्तै हुनेछ, र हामीलाई लूटपीट गर्नेहरूको गति यही हुनेछ।