1सलहहरूले भरिएको देशलाई धिक्कार, जुनचाहिँ कूश देशका नदीहरूको छेउमा छ,
2जसले समुद्रबाट कूशले बनाएका डुङ्गाहरूमा जलपथद्वारा राजदूतहरू पठाउँछ। हे फूर्तिला समाचारवाहक हो, अल्गा र चिल्ला छाला भएको जातिकहाँ जाओ, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ।
3हे सारा संसारका मानिस हो, तिमीहरू जो पृथ्वीमा वास गर्छौ, जब एउटा झन्डा डाँड़ामा खड़ा गरिन्छ, तिमीहरूले त्यसलाई देख्नेछौ, र जब तुरही बजाइन्छ, तिमीहरूले त्यो सुन्नेछौ।
4परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “घामको चर्को ताप र कटनीको गर्मीमा शीतको बादलझैँ म चूपचाप बस्नेछु, र मेरो बस्ने ठाउँदेखि हेर्नेछु।”
5किनभने कटनीको अघि जब फूल फुलेर झरिसकेको हुन्छ, र फूल पाकेको अङ्गूर हुन्छ, तब उहाँले हाँगाहरू हँसियाले छाँट्नुहुनेछ, र फैलिएका हाँगाहरू काट्नुहुनेछ।
6तिनीहरू सबै पहाड़का शिकारी पक्षी र वन-पशुहरूका निम्ति छोड़िनेछन्। तब पक्षीहरूले ग्रीष्मकालभरि र वन-पशुहरूले चाहिँ हिउँदभरि खान्छन्।
7त्यस समय सर्वशक्तिमान् परमप्रभुको अगि उपहार ल्याइनेछ। त्यो अल्गा र चिल्ला छाला भएको जातिले, जससँग नजिक र टाढ़ाकाहरू डराउँछन्, जो बलियो र विजयी छ, अनौठो भाषा बोल्ने जाति जसको देश नदीहरूले भाग-भाग पारिएको छ, सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको ठाउँमा, सियोन पर्वतमा नै परमप्रभुकहाँ उपहार ल्याइनेछ।