यशैया 2:1-22 NNRV2012 - Bible AI

1आमोजका छोरा यशैयाले यहूदा र यरूशलेमको विषयमा देखेका कुरा यही हो:

2पछिल्‍ला दिनमा परमप्रभुको मन्‍दिर बसालिएको पर्वत सबै पर्वतहरूभन्‍दा मुख्‍य रूपमा स्‍थापना हुनेछ। डाँड़ाहरूभन्‍दा माथि त्‍यो उच्‍च उठाइनेछ, र सबै जातिहरू त्‍यहीँ ओइरिएर आउनेछन्‌।

3धेरै मानिसहरूले आएर भन्‍नेछन्, “आओ, हामी परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा जाऔं। उहाँले हामीलाई आफ्‍नो मार्ग सिकाउनुहुनेछ, ताकि हामी उहाँको बाटोमा हिँड्‌न सकौं।” व्‍यवस्‍था सियोनबाट र परमप्रभुको वचन यरूशलेमबाट निस्‍कनेछन्‌।

4उहाँले जातिहरूका बीचमा इन्‍साफ गर्नुहुनेछ, र उहाँले धेरै मानिसहरूका झगड़ा मिलाइदिनुहुनेछ। तिनीहरूले आफ्‍ना तरवारहरू पिटेर हलोका फाली र भालाहरू पिटेर छिमल्‍ने हँसिया बनाउनेछन्‌। जाति-जातिहरूले एक-अर्काको विरुद्धमा तरवार चलाउनेछैनन्, न त तिनीहरूले लड़ाइँ गर्न तालीम लिनेछन्‌।

5हे याकूबका घराना, आओ, हामी परमप्रभुको ज्‍योतिमा हिँड़ौं।

6तपाईंले आफ्‍नो प्रजा, अर्थात्‌ याकूबको घरानालाई त्‍याग्‍नुभएको छ। तिनीहरू पूर्वदेखि आएका अन्‍धविश्‍वासले भरिएका छन्‌। तिनीहरू पलिश्‍तीहरूझैँ जोखना हेराउँछन्‌। तिनीहरू विधर्मीहरूसित हात मिलाउँछन्‌।

7तिनीहरूको देश सुन र चाँदीले भरिएको छ, तिनीहरूका धनको अन्‍तै छैन। तिनीहरूको देश घोड़ाहरूले भरिएको छ। तिनीहरूका रथहरूको केही गन्‍ती नै छैन।

8तिनीहरूको देश मूर्तिले भरिएको छ। आफ्‍नै हातका कामलाई तिनीहरू पुज्‍दछन्, तिनीहरूका आफ्‍नै औँलाले बनाएका कुरालाई।

9यसैले मानिस निहुराइनेछ र मानिस-जातिलाई विनम्र तुल्‍याइनेछ— तिनीहरूलाई क्षमा नगर्नुहोस्‌।

10परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट पहराभित्र पस, माटोभित्र लुक!

11मानिसको अभिमानी नजर खसालिनेछ र मानिसहरूको शेखी झारिनेछ, त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ।

12सबै अहङ्कारीहरू र शेखी गर्नेहरू, र सबै “मै हुँ” भन्‍नेहरूमाथि सर्वशक्तिमान्‌ परमप्रभुको यस्‍तो एक दिन आइपर्नेछ (र तिनीहरू विनम्र तुल्‍याइनेछन्‌),

13लेबनानका सारा अग्‍ला र उच्‍च देवदारुहरूमाथि, बाशानका सारा फलाँटका रूखहरूमाथि,

14सबै पर्वतहरू, र अग्‍ला डाँड़ाहरूमाथि,

15हरेक उच्‍च धरहरामाथि, र हरेक सुरक्षित पर्खालमाथि,

16तर्शीशका सबै व्‍यापारी जहाजहरूमाथि, र सबै राजकीय जहाजमाथि।

17मानिसको घमण्‍ड खसालिनेछ, र मानिसहरूको शेखी झारिनेछ। त्‍यस दिन परमप्रभु मात्र उच्‍च हुनुहुनेछ,

18र मूर्तिहरू बिलकुलै लोप हुनेछन्‌।

19जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, तब परमप्रभुको भय र उहाँको महामहिम प्रतापबाट मानिसहरू चट्टानका गुफा र पृथ्‍वीका प्‍वालहरूभित्र पस्‍नेछन्‌।

20त्‍यस दिन मानिसहरूले आफ्‍ना निम्‍ति पुज्‍नलाई बनाएका सुन र चाँदीका मूर्तिहरू छुचुन्‍द्रा र चमेराका अगि फालिदिनेछन्‌।

21जब पृथ्‍वीलाई थर्कमान तुल्‍याउन परमप्रभु उठ्‌नुहुन्‍छ, उहाँको भय र उहाँको महामहिम प्रतापबाट तिनीहरू भागेर चट्टानका कन्‍दराहरू र चट्टानका चिराहरूभित्र जानेछन्‌।

22नाकका प्‍वालमा सास हुने मानिसमा तिमीहरू भरोसा नराख, किनकि त्‍यसको मोल नै के छ र?

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>