1दर्शनको बेँसीको विषयमा ईश्वरवाणी: तिमीहरूलाई के भयो र तिमीहरू जम्मै घरका कौसीमा उक्लेर गयौ?
2ए होहल्ला र खैलाबैलाले भरिएको नगर, आमोदप्रमोदले भरिएको नगर। तेरा मरेकाहरू तरवारले मारिएका होइनन्, न त तिनीहरू लड़ाइँमा मारिएका हुन्।
3तेरा सबै शासकहरू एकैसाथ भागे, धनु नचलाएर नै तिनीहरू पक्राउमा परे। शत्रुहरू टाढ़ै छँदा पनि तिमीहरू भाग्यौ, र सबै जो समातियौ एकैसाथ कैदी बनाएर लगियौ।
4यसकारण मैले भनें, “मदेखि मुख फर्काओ। मलाई धुरुधुरु रुन देओ। मेरा प्रजाको विनाशको कारण मलाई सान्त्वना दिन कोशिश नगर।”
5दर्शनको बेँसीमा परमप्रभु, सर्वशक्तिमान् परमप्रभुबाट भएको यो कोलाहलको र कुल्चीमिल्ची गर्ने तथा त्रासको दिन हो— पर्खाल भत्काउने, र पर्वतलाई पुकार्ने दिन हो।
6एलामले रथीहरू र घोड़ाहरूसमेत धनु राख्ने ठोक्रो भिर्छ। कीरले ढालको खोल निकाल्छ।
7तेरा असल-असल बेँसीहरू रथहरूले भरिन्छन्, र घोड़चढ़ीहरूचाहिँ सहरको मूल ढोकामा उभिरहनलाई खटाइएका छन्।
8यहूदाका रक्षकहरूलाई हतियाररहित तुल्याइएका छन्।
9तिमीहरूले दाऊदको सहरका सुरक्षित पर्खालहरूमा धेरै प्वालहरू रहेछन् भनी देख्यौ। तिमीहरूले तल्लो पोखरीमा पानी जम्मा गर्यौ।
10तिमीहरूले यरूशलेमका पक्का घरहरू गन्यौ, र पर्खाल बलियो पार्न घरहरू भत्कायौ।
11तिमीहरूले दुई पर्खालका बीचमा पुरानो पोखरीका पानीको निम्ति पानी राख्ने एउटा ठूलो जलाशय बनायौ। तर तिमीहरूले यो बनाउने जनलाई हेरेनौ, अथवा यो अघिदेखि नै योजना गर्नेलाई तिमीहरूले आदर गरेनौ।
12त्यस दिन परमप्रभु, सर्वशक्तिमान् परमप्रभुले तिमीहरूलाई रुन र विलाप गर्न, कपाल लुछ्न र भाङ्ग्रा लाउनलाई बोलाउनुभयो।
13तर हेर, आनन्द र मोजमज्जा मनाइँदैछ। पशुहरू संहार गर्ने र भेड़ाहरू मार्ने, मासु खाने र मद्य पिउने काम पो भइरहेछ। तिमीहरू भन्छौ, “लौ, खाऔं र पियौं, किनकि भोलि त हामी मर्छौं।”
14सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा यो प्रकट गर्नुभयो: “यो पाप तिमीहरूको मर्ने दिनसम्म पनि प्रायश्चित गरिनेछैन,” परमप्रभु, सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ।
15परमप्रभु, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ: “यो भण्डारे शेब्नाकहाँ जा, जो राजदरबारको जिम्मेवार हो, र त्यसलाई भन्,
16तँ यहाँ के गर्दैछस्? र तैंले आफ्नो निम्ति यहाँ चिहान खोप्न कसले तँलाई अनुमति दियो? तँ यहाँ अल्गो ठाउँमा आफ्नो निम्ति चिहान बनाउन र चट्टानमा आफ्नो विश्रामस्थान बनाउन खोपिरहेछस्।
17ए पराक्रमी पुरुष, होशियार बस्, परमप्रभुले तँलाई खूब कसेर समात्नुहुनेछ र खूब जोडसित फ्याँक्नुहुनेछ।
18उहाँले तँलाई भकुन्डोजस्तै गोलो लपेटेर एउटा ठूलो देशमा फालिदिनुहुनेछ। त्यहीँ तँ मर्नेछस् र तेरा भव्य रथहरू पड़िरहनेछन्— तँ आफ्ना मालिकको घरलाई लज्जित पार्नेछस्।
19म तँलाई तेरो कामबाट निकालिदिनेछु, र आफ्नो स्थानबाट तँ खसालिनेछस्।
20“त्यो दिन हिल्कियाहको छोरो एल्याकीम मेरो दासलाई म बोलाउनेछु।
21म त्यसलाई तेरो पोशाक पहिर्याइदिनेछु र तेरो पटुका त्यसलाई बाँधिदिनेछु, र तेरो अधिकार म त्यसको हातमा सुम्पिदिनेछु। त्यो यरूशलेममा बस्नेहरू र यहूदाका घरानाको बुबा हुनेछ।
22दाऊदका घरानाको साँचो म त्यसको काँधमा राख्नेछु। त्यसले जे खोल्छ, त्यो कसैले बन्द गर्नेछैन, र त्यसले जे बन्द गर्छ, कसैले त्यो खोल्न सक्दैन।
23म त्यसलाई बलियो ठाउँमा कीलाझैँ गाड्नेछु। त्यो आफ्नो बुबाको घरको निम्ति एउटा सम्मानको आसन हुनेछ।
24आफ्नो परिवारको सम्पूर्ण महिमा— त्यसका सन्तान र शाखाहरू, त्यसका हरेक ससाना पात्रहरू— कचौरादेखि गाग्रोसम्मको महिमा त्यसमै निर्भर गर्नेछ।”
25सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ, “त्यस दिन त्यो बलियो ठाउँमा गाड़िएको कीला हट्नेछ। त्यो काटिनेछ र ढलेर जानेछ, र त्यसमा झुण्डिरहेको भार काटिनेछ।” परमप्रभुले भन्नुभएको छ।