1हेर, परमप्रभुले पृथ्वी उजाड़ गर्नुहुनेछ। उहाँले त्यसलाई विनाश पारेर त्यहाँका बासिन्दाहरूलाई छरपष्ट पार्नुहुनेछ।
2जस्तो मानिसहरूको दशा हुन्छ, त्यस्तै पूजाहारीको पनि हुन्छ, जस्तो दासको त्यस्तै मालिकको, जस्तो दासीको त्यस्तै मालिक्नीको, जस्तो किन्नेको त्यस्तै बेच्नेको, जस्तो उधारो लिनेको त्यस्तै उधारो दिनेको दशा हुनेछ। जस्तो ऋण लिनेको त्यस्तै ऋण दिनेको हुन्छ।
3पूरै पृथ्वी उजाड़ हुनेछ र पूर्ण रूपमा लूटपीट गरिनेछ, किनकि परमप्रभुले नै यो कुरा भन्नुभएको छ।
4पृथ्वी सुक्खा हुनेछ, र त्यो ओइलाउँछ। संसार दुर्बल हुन्छ, र त्यो ओइलाउँछ। पृथ्वीका उच्च दर्जाका मानिसहरू दुर्बल हुन्छन्।
5पृथ्वी त्यसमा रहने मानिसहरूद्वारा दूषित पारिएको छ। तिनीहरूले नियमहरू उल्लङ्घन गरेका छन्, कानूनहरू भङ्ग गरेका छन् र सदासर्वदाको करार तोड़ेका छन्।
6यसकारण एउटा सरापले पृथ्वीलाई भस्म गर्छ, र त्यसका मानिसहरूले दोषको दण्ड भोग्नैपर्छ। यसैकारण पृथ्वीका बासिन्दाहरू जलाइए, र थोरै मानिसहरू मात्र बाँकी रहेका छन्।
7नयाँ दाखमद्य सुक्छ, र दाखको बोट ओइलाउँछ। हर्ष मनाउनेहरू सबैले सुस्केरा हाल्छन्।
8खैँजड़ीको खुशीयाली बन्द भएको छ। रमाहट गर्नेहरूको सोर बन्द छ। वीणाको आनन्द बन्द छ।
9तिनीहरूले दाखमद्य पिउँदै गीत गाउँदैनन्। कड़ा मद्य पिउनेलाई त्यो तीतो लाग्छ।
10ध्वंस भएको सहर उजाड़ भएको छ। हरेक घरका ढोका थुनिएको छ।
11मद्यको निम्ति सड़कहरूमा तिनीहरू कराउँछन्। सबै रमाहट नैराश्यमा परिणत भएको छ। पृथ्वीबाट खुशीयाली नै धपाइएको छ।
12सहरमा विनाश मात्र रहेको छ, र मूल ढोका भत्काएर टुक्रै-टुक्रा पारिएको छ।
13जैतून रूख हल्लाएर फलहरू झारिएपछि अथवा अङ्गूर टिपिसकेपछि शिला छोड़िएझैँ त्यो पृथ्वीमा र जाति-जातिहरूमा हुनेछ।
14तिनीहरू आफ्ना सोर उचाल्छन्। तिनीहरू रमाहटले कराउँछन्। परमप्रभुको महान् महिमाको तिनीहरूले पश्चिमबाट जयजयकार गर्छन्।
15यसकारण पूर्वमा परमप्रभुको महिमा गर। समुद्रका टापूहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँ उच्च पार।
16पृथ्वीको पल्लो कुनादेखि हामी “धर्मी जनको महिमा” भनी गाइरहेको सुन्छौं।
17हे पृथ्वीका मानिसहरू हो, त्रास, खाड़ल र पासोले तिमीहरूलाई पर्खिरहेछन्।
18त्रासको सोर सुनेर भाग्ने खाड़लमा पर्नेछ, र खाड़लबाट माथि निस्केर आउनेचाहिँ पासोमा पर्नेछ।
19पृथ्वी फाट्यो। पृथ्वी दुई भाग भएको छ। पृथ्वी जोडसित हल्लियो।
20पृथ्वी मतवाला मानिसझैँ धरमराउँछ। झुप्रोलाई बतासले हल्लाएझैँ त्यो यताउता हल्लिन्छ। आफ्नो बागीपनको दोष त्यसमाथि यति गह्रौँ भएको छ कि कहिल्यै नउठ्ने गरी त्यो ढल्छ।
21त्यस दिन परमप्रभुले माथि स्वर्गको शक्तिलाई र तल पृथ्वीका राजाहरूलाई दण्ड दिनुहुनेछ।
22कैदीहरू कैदखानाभित्र बाँधेर राखिएझैँ तिनीहरू एकसाथ जम्मा गरिनेछन्। तिनीहरू झ्यालखानमा बन्द गरिनेछन्, र धेरै दिनपछि तिनीहरूलाई सजाय दिइनेछ।
23तब चन्द्रमा शर्माउनेछ, र सूर्यको किरण लजाउनेछ। किनकि सर्वशक्तिमान् परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा र त्यसका धर्म-गुरुहरूका सामुन्ने महिमासित राज्य गर्नुहुनेछ।