यशैया 27:1-13 NNRV2012 - Bible AI

1त्‍यस दिन परमप्रभुले आफ्‍नो डरलाग्‍दो, शक्तिशाली र ठूलो तरवारले त्‍यो सुल्‍कने सर्प, लिव्‍यातन्, त्‍यो गुँडुली बस्‍ने सर्पलाई दण्‍ड दिनुहुनेछ। उहाँले समुद्रको विशाल अजिङ्गरलाई मार्नुहुनेछ।

2त्‍यस दिन, “फल दिने एउटा सुन्‍दर दाखबारीको विषयमा गीत गाओ।

3म, परमप्रभु, त्‍यसको हेरचाह गर्छु। म त्‍यसमा निरन्‍तर पानी हाल्‍छु। म रातदिन त्‍यसको रेखदेख गर्छु, नत्रता कसैले त्‍यसलाई नोक्‍सानी गर्ला।

4म रिसाएको छैनँ। सिउँड़ी र काँढ़ाहरूले मलाई रोक्‍न उम्रेका भए त म तिनीहरूका विरुद्धमा लड़ाइँ गर्न जाइलाग्‍नेथिएँ। म तिनीहरूलाई जलाउनेथिएँ।

5तिनीहरू शरण लिन मकहाँ आऊन्‌। तिनीहरू मसित मिलाप गरून्‌। हो, तिनीहरू मसित मिलाप गरून्‌।”

6आउने दिनहरूमा याकूबले जरा गाड्‌नेछ, इस्राएल फुल्‍ने र फल्‍नेछ, र समस्‍त पृथ्‍वीलाई फलले भर्नेछ।

7के त्‍यसलाई हिर्काउनेहरूलाई हिर्काउनुभएझैँ उहाँले त्‍यसलाई हिर्काउनुभयो? त्‍यसलाई मार्नेहरू मारिएझैँ के त्‍यो पनि मारियो?

8तपाईंले त्‍यससित झगड़ा तथा त्‍यसलाई देश निर्वासन गरेर त्‍यससित युद्ध गर्नुहुन्‍छ। पूर्वीय बतास चलेको दिनमा जस्‍तै उहाँले त्‍यसलाई भयङ्कर वायुको झोक्‍काले उड़ाइदिनुहुन्‍छ।

9यसैद्वारा याकूबको अधर्मको प्रायश्‍चित गरिनेछ, र त्‍यसको पाप दूर गरिएको सारा फल यही हुनेछ। जब त्‍यसले वेदीका सबै ढुङ्गाहरू खरी-ढुँगाझैँ चकनाचूर पार्छ, तब अशेरा देवीका खम्‍बा र धूप बाल्‍ने वेदीहरू फेरि खड़ा हुनेछैनन्‌।

10सुरक्षित सहर निर्जन भयो, निर्जन र त्‍यागिएका वासस्‍थान उजाड़ भूमिझैँ भयो। त्‍यहाँ बाछाहरू चर्छन्, त्‍यहाँ तिनीहरूले विश्राम गर्छन्, र तिनीहरूले त्‍यसका हाँगाहरू लुछेर नाङ्गै बनाउँछन्‌।

11जब त्‍यसका ससाना हाँगाहरू सुक्‍छन्, तब ती भाँचिन्‍छन्‌ र स्‍त्रीहरू आएर ती आगोमा जलाउँछन्‌। किनकि समझै नभएको यो एक जाति हो। यसैकारण तिनीहरूलाई बनाउनुहुनेले तिनीहरूमाथि टिठ्याउनुहुन्‍न र तिनीहरूका सृष्‍टिकर्ताले तिनीहरूमाथि निगाह गर्नुहुन्‍न।

12त्‍यस दिन परमप्रभुले बगिरहने यूफ्रेटिस नदीदेखि मिश्रको खोलासम्‍मै आफ्‍नो अन्‍न छाँट्‌नुहुनेछ, र हे इस्राएली, तिमीहरूचाहिँ एक-एक गरी जम्‍मा गरिनेछौ।

13त्‍यस दिन एउटा ठूलो तुरही बज्‍नेछ। अश्‍शूरमा नष्‍ट हुनेहरू र मिश्रदेशमा निर्वासित भएकाहरू आएर यरूशलेमको पवित्र पर्वतमा परमप्रभुको आराधना गर्नेछन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>