1परमप्रभु घोषणा गर्नुहुन्छ, “धिक्कार! ती अटेरी छोराछोरीहरूलाई, जसले योजनालाई सञ्चालन गर्छन् तर ती मेरा होइनन्, मित्रता गाँस्छन्, तर मेरो आत्माले होइन, र पापमाथि पाप बढ़ाएका छन्।
2तिनीहरू मेरो सल्लाह नलिई मिश्रमा जान्छन्, फारोका रक्षाको निम्ति सहायता लिन जान्छन्। मिश्रदेशको छत्रछायामा शरण लिन जान्छन्।
3तर फारोको रक्षाले तिमीहरूलाई लाजमा पार्नेछ, र मिश्रदेशको छत्रछायाले तिमीहरूमाथि शर्म ल्याउनेछ।
4यद्यपि तिनीहरूका अधिकृतहरू सोअनमा छन्, र तिनका राजदूतहरूचाहिँ हानेसमा आएका छन्,
5यस्तो जातिको कारण तिनीहरू सबै लाजमा पर्नेछन्, जो तिनीहरूका निम्ति निकम्मा छन्, जसले न त केही सहायता न केही लाभ ल्याउन सक्छन्, तर शर्म र गिल्ला मात्र ल्याउँछन्।”
6नेगेव देशका पशुहरूका विषयमा ईश्वरवाणी: सिंह र सिंहनी, नाग र अति विषालु उड्ने सर्प निस्कने, दु:ख र वेदना भएको देशबाट भएर राजदूतहरूले आफ्ना धन-सम्पत्ति गधाहरूका पिठिउँमा र आ-आफ्ना बहुमूल्य भण्डारहरू ऊँटहरूका जुरामा लदाएर त्यस जातिको निम्ति लैजान्छ, जसबाट तिनीहरूलाई केही लाभ हुँदैन,
7मिश्रदेशमा जसको सहायता एकदमै व्यर्थको छ। यसकारण मैले त्यसलाई केही नगर्ने राहाब भनेको छु।
8अब जा, आउँदो समयको निम्ति अनन्त साक्षी होस् भनेर तिनीहरूका निम्ति एउटा पाटीमा, एउटा पुस्तकको मुट्ठामा त्यो लेख।
9यो एउटा बागी प्रजा, धोका दिने छोराछोरीहरू हुन्, अर्थात् परमप्रभुको शिक्षा नसुन्ने छोराछोरी हुन्।
10दर्शन देख्नेहरूलाई तिनीहरू भन्दछन्, “अब उसो दर्शन नदेख!” तिनीहरू अगमवक्ताहरूलाई भन्दछन्, “हामीलाई ठीक कुराहरूको दर्शन नदेओ! हामीलाई मनपर्दा कुराहरू भन, भ्रमात्मक अगमवाणी कह।
11यो बाटो छोड़, यो मार्गबाट हट, र इस्राएलका परमपवित्रसित हाम्रो सामना गर्न बन्द गर।”
12यसकारण इस्राएलका परमपवित्र भन्नुहुन्छ, “तिमीहरूले यस समाचारलाई इन्कार गरेका छौ, र अत्याचारमाथि र छलका कुरामा भर परेका छौ।
13यसकारण यो पाप तिमीहरूका निम्ति पुट्ट निस्केर तुरुन्तै खस्न लागेको एउटा अल्गो पर्खालजस्तै हुनेछ, जो क्षणभरमा एक्कासि ढल्नेछ।
14कुमालेको भाँड़ा निर्दयतासित फुटाएझैँ, त्यो टुक्रा-टुक्रा भएर फुट्नेछ, कि त्यसका टुक्राहरूमा अगेनोबाट आगो झिक्ने अथवा इनारबाट पानी उघाउन एउटा सानो टुक्रासम्म पनि रहनेछैन।”
15परमप्रभु परमेश्वर, इस्राएलका परमपवित्र यही भन्नुहुन्छ, “पश्चात्ताप र विश्राममा तिमीहरूको उद्धार छ। मौनधारण र भरोसामा तिमीहरूलाई शक्ति मिल्छ। तर तिमीहरू यी कुनै पनि कुरा चाहन्नौ।
16तिमीहरूले भन्यौ, ‘होइन, हामी त घोड़ामा चढ़ेर भाग्नेछौं’। यसैकारण तिमीहरूलाई भाग्नैपर्छ! तिमीहरूले भन्यौ, ‘हामी चाँड़ो दगुर्ने घोड़ाहरू चढ़ेर जानेछौं’। यसैकारण तिमीहरूलाई खेद्नेहरू चाँड़ो हुनेछन्।
17एक जनाको धम्कीले एक हजार जना भाग्नेछन्, पाँच जनाको धम्कीले तिमीहरू सबै यसरी भाग्नेछौ, कि तिमीहरू पर्वतको टाकुरामा खड़ा रहेको एउटा झन्डाको खामो र डाँड़ाको एउटा झन्डाझैँ हुनेछौ।”
18तापनि तिमीहरूमाथि अनुग्रह गर्न परमप्रभु इच्छा गर्नुहुन्छ। तिमीहरूमाथि दया देखाउन उहाँ उठ्नुहुन्छ, किनकि परमप्रभु न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। उहाँको प्रतीक्षा गर्ने सबै धन्यका हुन्!
19हे यरूशलेममा बस्ने सियोनका मानिस हो, तिमीहरू अब फेरि रुनेछैनौ। तिमीहरू सहायताको लागि रोएका सुनेर उहाँ कत्ति अनुग्रहमय हुनुहुनेछ! तिमीहरूको बिन्ती सुन्ने बित्तिकै उहाँले तिमीहरूलाई जवाफ दिनुहुनेछ।
20परमप्रभुले तिमीहरूलाई दु:खको रोटी र क्लेशको पानी दिनुभए तापनि तिमीहरूका शिक्षकहरू अझ लुकाइनेछैनन्। तिमीहरूका आफ्नै आँखाले तिमीहरूले तिनीहरूलाई देख्नेछौ।
21तिमीहरू दाहिने अथवा देब्रे लाग्दा तिमीहरूका कानले तिमीहरूका पछिल्तिर यसो भन्ने आवाज सुन्नेछौ, “बाटो यही हो, यसैमा हिँड़।”
22तब खोपेर चाँदीले मोहोरिएका तिमीहरूका देवताहरू र सुनका तिमीहरूका मूर्तिहरू तिमीहरूले दूषित तुल्याउनेछौ। तिमीहरूले तिनलाई महिनावारीको अशुद्ध कपड़ाझैँ फालिदिनेछौ, र तिनलाई यसो भन्नेछौ, “पर जाओ!”
23तिमीहरूले जमिनमा छर्ने बीउका निम्ति उहाँले पानी पठाइदिनुहुनेछ। भूमिबाट उब्जने अन्न सप्रिएका र प्रशस्त हुनेछन्। त्यस दिन गाई-गोरुहरू फराकिला चरनमा चर्नेछन्।
24तिमीहरूका खेतमा हलो जोत्ने गोरु र गधाहरूले काँटा र बेल्चाले फैलाइराखेको नुनिलो दाना र भुस खानेछन्।
25त्यो ठूलो हत्याको दिन जब धरहराहरू भत्कन्छन्, तब सबै अल्गा-अल्गा पर्वतहरू र सबै उच्च डाँड़ाहरूमा पानीका खोलाहरू बग्नेछन्।
26त्यसबाहेक जब परमप्रभुले आफ्नो प्रजाका घाउहरू बाँध्नुहुनेछ, र उहाँले लाउनुभएको तिनीहरूका चोट निको पार्नुहुनेछ, त्यस दिन जून घामजस्तै लाग्नेछ र सूर्यको प्रकाश सात दिनको ज्योतिझैँ सात गुणा बढ़ी चहकिलो हुनेछ।
27हेर, दन्केको क्रोध र उठिरहेको बाक्लो धूवाँमा टाढ़ाबाट परमप्रभु आउँदैहुनुहुन्छ। उहाँका ओठ क्रोधले पूर्ण र उहाँको जिब्रो भस्म गर्ने आगोजस्तै छन्।
28उहाँको सास घिच्रोसम्मै डुबाउने उर्लंदो नदीझैँ छ। उहाँले जाति-जातिहरूलाई नाश गर्ने नाङ्लोले निफन्नुहुन्छ र उहाँले मानिसहरूलाई कुबाटोतिर लैजाने लगाम तिनीहरूका मुखमा लगाइदिनुहुन्छ।
29अनि पवित्र चाड़ मनाएझैँ राती तिमीहरूले भजन गाउनेछौ। परमप्रभुको पर्वत, अर्थात् इस्राएलको चट्टानतिर उहाँसित भेट गर्नलाई बाँसुरी बजाउनेहरू रमाउँदै हिँड़ेझैँ तिमीहरूको मनमा पनि रमाहट हुनेछ।
30रीसको झोँक, भस्म गर्ने आगोको ज्वाला, र गड्याङगुडुङ र आँधीबेहरी र असिनासहित परमप्रभुले मानिसहरूलाई आफ्नो प्रतापको वाणी सुन्न र आफ्नो बाहुबलको चमक देख्न लगाउनुहुनेछ।
31अश्शूर परमप्रभुको सोरले थर्कमान हुनेछ। उहाँले आफ्नो राजदण्डले तिनीहरूलाई प्रहार गर्नुहुनेछ।
32दण्डको लहुरोको प्रत्येक प्रहार, जो परमप्रभुले तिनीहरूमाथि हान्नुहुनेछ, त्यो हातको खैँजड़ी र वीणाको सोरको साथ हुनेछ, र आफ्नो पाखुराको मुक्काले उहाँ तिनीहरूसित युद्धमा लड़ाइँ गर्नुहुनेछ।
33किनभने तोपेतलाई अघिदेखि एउटा राजाको निम्ति तयार पारिएको हो। प्रशस्त आगो र दाउरासहित आगो सल्काउने खाल्डो गहिरो र ठूलो बनाइएको छ। जलिरहेको गन्धकको खोलाले झैँ परमप्रभुको सासले त्यसलाई जलाउनेछ।