1धिक्कार तिनीहरूलाई, जो मिश्रदेशमा सहायताको निम्ति जान्छन्, र घोड़ाहरूमा भर पर्दछन्, र तिनीहरूका असंख्य रथहरू र घोड़चढ़ीहरूको ठूलो शक्तिमा भरोसा गर्दछन्, तर तिनीहरूले इस्राएलका परमपवित्रतिर हेर्दैनन् र परमप्रभुको सहायतालाई खोज्दैनन्।
2तापनि उहाँ पनि बुद्धिमान् हुनुहुन्छ र उहाँले नाश ल्याउन सक्नुहुन्छ, र आफ्नो वचन फिर्ता लिनुहुन्न। कुकर्म गर्नेहरूको घराना र अधर्म काम गर्नेलाई सहायता दिनेहरूका विरुद्धमा उहाँ उठ्नुहुनेछ।
3तर मिश्रीहरू त मानिसहरू हुन् र परमेश्वर होइनन्। तिनीहरूका घोड़ाहरू शरीर हुन्, आत्मा होइनन्। जब परमप्रभुले आफ्नो हात पसार्नुहुनेछ, तब सहायता गर्नेले ठोकर खानेछ, र सहायता पाउने लोट्नेछ, र ती दुवै एकैसाथ नष्ट हुनेछन्।
4परमप्रभुले मलाई यसो भन्नुहुन्छ, “जसरी सिंह अथवा ठूलो सिंह आफ्नो शिकारमाथि घुर्रघुर्र गर्छ— र त्यसको विरुद्धमा गोठालाहरूको सम्पूर्ण दल उठे तापनि तिनीहरूको कराइले त्यो डराउँदैन, न त तिनीहरूको हल्लाले त्यो विचलित हुन्छ— त्यसै गरी सर्वशक्तिमान् परमप्रभु सियोन पर्वत र त्यसका डाँड़ाहरूमा लड़ाइँ गर्नलाई ओर्लनुहुनेछ।
5चराहरूले आफ्ना गुँडलाई रक्षा गरेझैँ सर्वशक्तिमान् परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ। उहाँले त्यसलाई रक्षा गर्नुहुनेछ, र त्यसलाई छुटाउनुहुनेछ। उहाँ त्यसबाट भएर जानुहुनेछ र त्यसलाई छुटाउनुहुनेछ।”
6हे इस्राएली हो, जसको विरुद्धमा तिमीहरूले ठूलो विद्रोह गरेका छौ, उहाँतर्फ फर्क।
7किनभने त्यस दिन तिमीहरू हरेकले आफ्ना सुनका र चाँदीका मूर्तिहरू, जो तिमीहरूले आफ्नै पापी हातले बनाएका छौ, तिनलाई इन्कार गर्नेछौ।
8“अश्शूरीहरू तरवारले ढालिनेछन्, जुन तरवार मानिसबाटको होइन। त्यसै तरवारले तिनीहरू नष्ट हुनेछन्, जो मरणशील मानिसको होइन। त्यस तरवारको अगाड़ि तिनीहरू भाग्नेछन्, र तिनीहरूका जवान मानिसहरूचाहिँ बेगारी काममा लगाइनेछन्।
9तिनीहरूको किल्ला त्रासले गर्दा ढल्नेछ र तिनीहरूका सेनापतिहरू लड़ाइँको झन्डा देखेर डरले आत्तिनेछन्। परमप्रभु, जसको अग्नि सियोनमा र भट्टी यरूशलेममा छ, उहाँले भन्नुभएको छ।