यशैया 32:1-20 NNRV2012 - Bible AI

1हेर, एक जना राजाले धार्मिकतामा राज्‍य गर्नुहुनेछ, र शासकहरूले न्‍यायसित शासन गर्नेछन्‌।

2प्रत्‍येक मानिस बतासबाट शरणस्‍थान, र आँधीबेहरीबाट आश्रय लिने ठाउँ, मरुभूमिमा पानी भएका खोलाहरू, र सुक्‍खा भूमिमा ठूलो चट्टानको छायाजस्‍तै हुनेछ।

3त्‍यतिखेर हेर्नेहरूका आँखा फेरि बन्‍द हुनेछैनन्, र सुन्‍नेहरूका कानले सुन्‍नेछन्‌।

4अधीरहरूका मनले जान्‍नेछन्, र भकभके जिब्रो बुझिनेछ र सफासित बोल्‍नेछ।

5मूर्ख मानिस फेरि कहिल्‍यै भला मानिस भनिनेछैन, न त बदमाशलाई ठूलो आदर नै दिइनेछ।

6किनकि मूर्ख मानिसले मूर्खताकै कुरा गर्छ, र त्‍यसको मन दुष्‍ट काममा व्‍यस्‍त रहन्‍छ, त्‍यसले अधार्मिक काम गर्छ र परमप्रभुको विषयमा गलत कुरो फैलाउँछ। त्‍यसले भोकाएकाहरूलाई रित्तै पठाउँछ, र तिर्खाउनेहरूका निम्‍ति पानी नै दिँदैन।

7बदमाशहरूको चाल दुष्‍टै हुन्‍छ, दरिद्रहरूका माग न्‍यायसङ्गत भए तापनि गरीबहरूलाई झूटो कुराले नाश गर्नलाई त्‍यसले दुष्‍ट उपायहरू रच्‍दछ।

8तर भला मानिसले भला कामहरूको उपाय रच्‍दछ, र भला कार्यमा नै त्‍यो अड़िरहन्‍छ।

9हे आरामसित बस्‍ने स्‍त्री हो, उठ, र मेरो कुरा ध्‍यानसित सुन। हे निर्धक्‍क बस्‍ने छोरी हो, म जे भन्‍दछु सो सुन!

10अबको एक वर्षभन्‍दा केही बढ़ी समयमा तिमी निर्धक्‍क बस्‍नेहरू काँप्‍नेछौ। दाखको फसलै हुनेछैन, र फलहरूको फसल पनि हुनेछैन।

11हे निर्धक्‍क बस्‍ने महिला हो, काम। हे निश्‍चिन्‍त छोरीहरू हो, थरथराओ। आफ्‍ना वस्‍त्र उतारेर नाङ्गो होओ, र आ-आफ्‍नो कम्‍मरमा भाङ्‌ग्रा लगाओ।

12रहरलाग्‍दा खेतहरू र फल दिने दाखका बोटहरूका निम्‍ति,

13र काँढ़ा र सिउँड़ी उम्रेका मेरा मानिसहरूका जमिनको निम्‍ति छाती पिट्‌दै रोओ। हो, रमाहटका सबै घरहरूका निम्‍ति र आमोदप्रमोदको यस सहरको निम्‍ति विलाप गर।

14किल्‍ला त्‍यागिनेछ, गोलमाल भएको सहर सूनसान हुनेछ। किल्‍ला र बुर्जा सदाको निम्‍ति रूखो जमिन हुनेछ, वन-गधाको निम्‍ति हर्ष र गाईबस्‍तुको निम्‍ति चरन,

15माथिबाट हामीमाथि आत्‍मा नखन्‍याइञ्‍जेलसम्‍म र मरुभूमि मलिलो खेतबारी र मलिलो खेतबारी वनजस्‍तो नबनुञ्‍जेलसम्‍म।

16त्‍यस मरुभूमिमा न्‍यायले वास गर्नेछ, र मलिलो खेतबारीमा धार्मिकताले वास गर्नेछ।

17धार्मिकताको फल शान्‍ति हुनेछ, र धार्मिकताको फलको नतीजाचाहिँ सदाको निम्‍ति शान्‍ति र भरोसा हुनेछ।

18मेरो प्रजाचाहिँ शान्‍तिको वासस्‍थान, सुरक्षित घरहरू, र हल्‍ला नहुने विश्रामका ठाउँहरूमा बस्‍नेछन्‌।

19असिनाले वन सोतर पारे तापनि तथा सम्‍पूर्ण सहर समतल बनाइए तापनि,

20सबै पानी भएका ठाउँमा बीउ छर्ने र गाई-गोरु अनि गधाहरू चर्न दिने तिमीहरू कत्ति धन्‍यका हुनेछौ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>