1धिक्कार, तँ नाश गर्नेलाई, जो आफैचाहिँ नष्ट पारिएको छैनस्! तँ विश्वासघातीलाई, धिक्कार, जसलाई चाहिँ कसैले विश्वासघात गरेको छैन! जब तैंले नाश गर्न बन्द गर्छस्, तब तँ पनि नष्ट पारिनेछस्। जब तैंले विश्वासघात गर्न बन्द गर्छस्, तब तँलाई विश्वासघात गरिनेछ।
2हे परमप्रभु, हामीमाथि अनुग्रह गर्नुहोस्। हामी तपाईंको चाहना गर्दछौं। बिहानैपिच्छे तपाईं हाम्रा शक्ति र दु:खमा हाम्रो उद्धार हुनुहोस्।
3तपाईंका सोरको गर्जनमा मानिसहरू भाग्छन्। तपाईं उठ्नुहुँदा जाति-जातिहरू छरपष्ट हुन्छन्।
4हे जाति-जातिका मानिस हो, तिमीहरूका लूटको कटनी ससाना सलहहरूले खाएझैँ हुनेछ। सलहहरूझैँ मानिसहरू त्यसमा झम्टिनेछन्।
5परमप्रभु उच्च हुनुभएको छ, किनकि उहाँ उच्चमा विराजमान हुनुहुन्छ। उहाँले सियोनलाई न्याय र धार्मिकताले परिपूर्ण पार्नुहुनेछ।
6तिमीहरूका समयको लागि उहाँ पक्का जग र मुक्ति तथा ज्ञान र बुद्धिको बहुमूल्य भण्डार हुनुहुनेछ। परमप्रभुको भय मान्नु नै यस भण्डारको साँचो हो।
7हेर त, तिनीहरूका वीर मानिसहरू सड़कमा जोडसित रुँदैछन्। मिलाप ल्याउने राजदूतहरू धुरुधुरु रुँदैछन्।
8मूल सड़कहरू निर्जन भएका छन्, बाटोमा यात्रीहरू छैनन्। सन्धि भङ्ग भएको छ, गवाहीहरू अवहेलित भएका छन्। कोही पनि मानिसको आदर छैन।
9देशले विलाप गर्छ र उजाड़ हुन्छ। लेबनान शर्ममा पर्छ र ओइलिन्छ। शारोन अराबाझैँ हुन्छ। बाशान र कर्मेलले आफ्ना पातहरू झार्छन्।
10परमप्रभु भन्नुहुन्छ, “अब म उठ्नेछु। अब म उच्च पारिनेछु। अब म माथि उठाइनेछु।
11तिमीहरूले भुसलाई गर्भधारण गर्छौ, तिमीहरूले पराले ठोसाहरू जन्माउँछौ। तिमीहरूको सास तिमीहरूलाई नै भस्म गर्ने अग्नि हो।
12मानिसहरू चून जलेझैँ जल्नेछन्। काटेका काँढ़ाघारी आगोमा जलाएझैँ तिनीहरू जलाइनेछन्।”
13हे टाढ़ाका मानिस हो, मैले के गरेको छु सुन। हे नजिकका हो, मेरो शक्तिलाई स्वीकार गर!
14सियोनमा भएका पापीहरू डराएका छन्। ईश्वरहीनहरूलाई कम्पनले समातेको छ। “भस्म गर्ने आगोसँग हामीहरूमध्ये को बस्न सक्छ र? अनन्त जलनमा हामीहरूमध्ये को रहन सक्छ र?”
15त्यही, जो धार्मिकतासाथ हिँड्दछ, र ठीक कुरा गर्दछ, करकापसित लिएको नाफा इन्कार गर्छ, जसले घूस लिन आफ्नो हात बढ़ाउँदैन, जसले हत्याका षड्यन्त्रप्रति आफ्नो कान थुन्छ, दुष्ट्याइँको चिन्तन गर्नुभन्दा आफ्नो आँखा चिम्लन्छ।
16त्यही मानिस उच्चमा बस्नेछ, जसको शरणस्थान पहाड़को किल्ला हुनेछ। त्यसको भोजन त्यसलाई दिइनेछ र त्यसलाई पानीले धोका दिनेछैन।
17तिनीहरूका आँखाले राजालाई उहाँको सुन्दरतामा देख्नेछन्, र टाढ़ासम्म फैलिएको देशलाई देख्नेछन्।
18तिमीहरूका विचारमा तिमीहरूले पहिलेको त्रासलाई सम्झनेछौ। “ती मुख्य अधिकृत खोइ? कर लिने कता गए? धरहराहरूको जिम्मा लिने अधिकृत कता छन्?”
19तिमीहरूले ती हठी मानिसहरूलाई फेरि देख्नेछैनौ, अनौठो भाषा बोल्ने ती मानिसहरूलाई, जसको बोली बुझिँदैन।
20हाम्रा ठहराइएका चाड़हरूको सहर सियोनलाई हेर, तिमीहरूका आँखाले यरूशलेमलाई देख्नेछन्, एउटा शान्तिमय वासस्थान, एउटा पाल, जो कहिल्यै हटाइनेछैन, जसका कीलाहरू कहिल्यै उखेलिनेछैनन्, न त त्यसका डोरीहरू चुँड़ाइनेछन्।
21त्यहाँ परमप्रभु हाम्रा शक्तिशाली जन हुनुहुनेछ। त्यो ठूला-ठूला नदीहरू र खोलाहरूको ठाउँ हुनेछ। पतवारले चलाइने डुङ्गाहरू त्यहाँ चल्नेछैनन्। ठूलो जहाज पनि त्यहाँ जानेछैन।
22किनभने परमप्रभु हाम्रा न्यायाधीश हुनुहुन्छ। परमप्रभु हामीलाई व्यवस्था दिने हुनुहुन्छ। परमप्रभु हाम्रा राजा हुनुहुन्छ। उहाँले नै हामीलाई बचाउनुहुनेछ।
23तिमीहरूका जहाजका डोरीहरू खुकुला भएका छन्। मानिसहरूले त्यसको मस्तूलको जग बलियो पार्न सकेनन्। तिनीहरूले तिनका पाल टाँग्न सकेनन्। तब एउटा प्रशस्त लूटको माल बाँड़िनेछ। लङ्गड़ाहरूसमेतले लूटका मालका भाग लिनेछन्।
24सियोनमा बस्ने कसैले पनि “म बिरामी छु” भन्नेछैनन् अनि त्यहाँ बस्ने मानिसहरूका पाप क्षमा गरिनेछन्।