यशैया 35:1-10 NNRV2012 - Bible AI

1मरुभूमि र निर्जल-भूमि हर्षित हुनेछन्‌। उजाड़-स्‍थान रमाउनेछ र फुल्‍नेछ केशरझैँ

2त्‍यो फुलेर फक्रनेछ। यो अत्‍यन्‍त प्रफुल्‍लित हुनेछ, र हर्षले गाउँदै रमाहट गर्नेछ। लेबनानको गौरव, कर्मेल र शारोनको शोभा त्‍यसलाई दिइनेछ। तिनीहरूले परमप्रभुको महिमा र हाम्रा परमेश्‍वरको ऐश्‍वर्य देख्‍नेछन्‌।

3कमजोर हातहरू बलिया बनाओ, र दुर्बल घुँड़ाहरू दह्रा पार।

4डरले हृदय भरिएकाहरूलाई भन, “साहस गर, नडराओ। तिमीहरूका परमेश्‍वर बदला दिनलाई आउनुहुनेछ, ईश्‍वरीय प्रतिफलसहित तिमीहरूलाई बचाउनलाई उहाँ आउनुहुनेछ।”

5तब अन्‍धाहरूका आँखा खोलिनेछन्, र बहिराहरूका कान उघारिनेछन्‌।

6तब लङ्गड़ाहरू मृगझैँ उफ्रनेछन्, र गूँगाहरूको जिब्रोले स्‍तुति गर्नेछ। उजाड़-स्‍थानमा पानी फुटेर निस्‍कनेछ र मरुभूमिमा खोलाहरू बग्‍नेछन्‌।

7गर्मीले डढ़ेको बालुवा दह हुनेछ, र सुक्‍खा भूमिमा पानीका मूल फुट्‌नेछन्‌। स्‍यालहरू बस्‍ने ठाउँमा घाँस, काँस र कुश उम्रनेछन्‌।

8त्‍यहाँ एउटा मूलबाटो हुनेछ, त्‍योचाहिँ पवित्रताको बाटो भनिनेछ। कोही अशुद्ध जन त्‍यसबाट भएर जानेछैन। तर त्‍यस मार्गमा हिँड्‌नेहरूका निम्‍ति मात्र त्‍यो हुनेछ। दुष्‍ट मूर्खहरू त्‍यसबाट जान पाउनेछैनन्‌।

9त्‍यहाँ कुनै सिंह हुनेछैन, न त कुनै हिंसक पशु त्‍यहाँबाट भएर जानेछ। ती त्‍यहाँ पाइनेछैनन्‌। तर उद्धार पाएकाहरू मात्र त्‍यहाँ हिँड्‌नेछन्,

10अनि परमप्रभुले मोल तिरेर छुटकारा दिनुभएकाहरू फर्केर आउनेछन्‌। तिनीहरू सियोनमा गाउँदै पस्‍नेछन्‌। सदासर्वदाको आनन्‍द तिनीहरूका शिरको मुकुट हुनेछ। तिनीहरूले रमाहट र आनन्‍द प्राप्‍त गर्नेछन्, र शोक र सुस्‍केरा दूर हुनेछन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>