यशैया 36:1-22 NNRV2012 - Bible AI

1हिजकिया राजाको चौधौँ वर्षमा अश्‍शूरका राजा सनहेरीबले यहूदाको सारा पर्खाल लगाएका सहरहरूलाई आक्रमण गरेर तिनलाई कब्‍जा गरे।

2अनि अश्‍शूरका राजाले युद्धका एक जना सेनापतिलाई ठूलो सेनासमेत लाकीशबाट यरूशलेममा हिजकिया राजाकहाँ पठाए। जब उनी धोबीको खेतको मूल बाटोमा भएको माथिल्‍लो पोखरीको कुलोनेर उभिए,

3तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना, र आसापका छोरा लेखापाल योआ बाहिर निस्‍केर उनीकहाँ आए।

4युद्धका सेनापतिले तिनीहरूलाई भने, “हिजकियालाई भन, ‘महाराजाधिराज, अश्‍शूरका राजा यसो भन्‍नुहुन्‍छ, तिमी के आशामा भरोसा गरिरहेछौ?

5तिमीसित लड़ाइँको योजना र सैनिक बल छ भनी तिमी भन्‍छौ, तर तिमी त केवल फोस्रा कुरा गर्दछौ। तिमी कसमाथि भरोसा गरिरहेका छौ र मेरो विरुद्धमा बागी भएका छौ?

6हेर, तिमी अब भाँचिएको निगालोको लहुरोमा भरोसा राख्‍छौ, अर्थात्‌ मिश्रदेशमा, जसमा कोही मानिस भर पर्‍यो भने, त्‍यसले त्‍यसको हातमा चोट पार्नेछ। मिश्रदेशका राजा फारोमाथि भर पर्ने सबैका निम्‍ति उनी यस्‍तै छन्‌।

7अनि “हामी आफ्‍ना परमप्रभु परमेश्‍वरमाथि भर पर्दछौं” भनी यदि तिमी मलाई भन्‍छौ भने, के उहाँ उही हुनुहुन्‍न, जसका अल्‍गा-अल्‍गा ठाउँहरू र जसका वेदीहरू हिजकियाले यहूदा र यरूशलेमलाई यसो भन्‍दै हटाए, “तिमीहरूले यस वेदीको सामुन्‍ने आराधना गर्नुपर्छ?”

8“‘यसकारण आओ, मेरा मालिक अश्‍शूरका राजासित सौदा गर। म तिमीलाई दुई हजार घोड़ा दिनेछु। हेरौं, तीमाथि तिमी सवार चढ़ाउन सक्‍छौ कि सक्‍दैनौ?

9रथहरू र घोड़ाहरूका निम्‍ति मिश्रदेशमाथि भर परे तापनि कसरी तिमी मेरा मालिकका अधिकृतहरूमध्‍येका एक जना साना अधिकृतलाई पनि धपाउन सक्‍छौ?

10यसबाहेक के म यस देशलाई आक्रमण गरी नष्‍ट पार्न परमप्रभुविना आएको छु? परमप्रभुले नै मलाई “त्‍यस देशमा गएर त्‍यसलाई नष्‍ट गर्‌” भनी भन्‍नुभएको छ’।”

11तब एल्‍याकीम, शेब्‍ना र योआले युद्धका सेनापतिलाई भने, “बिन्‍ती छ, तपाईंका दासहरूसित आरमेइक भाषामा बोल्‍नुहोस्, किनकि हामी त्‍यो भाषा बुझ्‍छौं। पर्खालमा भएका मानिसहरूले सुन्‍ने गरी हिब्रू भाषामा हामीसित नबोल्‍नुहोस्‌।”

12तर युद्धका सेनापतिले भने, “के मेरा मालिकले तिमीहरू र तिमीहरूका मालिककहाँ मात्र यी कुरा भन्‍न मलाई पठाउनुभएको हो र? के उहाँले मलाई पर्खालमा बस्‍ने मानिसहरूकहाँ पनि पठाउनुभएको होइन र— जसले तिमीहरूले जस्‍तै आफ्‍नै दिसा खानुपर्छ र आफ्‍नै पिसाब पिउनुपर्नेछ?”

13तब युद्धका सेनापति खड़ा भए, र ठूलो सोरमा हिब्रू भाषामा यसो भने, “महाराजाधिराज अश्‍शूरका राजाका कुरा सुन!

14महाराजा यसो भन्‍नुहुन्‍छ, हिजकियाले तिमीहरूलाई धोका नदेओस्, किनकि त्‍यसले तिमीहरूलाई छुटाउन सक्‍नेछैन!

15हिजकियाले तिमीहरूलाई यसो भनेर परमप्रभुमाथि भरोसा गर्न पनि नलाओस्, ‘परमप्रभुले निश्‍चय नै हामीलाई छुटकारा दिनुहुनेछ। उहाँले यो सहर अश्‍शूरका राजाको हातमा सुम्‍पिदिनुहुनेछैन’।

16“हिजकियाको कुरा नसुन। अश्‍शूरका महाराजा यसो भन्‍नुहुन्‍छ: तिमीहरू मसित मिलाप गर, र निस्‍केर मकहाँ आओ। तब तिमीहरू हरेकले आ-आफ्‍नो दाखको फलबाट र नेभाराको फलबाट खाऔला, र आ-आफ्‍नो पानीको कुण्‍डबाट पानी पिऔला,

17जबसम्‍म म आएर तिमीहरूकै जस्‍तो अन्‍न र नयाँ दाखमद्य अनि रोटी र दाखबारीले भरिएको देशमा तिमीहरूलाई लैजाँदिनँ।

18“हिजकियाले तिमीहरूलाई यसो भनेर भ्रममा नपारोस्, ‘परमप्रभुले हामीलाई छुटकारा दिनुहुनेछ’। के जाति-जातिका कुनै देवताले आफ्‍नो देशलाई अश्‍शूरका राजाको हातबाट कहिल्‍यै बचाउन सकेको छ र?

19हमात र अर्पादका देवताहरू कहाँ छन्‌? सपर्बेम देवताहरू कहाँ छन्‌? के तिनीहरूले सामरियालाई मेरो हातबाट छुटाएका छन्‌?

20यी देशहरूका देवताहरूमध्‍ये कसले आफ्‍नो देशलाई मेरो हातबाट बचाउन सकेको छ र? तब परमप्रभुले यरूशलेमलाई मेरो हातबाट कसरी बचाउन सक्‍नुहोला त?”

21तर मानिसहरू चूप लागिबसे, र उनलाई जवाफमा एउटै कुरा पनि भनेनन्‌। किनकि उनलाई केही जवाफ नदिनू भन्‍ने राजाको हुकुम थियो।

22तब राजदरबारका प्रशासक हिल्‍कियाहका छोरा एल्‍याकीम, सचिव शेब्‍ना र आसापका छोरा लेखापाल योआले आफ्‍ना लुगा च्‍याते, र हिजकियाकहाँ आएर युद्धका सेनापतिका कुरा तिनलाई सुनाए।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>