यशैया 38:1-22 NNRV2012 - Bible AI

1त्‍यस बेला हिजकिया राजा बिरामी परेर मर्नै लागेका थिए। तब आमोजका छोरा यशैया अगमवक्ताले तिनीकहाँ आएर भने, “परमप्रभु यसो भन्‍नुहुन्‍छ: तेरो घर ठीकठाक गर्, किनकि तँ मर्नेछस्, तँ निको हुनेछैनस्‌।”

2तब हिजकियाले आफ्‍नो मुख भित्तातिर फर्काएर परमप्रभुसित यसो भनेर प्रार्थना गरे,

3“हे परमप्रभु, तपाईंको सामुन्‍ने म कस्‍तो विश्‍वासयोग्‍य भई सारा हृदयको भक्तिसाथ हिँड़ेको छु, र तपाईंको दृष्‍टिमा जे असल छ त्‍यही गरेको छु, त्‍यसको सम्‍झना होस्‌।” अनि हिजकिया धुरुधुरु रोए।

4तब परमप्रभुको वचन यशैयाकहाँ यसो भनेर आयो,

5“गएर हिजकियालाई भन्, ‘तेरा पिता दाऊदका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: मैले तेरो प्रार्थना सुनें र मैले तेरो आँसु देखें। म तेरो आयु अरू पन्‍ध्र वर्ष बढ़ाइदिनेछु।

6म तँलाई र यस सहरलाई अश्‍शूरका राजाको हातबाट छुटकारा दिनेछु। म यस सहरको रक्षा गर्नेछु।

7“‘परमप्रभु आफैले प्रतिज्ञा गर्नुभएको कुरो गर्नुहुनेछ भन्‍ने परमप्रभुको चिन्‍ह तँलाई यो हुनेछ:

8आहाजको सिँढ़ीमा घामको छाया, जो तल गइसकेको छ, म दश खुट्‌किला पछि सार्नेछु’।” यसैले घामको छाया तलतिर गएको भए तापनि दश खुट्‌किला पछि सर्‍यो।

9बिरामी परेर निको भएपछि यहूदाका राजा हिजकियाले लेखेका कुरा:

10मैले भनें, “के मेरो आयुको मस्‍त जवानीमा नै मृत्‍युको ढोकाभित्र जानुपर्ने र मेरो आयुको शेष भाग हरण हुने?”

11मैले भनें, “म परमप्रभुलाई फेरि देख्‍नेछैनँ, जीवितहरूको देशमा परमप्रभुलाई म देख्‍नेछैनँ। मानव-जातिलाई म अब देख्‍नेछैनँ, न त संसारमा अहिले बस्‍नेहरूसँग म हुनेछु।

12गोठालाको पालझैँ मेरो घर भत्‍काएर मबाट खोसी लगियो। जुलाहाले लुगा बेहेरेझैँ मैले मेरो जीवन बेहेरेको छु, र उहाँले मलाई तानबाट काटिदिनुभएको छ। दिन र रातभरिमा नै तपाईंले मेरो अन्‍त गराइदिनुभयो।

13बिहानसम्‍म म धैर्यसाथ पर्खिबसें। तर सिंहले झैँ उहाँले मेरा सबै हड्डी भाँच्‍नुभयो। दिन र रातभरिमा नै तपाईंले मेरो अन्‍त गराइदिनुभयो।

14गौँथलीझैँ वा सारिका चराझैँ म चिरबिर गर्थें। ढुकुरझैँ विलाप गर्थें, माथितिर हेर्दा-हेर्दा मेरा आँखा टट्टाइसके। हे परमप्रभु, म दु:खमा परेको छु। तपाईं मलाई सहायता गर्नुहोस्‌।”

15तर म अब के भन्‍न सक्‍छु र? उहाँ मसित बोल्‍नुभयो, र उहाँले नै यो गर्नुभयो। मेरो प्राणको यो सुर्ताको कारण म मेरो सारा जीवनभरि नै नम्र भएर हिँड्‌नेछु।

16हे परमप्रभु, यी नै कुराद्वारा मानिसहरू जिउँछन्, र मेरो आत्‍माले पनि तिनमा नै जीवन पाउँछ। तपाईंले मलाई स्‍वस्‍थ पार्नुभयो, र मलाई बाँच्‍न दिनुभयो।

17निश्‍चय नै मेरो भलाइको निम्‍ति मैले यस्‍तो वेदना सहनुपर्‍यो। तपाईंले मलाई प्रेम गरेर विनाशको खाड़लबाट जोगाउनुभयो। तपाईंले मेरा सबै पाप आफ्‍नै पछिल्‍तिर राख्‍नुभयो।

18पातालले तपाईंको प्रशंसा गर्न सक्‍दैन। मृत्‍युले तपाईंको प्रशंसा गर्न सक्‍दैन। खाड़लमा जानेहरूले तपाईंका विश्‍वस्‍तताको आशा गर्न सक्‍दैनन्‌।

19जीवित, जीवितले मात्र तपाईंको प्रशंसा गर्छ, जसरी आज म गरिरहेछु। बुबाहरूले आफ्‍ना छोराछोरीहरूलाई तपाईंको विश्‍वस्‍तताको विषयमा वर्णन गर्छन्‌।

20परमप्रभुले मलाई उद्धार गर्नुहुनेछ, र हामी आफ्‍ना जीवनभरि परमप्रभुको मन्‍दिरमा तार-बाजाहरूसित भजन गाउनेछौं।

21यशैयाले यसो भनेका थिए, “नेभाराको लेप बनाएर हिजकियाको पिलोमा लगाइदेओ, र तिनी निको हुनेछन्‌।”

22हिजकियाले यसो भनेर सोधेका थिए, “म परमप्रभुको मन्‍दिरमा जानेछु भन्‍ने चिन्‍ह के हुनेछ?”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>