1तिमीहरूका परमेश्वर भन्नुहुन्छ, मेरो प्रजालाई सान्त्वना, सान्त्वना।
2विनम्र भएर यरूशलेमलाई भन। त्यसका दासत्वको सेवा पूरा भएको छ, त्यसका पापहरू क्षमा गरिएको छ अनि त्यसले परमप्रभुको हातबाट आफ्ना सबै पापका निम्ति दोबर पाएको छ भनी त्यसलाई घोषणा गर।
3कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ: “मरुभूमिमा परमप्रभुको निम्ति बाटो तयार गर। उजाड़-स्थानमा हाम्रा परमेश्वरको निम्ति मूलबाटो समतल बनाऊ।
4हरेक उपत्यका अल्गो बनाइनेछ, हरेक पर्वत र डाँड़ा होच्याइनेछ। बाङ्गो-टेढ़ो जग्गा सीधा बनाइनेछ, र खाल्टाखुल्टी समतल बनाइनेछ।
5अनि परमप्रभुको महिमा प्रकट गरिनेछ, र सारा मानव-जातिले त्यो एकैसाथ देख्नेछन्, किनकि परमप्रभुको मुखले नै भनेको छ।”
6
7
8
9सियोनलाई शुभ समाचार सुनाउने हो, तिमी अग्लो पर्वतमा जाऊ। यरूशलेमलाई शुभ समाचार सुनाउने हो, जोडसँग तिम्रो सोर उचाल, सोर उचाल, नडराऊ। यहूदाका नगरहरूलाई भन, “हेर, तिमीहरूका परमेश्वर यहीँ हुनुहुन्छ!”
10हेर, परमप्रभु परमेश्वर पराक्रमसाथ आउँदैहुनुहुन्छ, र उहाँको हातले शासन गर्नुहुन्छ। हेर, उहाँको इनाम उहाँसितै छ, र उहाँको प्रतिफल उहाँकै साथमा छ।
11उहाँले आफ्नो बगाललाई गोठालाले झैँ चराउनुहुन्छ। उहाँले थुमाहरूलाई आफ्नै अँगालोमा लिनुहुन्छ, र तिनीहरूलाई आफ्नै हृदयको नजिक बोक्नुहुन्छ। उहाँले ससाना बच्चा भएकालाई चाहिँ बिस्तार-बिस्तार डोर्याउनुहुन्छ।
12कसले पानीलाई आफ्नो अँजुलीमा अथवा आफ्नो बित्ताले आकाशलाई नापेको छ? कसले पृथ्वीको माटो डालोमा भरेको छ अथवा पर्वतहरू तराजूमा र डाँड़ाहरूलाई काँटामा जोखेको छ?
13कसले परमप्रभुको मन बुझेको छ, अथवा उहाँको सल्लाहकार भएर उहाँलाई शिक्षा दिएको छ?
14बुद्धिको प्रकाशको निम्ति परमप्रभुले कससित सल्लाह लिनुभयो र कसले उहाँलाई ठीक बाटो सिकायो? कसले उहाँलाई ज्ञान सिकायो, अथवा समझको मार्ग देखायो?
15जाति-जाति त बाल्टीको एक थोपो पानीजस्तै छन्। तिनीहरू तराजूमा टाँसिएका धूलोजस्तै छन्। उहाँले त टापूहरूलाई मसिनो धूलोजस्तै जोख्नुहुन्छ।
16वेदीका दाउराको निम्ति लेबनान प्रशस्त हुँदैन, न त त्यसमा भएका पशुहरू होमबलिको निम्ति प्रशस्त हुन्छन्।
17सारा जातिहरू उहाँको सामुन्ने केही पनि होइनन्। उहाँले तिनीहरूलाई बेकामका र केही न केहीका ठान्नुहुन्छ।
18तब तिमीहरू परमेश्वरलाई कससित तुलना गर्नेछौ? अथवा केको प्रतिरूपसित उहाँको तुलना गर्नेछौ?
19मूर्ति त कारीगरले ढालेर बनाउँछ। सुनारले त्यसमा सुनको जलप लगाउँछ र त्यसको निम्ति चाँदीका सिक्रीहरू बनाउँछ।
20यस्तो भेटी चढ़ाउन नसक्ने साह्रै गरीबले चाहिँ नकुहुने काठ छान्छ। उसले आफ्नो निम्ति खोपेको मूर्ति नहल्लिने गरी बसाल्नलाई कुनै एक निपुण कारीगरलाई खोज्छ।
21के तिमीहरूले जानेका छैनौ? के तिमीहरूले सुनेका छैनौ? के यो कुरो तिमीहरूलाई सुरुदेखि नै भनिएको छैन? के पृथ्वीको जग बसालेको बेलादेखि नै तिमीहरूले बुझेका छैनौ?
22उहाँ पृथ्वीको परिधिभन्दा माथि विराजमान हुनुहुन्छ, र पृथ्वीका मानिसहरूचाहिँ फटेङ्ग्राजस्तै छन्। उहाँले आकाशलाई पर्दाझैँ फिँजाउनुहुन्छ, अनि त्यसमा वास गर्नलाई पालझैँ त्यो फैलाउनुहुन्छ।
23उहाँले राजकुमारहरूलाई बेकामका बनाइदिनुहुन्छ, र पृथ्वीका शासकहरूलाई रद्द तुल्याउनुहुन्छ।
24तिनीहरू रोपिनासाथै, छरिनासाथै, तिनीहरूले जमिनमा जरा हाल्नासाथै, उहाँले तिनीहरूलाई फुकिदिनुहुन्छ र तिनीहरू ओइलाइहाल्छन्, र आँधीले तिनीहरूलाई भुसजस्तै उड़ाएर लैजान्छ।
25“तिमीहरू मलाई कोसित तुलना गर्नेछौ? अथवा को मसमान छ?” परमपवित्र भन्नुहुन्छ।
26तिमीहरूका आँखा माथि उठाएर आकाशलाई हेर, यी सबै कसले बनाएका हुन्? उहाँले नै होइन र, जसले पुञ्जलाई एक-एक गरी ल्याउनुहुन्छ र प्रत्येकलाई नाउँ काढ़ी बोलाउनुहुन्छ। उहाँको ठूलो शक्ति र शक्तिशाली सामर्थ्यको कारण तिनीहरूमध्ये एउटै पनि हराउँदैन।
27हे याकूब, तँ किन भन्छस्? हे इस्राएल, तँ किन यस्तो गुनासो पोखाउँछस्? “मेरो बाटो परमप्रभुदेखि लुकेको छ, परमेश्वरले मेरो वास्ता गर्नुभएको छैन।”
28के तँलाई थाहा छैन? के तैंले सुनेको छैनस्? परमप्रभु सदासर्वदा परमेश्वर हुनुहुन्छ, पृथ्वीको पल्लो छेउसम्मका सृष्टिकर्ता हुनुहुन्छ। उहाँ न त थकित न हैरान हुनुहुन्छ, र कसैले पनि उहाँको समझलाई नाप्न सक्दैन?
29उहाँले थकितहरूलाई बल दिनुहुन्छ, र कमजोरहरूको शक्ति बढ़ाइदिनुहुन्छ।
30युवक पनि दुर्बल र थकित हुन्छन्, र जवान मानिसहरू थाकेर लोट्छन्।
31तर परमप्रभुको आशा गर्नेहरूको बल फेरि नयाँ हुनेछ। तिनीहरू गरुडझैँ माथि-माथि उड्नेछन्, र दगुरेर पनि तिनीहरू थाक्नेछैनन्। तिनीहरू हिँड्नेछन् तापनि मूर्च्छा पर्नेछैनन्।