यशैया 46:1-13 NNRV2012 - Bible AI

1बेल देवता झुक्‍छ, नेबो देवता निहुरिन्‍छ। भारी बोक्‍ने पशुहरूले तिनीहरूका मूर्तिहरू बोक्‍छन्‌। तिनीहरूले लिएर हिँड़ेका मूर्तिहरू थाकेकाहरूका लागि गह्रौँ बोझजस्‍तै छन्‌।

2ती निहुरिन्‍छन्, र सँगसँगै झुक्‍छन्‌। तिनीहरूले भारी छुटाउन नसक्‍दा तिनीहरू आफै कैदमा पर्छन्‌।

3“हे याकूबका घराना, ध्‍यानसित सुन, इस्राएलका घरानाका बाँचेका सबै, जसलाई मैले गर्भदेखि नै थामेको छु र तँलाई जन्‍मैदेखि बोकेको छु।

4तिमीहरूको बुढ़ेसकालसम्‍म र कपाल फुलेको अवस्‍थासम्‍म म त्‍यही हुँ, म त्‍यही हुँ जसले तँलाई थाम्‍नेछ। मैले तँलाई बनाएको हुँ, र म तँलाई बोकेर हिँड्‌नेछु, र तँलाई बचाउनेछु र छुटाउनेछु।

5“तिमीहरू मलाई कोसँग तुलना गर्नेछौ, अथवा कसको बराबरी गन्‍नेछौ? मलाई कोसित दाँज्‍छौ र हामी तुलना गरिनेछौं।

6कसै-कसैले थैलाबाट सुन खन्‍याउँछन्‌ र चाँदी तराजूमा जोख्‍छन्‌ र एउटा सुनारलाई ज्‍यालामा लगाएर त्‍यसबाट तिनीहरू देवता बनाउँछन्‌ र तिनीहरू त्‍यसको सामुन्‍ने घोप्‍टो पर्छन्‌ र त्‍यसलाई पुज्‍छन्‌।

7तिनीहरू त्‍यसलाई काँधमा हाली बोकेर लैजान्‍छन्, र त्‍यसलाई त्‍यसको स्‍थानमा राख्‍छन्, र त्‍यो त्‍यहाँ खड़ा रहन्‍छ। त्‍यस ठाउँबाट त्‍यो आफै सर्न सक्‍दैन। कसैले त्‍यसको सामुन्‍ने पुकारा गरे तापनि त्‍यसले जवाफ दिँदैन, त्‍यसले त्‍यसको दु:खदेखि बचाउन सक्‍दैन।

8“हे बागी हो, यस कुरालाई सम्‍झ, र मनमा दृढ़ पार र हृदयमा राख।

9अघि-अघिका पुराना कुराहरूलाई सम्‍झ। म परमेश्‍वर हुँ, र अरू कोही छैनँ। म परमेश्‍वर हुँ, मजस्‍तै अरू कोही छैन।

10आदिदेखि अन्‍तसम्‍मको, र प्राचीन समयदेखि हुन आउनेसम्‍मको जानकारी म दिन्‍छु। म भन्‍छु: मेरो अभिप्राय ठहर्नेछ, र मैले चाहेको सबै पूरा गर्नेछु।

11पूर्वबाट म शिकारी पक्षी बोलाउँछु, र टाढ़ा देशबाट मेरो अभिप्राय पूरा गर्न म एक जना मानिसलाई बोलाउँछु। मैले जे भनेको छु, त्‍यो म गर्नेछु। मैले जे योजना बनाएको छु, म त्‍यो गर्ने नै छु।

12हे हठी हृदयका र धार्मिकताबाट टाढ़ा रहेका हो, मेरो कुरा ध्‍यानसित सुन।

13म आफ्‍नो धार्मिकता नजिक ल्‍याइरहेछु, त्‍यो टाढ़ा छैन, र मेरो उद्धारले बियाँलो गर्नेछैन। म सियोनलाई उद्धार प्रदान गर्नेछु। मेरो ऐश्‍वर्य इस्राएललाई प्रदान गर्नेछु।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>