यशैया 47:1-15 NNRV2012 - Bible AI

1“हे बेबिलोनकी कन्‍ये-छोरी, तल जा, धूलोमा बस्‌। हे बेबिलोनीहरूकी छोरी, सिंहासनविनै भूइँमा बस्‌। अब उप्रान्‍त तँ कोमल र सुकुमारी भनिनेछैनस्‌।

2जाँतो लिएर पीठो पिँध्‌। घुम्‍टो हटा, फरिया माथि सार्, नाङ्गो जाँघ देखाएर नदी तर्‌।

3तेरो नग्‍नता उघारिनेछ। तेरो शर्म प्रकट हुनेछ। म बदला लिनेछु, म कसैलाई छोड्‌नेछैनँ।”

4हाम्रा उद्धारक सर्वशक्तिमान्‌ परमप्रभु उहाँको नाउँ हो। उहाँ इस्राएलका परमपवित्र हुनुहुन्‍छ।

5“हे बेबिलोनीहरूकी छोरी, तँ चूप लागेर बस्, अँध्‍यारोमा जा, अब उप्रान्‍त तँ राज्‍य-राज्‍यकी रानी भनिनेछैनस्‌।

6म मेरो प्रजादेखि रिसाएको थिएँ र मैले मेरो निज भागलाई अपवित्र गरें। मैले तिनीहरूलाई तेरो हातमा दिएँ, तर तैंले तिनीहरूलाई दया देखाइनस्‌। बुढापाकाहरूलाई पनि तैंले आफ्‍नो साह्रै गह्रौँ जुवा बोकाइस्‌।

7तैंले भनिस्, ‘म सदासर्वदाको निम्‍ति अनन्‍तकी रानी भइरहनेछु!’ तर तैंले यी कुरा विचार गरिनस्, अथवा पछि के हुन्‍छ, त्‍यसको आखिरी नतीजा सम्‍झिनस्‌।

8“यसकारण ‘हे विलासी, आफ्‍नो सुरक्षामा वेपरवाहसित बस्‍ने, हृदयमा ‘म नै हुँ र मबाहेक अरू कोही छैन, म कहिल्‍यै विधवा हुनेछैनँ, अथवा छोराछोरीहरूको वियोग जान्‍नेछैनँ’ भन्‍ने अब यो कुरा ध्‍यानसित सुन्‌।

9‘यी दुई कुरा तँमाथि एकै क्षणमा एकै दिनमा आइपर्नेछन्‌: छोराछोरीहरूका वियोग र विधवापना। तेरो ज्‍यादै टुनामुना र तेरो शक्तिशाली तन्‍त्रमन्‍त्र भए तापनि ती पूर्ण रूपमा तँमाथि आउनेछन्‌।

10तैंले आफ्‍नो खराबीमाथि भरोसा राखेकी छस्, र ‘कसैले मलाई देख्‍दैन’ भनेकी छस्‌। तेरो ज्ञान र तेरो बुद्धिले तँलाई भ्रममा पारेको छ, जब तैंले आफ्‍नो मनमा भन्‍छेस्, ‘म नै हुँ, मबाहेक अरू कोही छैन’।

11विपत्ति तँमाथि आइपर्नेछ, त्‍यो तैंले कुन जादूले हटाउने। हानि-नोक्‍सानी तँमाथि आइलाग्‍नेछ, जसलाई तैंले मोल तिरे तापनि टार्न सक्‍दिँनस्‌। तैंले पहिलेबाट थाहा नपाएको सर्वनाश अचानक तँमाथि आइपर्नेछ।

12“यसर्थ अब तैंले आफ्‍नो बालककालदेखि नै परिश्रमसाथ गरिल्‍याएको तेरो मन्‍त्रतन्‍त्र र थुप्रै टुनामुनामा लागिबस्‌। शायद तँ सफल हुनेछेस्, सायद तैंले डर उत्‍पन्‍न गर्नेछस्‌।

13तैंले पाएका सबै सल्‍लाहबाट तँ थकित भएकी छस्‌! ज्‍योतिषीहरू, ग्रह हेरेर महिना-महिनामा भविष्‍य बताउनेहरू आऊन्, र तँमाथि आइपर्ने कुराहरूबाट तँलाई बचाऊन्‌।

14निश्‍चय नै तिनीहरू ठुटाजस्‍तै छन्‌। आगोले तिनीहरूलाई जलाउनेछ। आगोका ज्‍वालाको शक्तिबाट तिनीहरू आफैलाई बचाउन सक्‍दैनन्‌। यहाँ कसैलाई आगो ताप्‍ने भुङ्‌ग्रो हुँदैन, न यहाँ बसेर ताप्‍नलाई आगो हुनेछ।

15तिनीहरूले तेरो निम्‍ति त्‍यति मात्र गर्न सक्‍नेछन्‌— यी जोसँग तैंले परिश्रम गरेकी थिइस्, र बालककालदेखि व्‍यापार गर्दैआएकी थिइस्‌। तिनीहरू हरेक आफ्‍नै भूलतिर लाग्‍छन्‌। तँलाई कसैले बचाउन सक्‍दैन।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>