यशैया 50:1-11 NNRV2012 - Bible AI

1परमप्रभु यसो भन्‍नुहुन्‍छ, “मैले त्‍यसलाई त्‍यागेपछि दिएको तेरी आमाको त्‍यागपत्र कहाँ छ? अथवा मैले तिमीहरूलाई कुन साहूकारको हातमा बेचें? तिमीहरूकै पापहरूले गर्दा तिमीहरू बेचियौ, र तिमीहरूकै अपराधहरूको कारण तिमीहरूकी आमा त्‍यागिएकी हो।

2म त्‍यहाँ आउँदा किन कोही मानिस थिएन? मैले बोलाउँदा मलाई जवाफ दिने किन त्‍यहाँ कोही थिएन? के मेरो हात तिमीहरूलाई छुटाउन नसक्‍ने गरी छोटो भएको थियो? के तिमीहरूको उद्धार गर्नलाई मसित शक्तिको अभाव छ? मेरो मामूली हप्‍काइले समुद्रलाई म सुकाउँछु। नदीहरूलाई मरुभूमि पारिदिन्‍छु। पानीको कमीले गर्दा त्‍यहाँका माछाहरू सड्‌छन्‌ र तिर्खाले मर्छन्‌।

3म आकाशलाई अन्‍धकारले ढाक्‍छु, र त्‍यसलाई भाङ्‌ग्रा ओढ़ाइदिन्‍छु।”

4थाकेकोलाई सम्‍हाल्‍ने वचन जान्‍न सकून्‌ भनेर परमप्रभु परमेश्‍वरले मलाई सिकाइको बोली दिनुभएको छ। उहाँले मलाई बिहानैपिच्‍छे जगाउनुहुन्‍छ। सिक्‍नेलाई झैँ ध्‍यानसित सुन्‍न उहाँले मेरो कान खोलिदिनुहुन्‍छ।

5परमप्रभु परमेश्‍वरले मेरो कान खोलिदिनुभएको छ, र म बागी भइनँ। म पछि हटिनँ।

6मैले मेरो पीठ मलाई पिट्‌नेहरूलाई, र दाह्री लुछ्‌नेहरूलाई मेरो गाला फर्काइदिएँ। ठट्टा र थुकाइबाट मैले मेरो मुख लुकाइनँ।

7म शर्ममा पर्नेछैनँ, किनकि परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुन्‍छ। यसर्थ मैले मेरो मोहड़ा दर्शन चकमकजस्‍तै स्‍थिर पारेको छु, र म जान्‍दछु, कि म लाजमा पर्नेछैनँ।

8मलाई निर्दोष ठहराउनुहुने मेरो नजिकै हुनुहुन्‍छ। यसर्थ कसले मेरो विरुद्धमा दोष लगाउँछ? हामी मुखामुख परौं! मेरो विरोधी को छ? त्‍यसले मेरो सामना गरोस्‌!

9परमप्रभु परमेश्‍वरले मलाई सहायता गर्नुहुन्‍छ। त्‍यो को हो, जसले मलाई दोषी ठहराउँछ? तिनीहरू सबै लुगाझैँ थोत्रा हुनेछन्‌। कीराले तिनीहरूलाई खाइहाल्‍नेछन्‌।

10तिमीहरूमध्‍ये कसले परमप्रभुको डर मान्‍छ र उहाँको दासका कुरा पालन गर्छ? ज्‍योतिविना अन्‍धकारमा हिँड्‌नेले परमप्रभुको नाउँमा भरोसा गरोस्‌ र आफ्‍ना परमेश्‍वरमा भर परोस्‌।

11तर अब तिमीहरू सबै जसले आगो बाल्‍छौ र जलिरहेको राँको लिन्‍छौ, तिमीहरू जाओ, तिमीहरूका आगोको र तिमीहरूले सल्‍काएका राँकाको प्रकाशमा हिँड़। तिमीहरूले मेरो हातबाट यही पाउनेछौ: तिमीहरू यातना भोग्‍नेछौ।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>