यशैया 52:1-15 NNRV2012 - Bible AI

1जाग्, जाग्, ए सियोन, तेरो शक्ति धारण गर्‌। ए पवित्र सहर, यरूशलेम, आफ्‍नो महिमित पोशाक लगा। अब उप्रान्‍त खतना नभएका र बिटुलिएकाहरू फेरि तँभित्र आउनेछैनन्‌।

2तेरो धूलो टकटक्‍या। ए यरूशलेम, उठ्‌ र सिंहासनमा बस्‌। हे कैदमा परेकी सियोनकी छोरी, तेरो घिच्रोको बन्‍धन फुकालिदे।

3किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: “तिमीहरू सित्तैँमा बेचियौ, र तिमीहरू रुपियाँविनै छुटाइनेछौ।”

4किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: “पहिले मेरा प्रजा मिश्रदेशमा बसोबास गर्न गए, र हालैमा अश्‍शूरहरूले तिनीहरूलाई अत्‍याचार गरे।

5अनि अब मेरो यहाँ के छ र?” परमप्रभु भन्‍नुहुन्‍छ।

5“किनकि मेरो प्रजा सित्तैँमा लगियो, र तिनीहरूलाई शासन गर्नेहरू तिनीहरूको ठट्टा गर्छन्,” परमप्रभु भन्‍नुहुन्‍छ। “दिनभरि नै मेरो नाउँ निरन्‍तर निन्‍दित भइरहन्‍छ।

6यसैकारण मेरो प्रजाले मेरो नाउँ जान्‍नेछ। तिनीहरूले त्‍यो दिन जान्‍नेछन्‌ कि अघि देखि भन्‍ने मै हुँ। हो, त्‍यो म नै हुँ।”

7सुसमाचार प्रचार गर्नेहरूका पाउ डाँड़ाहरू हुँदो कति सुन्‍दर छन्, जसले शान्‍तिको घोषणा गर्दछन्, जसले शुभ समाचार ल्‍याउँछन्, जसले उद्धारको घोषणा गर्दछन्, जसले सियोनलाई भन्‍दछन्, “तेरा परमेश्‍वरले राज्‍य गर्नुहुन्‍छ।”

8ध्‍यानसित सुन्‌। तेरा पहरादारहरू आफ्‍नो सोर उचालेर एकसाथ आनन्‍दले कराउँछन्‌। जब परमप्रभु सियोनमा आउनुहुन्‍छ, तब तिनीहरूले त्‍यो आफ्‍नै आँखाले देख्‍नेछन्‌।

9हे यरूशलेमका भग्‍नावशेषहरू हो, आनन्‍दले एकसाथ गीतहरू गाओ, किनकि परमप्रभुले आफ्‍ना प्रजालाई सान्‍त्‍वना दिनुभएको छ, उहाँले मोल तिरेर यरूशलेमलाई छुटकारा दिनुभएको छ।

10सारा जातिहरूको दृष्‍टिमा परमप्रभुले आफ्‍नो पवित्र बाहुबल प्रकट गर्नुहुनेछ, र पृथ्‍वीको पल्‍लो छेउकाहरूले पनि हाम्रा परमेश्‍वरको उद्धारलाई देख्‍नेछन्‌।

11जाओ, जाओ, त्‍यहाँबाट जाओ, अशुद्ध थोक नछोओ! हे परमप्रभुका पात्र बोक्‍ने हो, त्‍यसबाट निस्‍केर आओ, र आफैलाई शुद्ध पार।

12तर तिमीहरू हतार-हतार गरेर अथवा भागेर जानेछैनौ, किनकि परमप्रभु तिमीहरूका अगिअगि जानुहुनेछ, इस्राएलका परमेश्‍वर तिमीहरूका पछिल्‍तिर रक्षक हुनुहुनेछ।

13हेर्, मेरो दासले बुद्धिले काम गर्नेछ। ऊ उचालिनेछ, अल्‍गाइनेछ र ऊ अति उच्‍च पारिनेछ।

14जसरी उसदेखि धेरै जना व्‍याकुल थिए— उसको अनुहार चिन्‍नै नसकिने गरी र उसको चेहरा मानिसको भन्‍दा पनि कुरूप बनाइएको थियो—

15त्‍यसरी नै उसले धेरै जातिहरूमाथि छर्कनेछ। उसको कारण राजाहरू चूपचाप रहनेछन्‌। किनकि तिनीहरूलाई नभनेको कुरा तिनीहरूले देख्‍नेछन्, र तिनीहरूले नसुनेका कुरा तिनीहरूले बुझ्‍नेछन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>