1“हे सबै तिर्खाउने हो, आओ, पानीनेर आओ। अनि तिमीहरू रुपियाँ नहुने पनि आओ र किनेर खाओ। आओ, विनापैसा र विनादाम दाखमद्य र दूध किन।
2जे रोटी नै होइन, त्यसको निम्ति किन पैसा खर्च गर्छौ? अनि जे कुराले सन्तोष नै दिँदैन, त्यसको निम्ति किन परिश्रम गर्छौ? ध्यान देओ, ध्यान दिएर मेरो कुरा सुन, र जे कुरो असल छ त्यही खाओ, र स्वादिष्ट थोकहरू खाएर तिमीहरूको प्राण सन्तुष्ट हुनेछ।
3कान थाप, र मकहाँ आओ। सुन, ताकि तिमीहरूको प्राण जिओस्। म तिमीहरूसित अनन्त करार बाँध्नेछु, दाऊदलाई प्रतिज्ञा गरेको मेरो विश्वासको प्रेम।
4हेर, मैले त्यसलाई जाति-जातिहरूका बीचमा साक्षी, र जाति-जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।
5परमप्रभु, तिमीहरूका परमेश्वर, इस्राएलका परमपवित्रको कारण, तिमीहरूले नचिनेका जातिहरूलाई तिमीहरूले बोलाउनेछौ, र तिमीहरूलाई नचिन्ने जातिहरू तिमीहरूकहाँ हतार-हतार गरी आउनेछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।”
6जबसम्म परमप्रभुलाई पाउन सक्छौ उहाँलाई खोज। उहाँ नजिक हुनुहुँदा नै उहाँलाई भेट।
7दुष्टले आफ्नो बाटो र अधर्मीले आफ्नो विचार त्यागोस्, र परमप्रभुतिर फर्कोस्, र उहाँले त्यसमाथि कृपा गर्नुहुनेछ। हाम्रा परमेश्वरतर्फ त्यो फर्कोस्, र उहाँले त्यसलाई सित्तैमा क्षमा गर्नुहुनेछ।
8“किनकि मेरा विचारहरू तिमीहरूका विचार होइनन्, र तिमीहरूका चाल मेरा चाल होइनन्,” परमप्रभु भन्नुहुन्छ।
9जसरी आकाश पृथ्वीभन्दा अल्गो छ, त्यसरी नै मेरा चाल तिमीहरूका चालभन्दा र मेरा विचार तिमीहरूका विचारभन्दा अल्गा छन्।
10जसरी वृष्टि र हिउँ आकाशबाट झर्छ र त्यतैतिर फर्केर जाँदैन, तर जमिनलाई भिजाएर बाली उमार्छ, र छर्नेलाई बीउ र खानेलाई भोजन दिन्छ,
11त्यसरी नै मेरो मुखबाट निस्कने मेरो वचन पनि हुनेछ। त्यो मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ, र जुन कामको निम्ति म त्यसलाई पठाउँछु, त्यसमा त्यो सफल हुनेछ।
12तिमीहरू आनन्दसाथ जानेछौ, र शान्तिमा डोर्याइनेछौ। पर्वतहरू र डाँड़ाहरू तिमीहरूका सामुन्ने गीत गाउनेछन्, र मैदानका सारा रूखहरूले ताली बजाउनेछन्।
13तब काँढ़ाको सट्टा सल्लो, सिउँड़ीको सट्टा असारे-फूलको रूख उम्रनेछ। त्यो परमप्रभुका ख्यातिको निम्ति हुनेछ। त्यो कहिल्यै नष्ट नहुने सदासर्वदाको चिन्हको निम्ति हुनेछ।”