यशैया 56:1-12 NNRV2012 - Bible AI

1परमप्रभु यसो भन्‍नुहुन्‍छ, “न्‍याय कायम राख। जे ठीक छ, त्‍यो गर, किनकि मबाट पाउने उद्धार नजिकै छ, र मेरो धार्मिकता चाँड़ै प्रकट हुनेछ।

2त्‍यो मानिस धन्‍यको हो जसले यो गर्दछ, त्‍यो मानिस, जो यस कुरामा स्‍थिर रहन्‍छ, जसले शबाथ-दिन बिटुलो नपारी मान्‍छ, र आफ्‍नो हात कुनै पनि खराब गर्नबाट अलग राख्‍छ।”

3परमप्रभुसँग आफूलाई बन्‍धनमा बाँधेको कुनै विदेशीले यसो नभनोस्, “निश्‍चय नै परमप्रभुले मलाई आफ्‍नो प्रजाबाट अलग गर्नुहुनेछ।” कुनै पनि नपुंसकले यस्‍तो उजूर नगरोस्, “हेर, म त सुकेको रूख हुँ।”

4किनकि परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा शबाथहरू पालन गर्ने, मलाई इच्‍छा लागेको काम गर्ने, र मेरो करारलाई दृढ़तापूर्वक समात्‍ने नपुंसकहरूलाई

5म मेरो मन्‍दिर र त्‍यसका पर्खालहरूभित्र छोराछोरीहरूभन्‍दा पनि अझ असल स्‍मारक तुल्‍याउनेछु, र तिनीहरूलाई अझ असल नाउँ दिनेछु। म तिनीहरूलाई कहिल्‍यै नकाटिने अनन्‍तको नाउँ दिनेछु।

6“परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्‍न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई

7म मेरो पवित्र पर्वतमा ल्‍याएर मेरो प्रार्थनाको घरमा आनन्‍दित तुल्‍याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्‍य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ।”

8इस्राएलका निकालिएकाहरूलाई भेला गराउनुहुने— परमप्रभु परमेश्‍वर यो घोषणा गर्नुहुन्‍छ, “भेला भइसकेकाहरू बाहेक म तिनीहरूकहाँ अझै अरूलाई पनि भेला गर्नेछु।”

9हे मैदानका सबै पशु हो, आओ। हे वनका सबै पशु हो, आएर खाओ!

10इस्राएलका पहरादारहरू अन्‍धा छन्‌। तिनीहरू सबै ज्ञानविहीन छन्‌। तिनीहरू भुक्‍न नसक्‍ने गूँगो कुकुरजस्‍तै छन्‌। पल्‍टिरहने र सपना देख्‍ने, सुत्‍न मात्र तिनीहरू मन गर्छन्‌।

11तिनीहरू त साह्रै भोकाएका कुकुरहरू हुन्‌। तिनीहरू कहिल्‍यै अघाउँदैनन्‌। ती अबुझ गोठालाहरू हुन्‌। तिनीहरू जम्‍मै आफ्‍नै बाटोतिर लागेका छन्‌। प्रत्‍येकले आफ्‍नै लाभ मात्र खोज्‍छन्‌।

12तिनीहरू हरेक भन्‍छन्, “आओ, मलाई दाखमद्य ल्‍याउन देओ! हामी कडा मद्य खूब पिऔं! भोलि पनि आजको दिनझैँ हुनेछ अथवा आजभन्‍दा अझ राम्रो।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>