1“उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ।
2हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ।
3जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्।
4“तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन्।
5तब यो देखेर तँ उज्ज्वल हुनेछस्, र तेरो हृदय आनन्दले गद्गद् हुनेछ। समुद्रका धन तँतर्फ ल्याइनेछन्, जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ।
6ऊँटहरूका बथान, मिद्यान र एपाका सवारी ऊँटहरूले तेरो देश ढाकिनेछ। शेबाबाटका सबै जना परमप्रभुको प्रशंसा गर्दै सुन र धूप लिएर आउनेछन्।
7केदारका सबै भेड़ाबाख्राहरूका बगाल तँकहाँ जम्मा हुनेछन्। नबायोतका भेड़ाहरूले तेरो सेवा गर्नेछन्। तिनीहरू बलि स्वरूप मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, र मेरो महिमाको मन्दिरलाई म सिँगार्नेछु।
8“बादलझैँ उड्ने र ढुकुरझैँ तिनीहरूका गुँड़तिर उड्ने यी को हुन्?
9निश्चय नै टापूहरूले मलाई हेर्छन्। अगिअगिचाहिँ तर्शीशका व्यापारी जहाजहरू छन्। परमप्रभु तेरा परमेश्वरको निम्ति, अर्थात् इस्राएलका परमपवित्रका सम्मानको निम्ति तिनीहरूले तेरा छोराहरूलाई तिनका सुन र चाँदीसित टाढ़ा-टाढ़ाबाट ल्याउँछन्। किनकि उहाँले तँलाई गौरवले युक्त पार्नुभएको छ।
10“विदेशीहरूले तेरा पर्खाल फेरि बनाउनेछन्, र तिनका राजाहरूले तेरो सेवा गर्नेछन्। मेरो क्रोधमा मैले तँलाई हिर्काएँ, तापनि मेरो निगाहमा म तँलाई टिठ्याउनेछु।
11तेरा सहरका मूल ढोकाहरू निरन्तर खुला रहनेछन्। मानिसहरूले तँकहाँ जाति-जातिका धन-सम्पत्ति ल्याउन र तिनका राजाहरू अगिअगि विजयीजुलूससाथ पस्न ती ढोकाहरू दिनरात कहिल्यै बन्द हुनेछैनन्।
12किनकि तेरो सेवा नगर्ने जाति वा राज्य नष्ट हुनेछ। त्यो बिलकुलै नष्ट हुनेछ।
13“लेबनानको गौरव तँकहाँ आउनेछ— सल्लोहरू र धूपीका रूखसमेत मेरो पवित्रस्थान सुन्दर बनाउनलाई आउनेछन्, र म मेरो चरणको स्थानलाई गौरवमय बनाउनेछु।
14तँलाई सताउनेहरूका छोराहरू तँकहाँ शिर निहुराउँदै आउनेछन्। तँलाई घृणा गर्नेहरू सबै तेरा खुट्टामा निहुरनेछन्। तिनीहरूले तँलाई परमप्रभुको सहर, इस्राएलका परमपवित्रको सियोन भन्नेछन्।
15“तँ त्यागिएकी र घृणित भएकी, तँबाट भएर कोही नगए तापनि म तँलाई सदाको गौरव र सबै पुस्ताको आनन्द तुल्याउनेछु।
16तैंले जाति-जातिहरूको दूध पिउनेछस् र राजकीय थुन चुस्नेछस्। त्यस बेला तैंले यो जान्नेछस्, कि म परमप्रभु तेरा मुक्तिदाता र तेरो उद्धार गर्ने, याकूबको परमशक्तिशाली हुँ।
17काँसाको सट्टा सुन र फलामको सट्टा चाँदी म ल्याउनेछु, र काठको सट्टा काँसा र ढुङ्गाको सट्टा फलाम ल्याउनेछु। शान्तिलाई तेरा राज्यपाल र धार्मिकतालाई तेरा शासक तुल्याउनेछु।
18तेरो देशमा फेरि कहिल्यै उपद्रव सुनिनेछैन, तेरा सिमानाभित्र बरबादी र विनाश सुनिनेछैन। तर तैंले तेरा पर्खाललाई मुक्ति भन्नेछस्, र तेरा मूल ढोकालाई प्रशंसा।
19दिनमा सूर्यले फेरि कहिल्यै तँलाई ज्योति दिनेछैन, न त चन्द्रमाको उज्यालो तँमाथि चम्कनेछ, किनकि परमप्रभु नै तेरो सदाको ज्योति, र तेरा परमेश्वरचाहिँ तेरो महिमा हुनुहुनेछ।
20तेरो सूर्य फेरि कहिल्यै अस्ताउनेछैन, र तेरो चन्द्रमा पनि घट्नेछैन। परमप्रभु तेरो सदाको ज्योति हुनुहुनेछ, र तेरो शोकका दिनको अन्त्य हुनेछ।
21तब तेरा सबै प्रजा धर्मात्मा हुनेछन्, र तिनीहरूले सदाको निम्ति देशको अधिकार गर्नेछन्। मेरो गौरव प्रदर्शन गर्न तिनीहरू मैले रोपेका बिरुवा, मेरो हातका काम हुन्।
22तिमीहरूमध्ये थोरैचाहिँ हजार हुनेछ, र सबैभन्दा सानोचाहिँ एउटा शक्तिशाली जाति हुनेछ। म परमप्रभु हुँ। त्यसको समयमा त्यो चाँड़ै पूरा गर्नेछु।”