यशैया 62:1-12 NNRV2012 - Bible AI

1सियोनको खातिर म चूप लाग्‍नेछैनँ। यरूशलेमको खातिर म चूपचाप बस्‍नेछैनँ, जबसम्‍म त्‍यसको धार्मिकता उषाको उज्‍यालोजस्‍तै र त्‍यसको मुक्ति राँकोझैँ चहकिलो बलिरहेको देखिँदैन।

2जाति-जातिहरूले तेरो धार्मिकता र सबै राजाहरूले तेरो गौरव देख्‍नेछन्, र तँचाहिँ परमप्रभु आफैले राख्‍नुभएको नयाँ नाउँद्वारा कहलाइनेछस्‌।

3तँ परमप्रभुको हातमा गौरवमय मुकुट र तेरा परमेश्‍वरका हातमा एउटा राजकीय शिरपेच हुनेछस्‌।

4तँ फेरि कहिल्‍यै ‘त्‍यागिएकी’ भनिनेछैनस्‌। तेरो देश फेरि कहिल्‍यै ‘उजाड़िएको’ भनिनेछैन। तर तँ ‘हेप्‍सीबा’ [1] भनिनेछस्, र तेरो देश ‘ब्‍युलाह’ [2] भनिनेछ। किनकि तँसित परमप्रभु खुशी हुनुहुनेछ, र तेरो देशले विवाह गरेको हुनेछ।

5जसरी एक जना जवान केटाले कन्‍ये-केटीलाई विवाह गर्छ, त्‍यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्‌। जसरी दुलहा आफ्‍नी दुलहीको निम्‍ति रमाहट गर्छ, त्‍यसरी नै तेरा परमेश्‍वरले तेरो निम्‍ति रमाहट गर्नुहुनेछ।

6मैले तेरा पर्खालहरूमा पहरा बस्‍नेहरू राखेको छु, ए यरूशलेम! तिनीहरू न त दिनमा न रातमा चूपचाप बस्‍नेछन्‌। हे परमप्रभुलाई पुकार्ने हो, विश्राम नलेओ,

7र जबसम्‍म उहाँले यरूशलेमलाई स्‍थापित गरेर त्‍यसको महिमा पृथ्‍वीभरि फिँजाउनुहुन्‍न, तबसम्‍म उहाँलाई विश्राम गर्न नदेओ।

8परमप्रभुले आफ्‍नो दाहिने हात र आफ्‍नो शक्तिशाली बाहुबलको शपथ खानुभएको छ, “म फेरि कहिल्‍यै तेरो अन्‍न तेरा शत्रुहरूलाई खान दिनेछैनँ, र जुन नयाँ दाखमद्यको निम्‍ति तैंले परिश्रम गरेको थिइस्, त्‍यो विदेशीले कहिल्‍यै खान पाउनेछैनन्‌।

9तर जसले अन्‍न कटनी गर्छन्, तिनीहरूले त्‍यो खानेछन्, र परमप्रभुको प्रशंसा गर्नेछन्‌। र जसले दाख जम्‍मा गर्छन्, तिनीहरूले मेरो पवित्रस्‍थानको चोकमा त्‍यो पिउनेछन्‌।”

10जाओ, मूल ढोकाहरूबाट भएर जाओ! मानिसहरूका निम्‍ति बाटो तयार गर। बनाओ, राजपथ बनाओ। त्‍यहाँबाट ढुङ्गाहरू हटाओ। जाति-जातिहरूका निम्‍ति झन्‍डा खड़ा गर।

11परमप्रभुले पृथ्‍वीको पल्‍लो छेउसम्‍म घोषणा गर्नुभएको छ: “सियोनकी छोरीलाई भन, ‘हेर्, तेरा मुक्तिदाता आउँदैहुनुहुन्‍छ! हेर्, उहाँको प्रतिफल उहाँसितै छ, र उहाँको इनाम उहाँकै साथ हुनेछ’।”

12तिनीहरू पवित्र जाति कहलाइनेछन्‌— परमप्रभुद्वारा छुटकारा पाएकाहरू। तँचाहिँ “खोजेर भेट्टाइएको” र “नत्‍यागिएको सहर” कहलाइनेछस्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>