यशैया 63:1-19 NNRV2012 - Bible AI

1एदोमबाट, बोज्राबाट गाढ़ा रातो रङ्गले रँगाएका वस्‍त्रसित आउनुहुने को हो? रवाफिलो वस्‍त्र र आफ्‍नो शक्तिको बढ्‌पनमा आउँदैगर्नुहुने को हो? “धार्मिकतामा बोल्‍ने र बचाउनमा सामर्थी म हुँ!”

2किन तपाईंको पोशाक दाख-कुण्‍डमा पेल्‍नेहरूको जस्‍तै रातो छ?

3“मैले एकलै दाख-कुण्‍ड पेलें, जातिहरूमध्‍ये कोही पनि मसित थिएन। मैले रीसमा तिनीहरूलाई पेलें, र मेरो क्रोधमा तिनीहरूलाई कुल्‍चें। तिनीहरूको जीवन-रक्त मेरो पोशाकमा छ्यापियो, र मेरो सबै वस्‍त्र रगतै-रगत भयो।

4किनकि बदला लिने दिन मेरो मनमा थियो, र मेरो उद्धारको वर्ष आएको छ।

5मैले हेरें, तर सहायता गर्ने कोही पनि थिएन। सहारा दिने कोही पनि नदेखेर म छक्‍क परें, यसैले मेरो आफ्‍नै बाहुबलले मेरो उद्धार गर्‍यो, र मेरो क्रोधले मलाई सम्‍हाल्‍यो।

6मेरो रीसमा मैले जाति-जातिहरूलाई कुल्‍चें। मेरो क्रोधमा तिनीहरूलाई मत्ताएँ, र मैले तिनीहरूको जीवन-रक्त भूइँमा खन्‍याइदिएँ।”

7परमप्रभुले हाम्रा निम्‍ति गर्नुभएका सबै कार्यहरूअनुसार, जसको निम्‍ति उहाँलाई प्रशंसा दिनुपर्दछ, उहाँले गर्नुभएको दयाको विषयमा म बताउनेछु— उहाँको करुणा र धेरै दयाअनुसार, उहाँले इस्राएलको घरानाको निम्‍ति धेरै असल कार्य गर्नुभयो।

8उहाँले भन्‍नुभयो, “निश्‍चय नै यी मेरा प्रजा हुन्, ती छोराहरू जसले मलाई धोका दिनेछैनन्‌।” यसैले उहाँ तिनीहरूका मुक्तिदाता हुनुभयो।

9तिनीहरूका सारा दु:खमा उहाँ पनि दु:खित हुनुभयो, र उहाँको उपस्‍थितिका दूतले तिनीहरूलाई बचाए। उहाँको प्रेम र कृपामा उहाँले मोल तिरेर तिनीहरूलाई छुटकारा दिनुभयो। उहाँले तिनीहरूलाई उठाउनुभयो, र प्राचीनका सबै दिनमा उहाँले तिनीहरूलाई बोक्‍नुभयो।

10तरै पनि तिनीहरू बागी भए, र उहाँका पवित्र आत्‍मालाई दु:खित तुल्‍याए। यसैकारण उहाँ तिनीहरूका शत्रु हुनुभयो, र उहाँ आफैले तिनीहरूका विरुद्धमा लड्‌नुभयो।

11तब उहाँका प्रजाले प्राचीनका दिनलाई, अर्थात्‌ मोशा र तिनका प्रजाका दिनलाई सम्‍झे। समुद्रबाट उहाँको बगालका गोठालासमेत तिनीहरूलाई ल्‍याउने कहाँ हुनुहुन्‍छ? आफ्‍ना पवित्र आत्‍मा तिनीहरूका बीचमा राख्‍ने कहाँ हुनुहुन्‍छ—

12जसले आफ्‍नो प्रतापी बाहु मोशाको दाहिने हाततिर पठाउनलाई बढ़ाउनुभयो, जसले आफ्‍नो नाउँ अनन्‍तको निम्‍ति प्रसिद्ध राख्‍नलाई तिनीहरूकै सामुन्‍ने पानीलाई दुई भाग गर्नुभयो,

13जसले तिनीहरूलाई ठेस नलागोस्‌ भनेर वनमा घोड़ाहरूलाई झैँ गहिरा-गहिरा ठाउँहरूबाट डोर्‍याउनुभयो।

14जसरी गाईबस्‍तुहरू बेँसीमा चर्छन्, त्‍यसरी नै परमप्रभुको आत्‍माले तिनीहरूलाई विश्राम दिनुभयो। यसरी नै तपाईंले आफ्‍नो नाउँ महिमित पार्न आफ्‍ना प्रजालाई डोर्‍याउनुभयो।

15स्‍वर्गबाट हेर्नुहोस्, र आफ्‍नो उच्‍च र पवित्र र महिमित सिंहासनबाट तल दृष्‍टि गर्नुहोस्‌। तपाईंको जोश र शक्ति कहाँ गए? तपाईंको नम्रता र करुणा हामीबाट खोसिएका छन्‌।

16तर तपाईं त हाम्रा पिता हुनुहुन्‍छ। अब्राहामले हामीलाई नचिने र इस्राएलले हामीलाई स्‍वीकार नगरे तापनि, तपाईं, हे परमप्रभु, हाम्रा पिता हुनुहुन्‍छ। तपाईंको नाउँ तादिदेखि नै हाम्रा उद्धारक हो।

17हे परमप्रभु, तपाईंको मार्गबाट किन हामीलाई बरालिने तुल्‍याउनुहुन्‍छ, र तपाईंलाई सम्‍मान गर्नदेखि हाम्रो हृदयलाई किन कठोर पार्नुहुन्‍छ? तपाईंको निज उत्तराधिकार भएका कुलहरूका खातिर, तपाईंका दासहरूका खातिर फर्कनुहोस्‌।

18तपाईंका प्रजा थोरै समयको निम्‍ति मात्र तपाईंको पवित्र ठाउँको अधिकारी भए, तर अब हाम्रा शत्रुहरूले तपाईंको पवित्रस्‍थानलाई कुल्‍चीमिल्‍ची गरे।

19प्राचीनकालदेखि नै हामी त तपाईंका हौं, तर तपाईंले उनीहरूमाथि शासन गर्नुभएको छैन, उनीहरू तपाईंको नाउँद्वारा कहलाइएका छैनन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>