यशैया 64:1-12 NNRV2012 - Bible AI

1आकाश फटाएर तपाईं तल आउनुभए र तपाईंको सामुन्‍ने पर्वतहरू कामेका भए त हुनेथियो!

2आगोले झिँजामिजा डढ़ाएर र पानी उमालेझैँ, तपाईंका शत्रुहरूलाई आफ्‍नो नाउँ प्रकट गर्न, र जाति-जातिहरू तपाईंको उपस्‍थितिमा कामून्‌ भनेर तपाईं तल आउनुहोस्‌!

3जब तपाईंले भयानक कामहरू गर्नुभयो, जो हामीले चिताएकै थिएनौं, तब तपाईं तल आउनुभयो, र पर्वतहरू तपाईंको उपस्‍थितिमा कामे।

4उहाँको बाटो हेर्नेहरूका निम्‍ति काम गर्नुहुने तपाईंबाहेक अरू कोही परमेश्‍वर छ भनी कसैले प्राचीनकालदेखि नै कहिल्‍यै सुनेको छैन, न त कानले सुनेको छ, न आँखाले देखेको छ।

5जसले खुशीसित ठीक काम गर्छ, र जसले तपाईंको बाटो स्‍मरण गर्छ, तिनीहरूको सहायता गर्न तपाईं आउनुहुन्‍छ। तर जब हामीले तिनीहरूका विरुद्धमा पाप गर्दैरह्यौं तब तपाईं रिसाउनुभयो। कसरी हामीहरू बचाइन सक्‍छौं र?

6हामी सबै अशुद्ध मानिसझैँ भएका छौं, र हाम्रा सबै धार्मिक काम फोहोर झुत्राझैँ छन्‌। हामी सबै पातझैँ ओइलाइहाल्‍छौं, र हाम्रा पापले हामीलाई बतासले झैँ उड़ाइलैजान्‍छन्‌।

7तपाईंको नाउँ लिने कोही पनि छैन, तपाईंलाई समात्‍न कसैले प्रयत्‍न गर्दैन, किनकि तपाईंले आफ्‍नो मुख हामीदेखि लुकाउनुभएको छ, र हाम्रा पापले गर्दा बेकम्‍मा पार्नुभएको छ।

8तापनि अब हे परमप्रभु, तपाईं हाम्रा पिता हुनुहुन्‍छ। हामी माटो हौं, र तपाईंचाहिँ कुमाले हुनुहुन्‍छ। हामी सबै तपाईंकै हातका कार्यहरू हौं।

9हे परमप्रभु, ज्‍यादै क्रोधित नहुनुहोस्, हाम्रा पापहरू सधैँभरि सम्‍झी नरहनुहोस्‌। बिन्‍ती छ, हामीमाथि निगाह रहोस्, किनकि हामी सबै तपाईंकै प्रजा हौं।

10तपाईंका पवित्र सहरहरू मरुभूमि भएका छन्, सियोनसमेत मरुभूमि भयो, यरूशलेम ध्‍वंस भयो।

11हाम्रो पवित्र र गौरवमय मन्‍दिर जहाँ हाम्रा पिता-पुर्खाहरूले तपाईंको प्रशंसा गर्थे, त्‍यो आगोले डढ़ाइएको छ, र हामीले मूल्‍यवान्‌ ठानेका वस्‍तुहरू भग्‍नावशेष भएका छन्‌।

12यी सबै कुरा भएपछि हे परमप्रभु, के तपाईं पछिपछि हट्‌नुहुन्‍छ? के तपाईं चूपचाप बसेर हामीलाई नापभन्‍दा ज्‍यादै सजाय दिनुहुन्‍छ?

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
iv>