1“मलाई नसोध्नेहरूलाई मैले स्वयम् प्रकट गरें। जसले मलाई खोजेनन्, तिनीहरूले मलाई भेट्टाए। मेरो नाम नै नलिने जातिलाई मैले भनें, ‘म यहाँ छु। म यहाँ छु’।
2मैले मेरो हात दिनभरि नै एउटा अटेरी प्रजाको अगि फैलाएँ, जो आफ्नै कल्पनामा यस्तो बाटोमा हिँड्छन् जो असल छैन—
3एउटा यस्ता प्रजा, जसले निरन्तर मेरै सामुन्ने मलाई रीस उठाउँछन्, बगैँचाहरूमा बलिदान चढ़ाउँछन्, र इँटाले बनाएका वेदीमा धूप बाल्छन्,
4जो चिहानहरूमा बस्छन्, र गुप्त ठाउँहरूमा कुरेर रात बिताउँछन्, जसले सुँगुरको मासु खान्छन्, र जसका भाँड़ामा घिनलाग्दा कुराहरूको झोल हुन्छ,
5जसले भन्छन्, ‘पर जा, मेरो नजिक नआइज, किनकि म तेरो निम्ति अति पवित्र छु’। यस्ता मानिसहरू त मेरा नाकमा धूवाँ, र दिनभरि बलिरहने आगो हुन्।
6“हेर, मेरो सामुन्ने यस्तो लेखिएको छ, म चूप रहनेछैनँ, तर पूरै साटो लिनेछु। निश्चय नै म तिनीहरूकै काखमा साटो लिनेछु—
7तिमीहरूका र तिमीहरूका पिता-पुर्खाहरूका पापको साटो म लिनेछु” परमप्रभु भन्नुहुन्छ। “किनभने तिनीहरूले पर्वतहरूमा बलिदान जलाए, र डाँड़ाहरूमा मेरो विरोध गरे। म तिनीहरूका पहिलेका कामको बदला तिनीहरूकै काखमा पूरा भरिदिनेछु।”
8परमप्रभु यसो भन्नुहुन्छ, “जसरी दाखको झुप्पामा रस पाएर, मानिसहरूले भन्छन्, ‘त्यसलाई नबिगार्, किनकि त्यसमा अझै राम्रो रस होला,’ त्यसरी नै म मेरा सेवकहरूको पक्षमा गर्नेछु, म तिनीहरू सबैलाई नष्ट गर्नेछैनँ।
9म याकूबबाट सन्तान-दरसन्तान र यहूदाबाट मेरा पर्वतहरूका उत्तराधिकारीहरू उत्पन्न गर्नेछु। मेरा चुनिएकाहरूले त्यसको अधिकार गर्नेछन्, र मेरा दासहरू त्यहाँ बस्नेछन्।
10मलाई खोज्ने मेरा प्रजाहरूका निम्ति, शारोनचाहिँ भेड़ाबाख्राहरूको चरन, र आकोरको बेँसीचाहिँ गाईबस्तुहरूका विश्रामको ठाउँ हुनेछ।
11“तर तिमीहरू, जसले परमप्रभुलाई त्याग्छौ, र मेरो पवित्र पर्वतलाई बिर्सन्छौ, जसले भाग्य-देवको निम्ति टेबिल तयार गर्छौ, र भावी-देवीको निम्ति मिसाएको दाखमद्यले बाटाहरू भर्छौ,
12म तिमीहरूलाई तरवारको निम्ति खटाउनेछु, र तिमीहरू सबै काटिनलाई निहुरनेछौ। किनकि जब मैले तिमीहरूलाई बोलाएँ, तब तिमीहरूले जवाफ दिएनौ। जब म बोलें, तब तिमीहरूले ध्यानसित सुनेनौ। मेरो दृष्टिमा जे खराब थियो, तिमीहरूले त्यही काम गर्यौ, र मलाई मन नपर्ने काम गर्न तिमीहरूले रोज्यौ।”
13यसैकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, “हेर, मेरा दासहरूले खानेछन्, तर तिमीहरू भने भोकै बस्नेछौ। मेरा दासहरूले पिउनेछन्, तर तिमीहरू भने तिर्खाउनेछौ। मेरा दासहरूले हर्ष मनाउनेछन्, तर तिमीहरूचाहिँ लाजमा पर्नेछौ।
14मेरा दासहरू हृदयको आनन्दले गाउनेछन्, तर तिमीहरूचाहिँ हृदयमा चिन्ता भएकोले रुनेछौ, र आत्मामा खिन्न भएकोले चिच्च्याई-चिच्च्याई रुनेछौ।
15तिमीहरूले आफ्नो नाउँ मेरा छानिएकाहरूका निम्ति सरापको रूपमा छोड्नेछौ, र परमप्रभु परमेश्वरले तिमीहरूलाई मार्नुहुनेछ। तर उहाँले आफ्ना दासहरूलाई अर्को नाउँ दिनुहुनेछ।
16जसले यस देशमा आशिष्को आह्वान गर्नेछ, त्यसले साँचो परमेश्वरको नाउँमा यसो गर्नेछ, र यस देशमा शपथ खानेले परमेश्वरको नाउँमा शपथ खानेछ, किनभने अघि-अघिका दु:खहरू बिर्सिसकिएका हुनेछन्, र ती मेरो नजरबाट लुकिएका हुनेछन्।
17“हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्नेछु। अघि-अघिका कुराहरूको सम्झना हुनेछैन, न त ती मनमा आउनेछन्।
18तर मैले सृष्टि गर्ने कुरामा सदासर्वदा आनन्द गर र हर्ष मनाओ। किनकि म यरूशलेमलाई हर्षदायक र त्यसका मानिसहरूलाई आनन्ददायक तुल्याउनेछु।
19म यरूशलेमदेखि हर्षित हुनेछु, र मेरो प्रजामा खुशी हुनेछु, र त्यहाँ रुवाइ र कराइको आवाज फेरि कहिल्यै सुनिनेछैन।
20“थोरै दिनसम्म बाँच्ने बालक वा आफ्नो पूरा उमेरसम्म नबाँच्ने वृद्ध मानिस त्यहाँ कहिल्यै हुनेछैन। सय वर्षसम्म बाँचेर मर्नेचाहिँ जवान मानिनेछ, र सय वर्षसम्म नबाँच्नेचाहिँ श्रापित मानिनेछ।
21तिनीहरूले घर बनाएर तिनमा वास गर्नेछन्। तिनीहरूले दाखबारी लगाएर तिनका फल खानेछन्।
22तिनीहरूले घरहरू बनाएर तिनमा अरूहरू बस्ने, र तिनीहरूले रोपेर अरूहरूले खाने कहिल्यै हुनेछैन। किनकि रूखको आयु जस्तै मेरा प्रजाको आयु हुनेछ, र मेरा छानिएकाहरूले आफ्ना हातले गरेका काम धेरै दिनसम्मै भोग गर्नेछन्।
23तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, अथवा विपत्तिको निम्ति बालकहरू जन्माउनेछैनन्। किनकि तिनीहरू, तिनीहरूका वंशसमेत परमप्रभुको आशिष् पाएका प्रजा हुनेछन्।
24तिनीहरूले बिन्ती गर्न अघि नै म जवाफ दिनेछु। तिनीहरूले बोल्दाबोल्दै तिनीहरूका कुरा म सुन्नेछु।
25ब्वाँसो र थुमा एउटै ठाउँमा एकसाथ खानेछन्, र सिंहले चाहिँ गोरुले झैँ पराल खानेछ, तर सर्पको आहारा धूलो हुनेछ। मेरो सारा पवित्र पर्वतमा तिनीहरूले न त नोक्सानी गर्नेछन्, न नष्ट गर्नेछन्,” परमप्रभु भन्नुहुन्छ।”