1यो सुनेर हासोरका राजा याबीनले मादोनका राजा योबाब, शिम्रोनका राजा, अक्षापको राजा,
2उत्तरतिर पहाड़ी देशका राजाहरूलाई, र किन्नरेतका दक्षिणतिरको अराबाका, र तराईका र पश्चिमतिर डोरको लेकका राजाहरूलाई,
3पूर्व र पश्चिम दुवैतिर बस्ने कनानी, पहाड़ी देशका एमोरी, हित्ती, परिज्जीहरू, यबूसीहरू र मिस्पा देशको हेर्मोन पहाड़मुनि बस्ने हिव्वीहरूलाई बोलाइपठाए।
4उनीहरू र उनीहरूका सारा सेनासमेत, समुद्रका किनारका बालुवाजत्तिकै प्रशस्त घोड़ाहरू र रथहरूका साथमा खचाखच भएर निस्केर आए।
5यी सब राजाहरू जम्मा भए, र उनीहरूले आएर इस्राएलीहरूसँग लड़ाइँ गर्न मेरोम नाउँका तालको नजिक सँगै छाउनी लगाए।
6परमप्रभुले यहोशूलाई भन्नुभयो, “उनीहरूसँग नडरा, किनकि भोलि यसै बेला उनीहरू सबैलाई मारेर म इस्राएलीहरूका हातमा सुम्पिदिनेछु। तैंले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटिदिनू, र उनीहरूका रथहरू आगोले जलाइदिनू।”
7तब यहोशू सबै योद्धाका साथमा मेरोम नाउँको तालमा अचानक आएर उनीहरूमाथि जाइलागे।
8अनि परमप्रभुले उनीहरूलाई इस्राएलीहरूका हातमा सुम्पिदिनुभयो, र तिनीहरूले उनीहरूलाई पराजय गरे, र उनीहरूलाई ठूलो सीदोनसम्म, र मिस्रपोत-मैमसम्मै, र पूर्वतिर मिस्पाको मैदानसम्म खेदे, र एउटा पनि जीवित नराखी तिनीहरूले उनीहरूलाई मारे।
9परमप्रभुले आज्ञा गर्नुभएबमोजिम यहोशूले उनीहरूलाई गरे। तिनले उनीहरूका घोड़ाहरूका ढोड़नसा काटे, र उनीहरूका रथहरू आगोमा जलाइदिए।
10त्यस बेला यहोशूले फर्केर हासोर कब्जा गरे, र त्यहाँका राजालाई तरवारले काटे, किनकि अघि हासोर ती सबै राज्यमा नाइके थियो।
11अनि त्यहाँ भएका सबैलाई तरवारले मारे। तिनीहरूले त्यहाँका सास फेर्ने जति एउटैलाई नछोड़ी पूर्ण रूपले नाश गरे। अनि तिनले हासोरमा आगो लगाइदिए।
12ती राजकीय सहरहरू र तिनका सबै राजाहरूलाई समेत यहोशूले लिए, र परमप्रभुका दास मोशाले आज्ञा गरेबमोजिम सबैलाई तरवारले काटेर नाश पारे।
13तर यहोशूले जलाएको हासोरबाहेक डाँड़ाहरूमा भएका अरू कुनै सहरलाई पनि इस्राएलीहरूले जलाएनन्।
14यी सहरहरूका सबै पशुहरू र धनमाल जति इस्राएलीहरूले आफ्नै निम्ति लिए। तर मानिसहरू जति सबैलाई तिनीहरूले तरवारले काटेर नाश पारे, सास फेर्ने कुनै प्राणी बाँकी राखेनन्।
15जसरी परमप्रभुले आफ्ना दास मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी मोशाले यहोशूलाई अह्राएका थिए, र यहोशूले सबै पालन गरे। परमप्रभुले मोशालाई दिनुभएका सबै आज्ञाहरूमा कुनै पनि आज्ञा यहोशूले अपूरो राखेनन्।
16यसरी यहोशूले ती सारा भूमि, अर्थात् पहाड़ी क्षेत्र, सारा नेगेव भनिने दक्षिण देश, र गोशेनको जम्मै देश, तराई, अराबा, इस्राएलको पहाड़ी मुलुक र त्यसैको तराई,
17सेइरको उकालोमा भएको हालाक नाउँको डाँड़ादेखि लिएर हेर्मोन डाँड़ामुनिको लेबनानको बेँसीमा बाल-गादसम्म जितेर लिए, र त्यहाँका सबै राजाहरूलाई पक्रेर मारे।
18ती सबै राजाहरूसँग यहोशूले धेरै दिनसम्म लड़ाइँ गरे।
19इस्राएलीहरूसँग मेल गर्ने गिबोन-निवासी हिव्वीहरूबाहेक अरू कुनै सहरले तिनीहरूसँग सम्झौता गरेनन्, सबै सहर तिनीहरूले युद्धद्वारा लिए।
20परमप्रभुको उद्देश्य थियो, उनीहरू सबै इस्राएलको विरुद्धमा लड्न आऊन् र सबै दयाविना नाश भई मरून्, जस्तो परमप्रभुले मोशालाई आदेश गर्नुभएको थियो।
21त्यस बखत यहोशूले पहाड़ी देशमा आएर हेब्रोन, दबीर, अनाब, र यहूदा र इस्राएलका सारा पहाड़ी देशमा रहने अनाकीहरूलाई बिलकुलै नाश गरिदिए— यहोशूले उनीहरूका सहरहरूसमेत उनीहरूलाई पूर्ण रूपले नाश पारिदिए।
22इस्राएलीहरूको देशमा अनाकीहरूको एक जना पनि बाँकी रहेन, केवल गाजा, गात र अश्दोदमा केही बाँकी रहे।
23यसरी परमप्रभुले मोशालाई भन्नुभएअनुसार नै यहोशूले सबै देश जितेर लिए, र तिनीहरूका कुलअनुसार भाग-भाग गरी त्यो देश इस्राएलीहरूलाई अधिकारको निम्ति बाँड़ेर दिए।