1अनि इस्राएलीहरूका सारा समुदाय शीलोमा जम्मा भयो, र त्यहाँ भेट हुने पाल टाँग्यो। त्यो देश तिनीहरूका अधीनमा भइसकेको थियो,
2तर इस्राएलीहरूमा आ-आफ्नो अधिकार भाग नलागेका अझै सात कुल बाँकी थिए।
3यसकारण यहोशूले इस्राएलीहरूलाई भने, “तिमीहरूका पिता-पुर्खाका परमप्रभु परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्नलाई कति दिन ढिलो गर्छौ?
4अब कुलैपिच्छे तीन-तीन जना मानिसहरू तिमीहरूका निम्ति नियुक्त गर। म तिनीहरूलाई पठाउनेछु, र तिनीहरू गएर देशमा घुमेर आ-आफ्ना अधिकारको निम्ति भाग लेखेर मकहाँ फर्केर आउनेछन्।
5तिमीहरूले सात भागमा बन्डा गर। यहूदा दक्षिणमा आफ्नै सिमानाभित्र र योसेफको घरानाचाहिँ उत्तरतिर तिनीहरूकै सिमानामा रहनुपर्नेछ।
6तिमीहरूले त्यो देशको सात भागको विवरण लेखिसकेपछि मकहाँ ल्याओ। अनि परमप्रभु हाम्रा परमेश्वरको सामु तिमीहरूका निम्ति म चिट्ठा हालिदिनेछु।
7तर लेवीहरूलाई तिमीहरूमध्ये केही भाग हुनेछैन, किनकि परमप्रभुको पूजाहारी पद नै तिनीहरूको अधिकार हो। गाद, रूबेन र मनश्शेको आधा कुलले पूर्वपट्टि यर्दन पारि, परमप्रभुका दास मोशाले दिएका तिनीहरूका आ-आफ्नो अधिकार पाएकै छन्।”
8तब ती मानिस उठेर गए। अनि यहोशूले सो देशको नक्शा बनाएर ल्याउन जानेहरूलाई यसो भनेर आज्ञा दिए, “जाओ, सो देशभरि घुम, र त्यसको वर्णन लेखेर मकहाँ फर्केर आओ, र यहाँ शीलोमै परमप्रभुको सामु तिमीहरूका निम्ति म चिट्ठा हालिदिऊँला।”
9तब ती मानिसहरू गएर त्यस देशभरि घुमे, र सहर-सहर देखाएर सात भाग गरी प्रत्येकको विषयमा वर्णन गरे, र यहोशूकहाँ शीलोमा भएको छाउनीमा फर्के।
10अनि यहोशूले परमप्रभुको सामु शीलोमा तिनीहरूका निम्ति चिट्ठा हाले, र त्यहीँ नै यहोशूले तिनीहरूका भाग-भागअनुसार इस्राएलीहरूलाई सो देश बन्डा गरिदिए।
11बेन्यामीनको कुलका वंश-वंशअनुसार चिट्ठा यसरी निस्क्यो। तिनीहरूका भागको सिमाना यहूदा र योसेफका कुलहरूका बीचमा पर्यो।
12तिनीहरूका उत्तरपट्टिको सिमाना यर्दनदेखि सुरु भएर यरीहोको नजिकबाट उत्तरतिर लागी, पश्चिमतिरको पहाड़ी देशमा उक्लेर बेथ-आवनको मरुभूमिमा पुगेको थियो।
13त्यो सिमाना त्यहाँबाट लूजसम्म (यसलाई बेथेल भन्दछ) त्यसको दक्षिणतिर पुगेर तल्लो बेथ-होरोनका दक्षिणपट्टिको पहाड़बाट अतारोत-अद्दारसम्म झरेको थियो।
14अनि त्यहाँबाट सो सिमाना पश्चिमतिर लागेर दक्षिणपट्टि घुमी बेथ-होरोनका सामुन्नेका दक्षिणतिरको डाँड़ाबाट यहूदाका सन्तानहरूको किर्यत-बालसम्म (यसैलाई किर्यत-यारीम भनिन्छ) पुगेको थियो। पश्चिम सिमाना यही हो।
15दक्षिणको सिमानाचाहिँ किर्यत-यारीमको छेउदेखि पश्चिमतिर लागेर नेप्तोहको मुहानमा निस्केको थियो।
16त्यो सिमाना बेन-हिन्नोमका बेँसीको सामु र रपाईहरूका बेँसीको उत्तरपट्टिका डाँड़ाको पल्लो छेउमा ओर्ली यबूसी सहरका दक्षिणपट्टिका हिन्नोमको बेँसीबाट झरेर एन-रोगेलमा झरेको थियो।
17त्यो उत्तरतिर तानिएर एन-शेमेशतिर लागी अदुम्मीमका उकालोका सामुन्नेको गलीलोतमा निस्की रूबेन वंशी बोहनको ढुङ्गामा झरेको थियो।
18त्यहाँबाट त्यो बेथ-अराबाको सीधा उत्तरपट्टि पुगेर अराबामा नै झरेको थियो।
19त्यो सिमाना फेरि बेथ-होग्लाका उत्तरको किनार छिचलेर यर्दनको दक्षिणपट्टि भएको खारा समुद्रको उत्तरीय खाड़ीमा टुङ्गिएको थियो। दक्षिण सिमाना यही हो।
20त्यसका पूर्वपट्टिको सिमानाचाहिँ यर्दन भइहाल्यो।
21बेन्यामीनको कुललाई तिनीहरूका वंश-वंशअनुसार मिलेका सहरहरू यी नै हुन्:
22बेथ-अराबा, समारैम, बेथेल,
23अब्बीम, पारा, ओप्रा,
24कपरअमोनी, ओप्नी, गेबा। तिनीहरूका बस्तीहरूसमेत बाह्र सहरहरू हुन्।
25गिबोन, रामा, बेरोत,
26मिस्पा, कपीरा, मोशा,
27रेकेम, यिर्पल, तरला,
28सेलाह, एलेप, यबूसी सहर (अर्थात् यरूशलेम), गिबा र किर्यत। तिनीहरूका बस्तीहरूसमेत चौध सहरहरू हुन्।