1दोस्रो चिट्ठा शिमियोनका, अर्थात् शिमियोनका कुलको नाउँमा तिनीहरूका वंश-वंशअनुसार निस्क्यो। तिनीहरूको अधिकारचाहिँ यहूदाका कुलका अधिकारको बीचमा पर्यो।
2तिनीहरूको अधिकारमा परेका यी नै हुन्:
3हसर-शूआल, बाला, एसेम,
4एल्तोलद, बतूल, होर्मा,
5सिक्लग, बेथ-मर्काबोत, हसर-सूसा,
6बेथ-लबाओत, र शारूहेन। तिनीहरूका बस्तीहरूसमेत तेह्र सहरहरू हुन्।
7ऐन, रिम्मोन, एतेर र आशान— तिनीहरूका बस्तीहरूसमेत चार सहरहरू हुन्—
8र ती सहरहरूका वरिपरिका सबै बस्तीहरू बालात-बेअर, अर्थात् नेगेव भनिने अर्थात् दक्षिण देशको रामासम्मै।
9शिमियोनका सन्तानहरूले यहूदाका सन्तानहरूको हिस्साबाटै अधिकार पाएका थिए, किनकि यहूदाका सन्तानहरूलाई तिनीहरूलाई चाहिएकोभन्दा बढ्ता भाग परेको थियो। यसकारण शिमियोनका सन्तानहरूले यहूदाका भागको सिमानाभित्रै नै अधिकार पाएका थिए।
10तेस्रो चिट्ठा जबूलूनका सन्तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
11अनि तिनीहरूको सिमाना पश्चिमतिर मरलासम्म बढ़ेर दब्बेशेतसम्म पुगी योक्नामका अगाड़िको खोल्सासम्म पुगेको थियो।
12त्यो सिमाना सारीदबाट फेरि पूर्वपट्टि किस्लोथतबोरको सिमानासम्म पूर्वतिर मोड़िएको थियो। त्यो दाबरतमा निस्केर यापीसम्म चढ़ेर गएको थियो।
13त्यहाँबाट त्यो पूर्वतिर लागेर गात-हेपेर र इथ-कासीनसम्म छिचली रिम्मोनसम्म पुगेर नेआतिर गएको थियो।
14अनि त्यो सिमाना हन्नतोनतिर उत्तर मोड़िएर यिप्ताहएलको बेँसीमा पुगेको थियो।
15त्यस सिमानाभित्र काथाथ, नहलल, शिम्रोन, इदलाह र बेथलेहेम पनि थिए। तिनीहरूका बस्तीहरूसमेत बाह्र सहरहरू हुन्।
16तिनीहरूका वंश-वंशअनुसार जबूलूनका कुलका अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
17चौथो चिट्ठा इस्साखारका सन्तानहरूका नाउँमा तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
18तिनीहरूको सिमाना यिजरेल, कसुल्लोत, शूनेम,
19हपरैम, शीओन, अनाहारत,
20रब्बीत, किश्योन, एबेस,
21रेमेत, एन-गन्नीम, एन-हद्दा र बेथ-पसेस भएर
22सो सिमाना तबोर, शहसूमा र बेथ-शेमेशसम्म पुगेर यर्दनमा टुङ्गिएको थियो। तिनीहरूका बस्तीहरूसमेत सोह्र सहरहरू हुन्।
23तिनीहरूका वंश-वंशअनुसार इस्साखारका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
24पाँचौँ चिट्ठा आशेरका कुलको निम्ति तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
25तिनीहरूको सिमाना हेल्कत, हली, बेतेन, अक्षाप,
26अल्लम्मेलेक, अमाद, मिशाल, र पश्चिम कर्मेलतिर शीहोरलिब्नातसम्म पुगेको थियो।
27अनि त्यो पूर्वतिर मोड़िएर बेथ-दागोनतिर लागी जबूलून र यिप्ताह-एलको बेँसीसम्म पुगेको थियो, र बेथ-एमेक र नीएलको उत्तरतिर गएर त्यो बायाँ हातपट्टि काबूलमा निस्केको थियो।
28त्यो सिमाना एब्रोन, रहोब, हम्मोन र कना भएर महा-सीदोनसम्म पुगेको थियो।
29अनि त्यो सिमाना रामा र पर्खाल भएको टुरोस सहरतिर मोड़िएको थियो। त्यो सिमाना फेरि होसातिर मोड़िएर अक्जीब, उम्मा, अपेक र रहोबका नजिकको समुद्रमा टुङ्गिएको थियो।
30तिनीहरूका बस्तीहरूसमेत बाईस सहरहरू हुन्।
31तिनीहरूका वंश-वंशअनुसार आशेरका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
32छैटौँ चिट्ठा नप्तालीका कुलको निम्ति तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
33तिनीहरूको सिमाना हेलेप र सानन्नीममा भएको ठूलो रूखदेखि, अदामी-नेकेब र यब्नेल छिचली लक्कूमसम्म भएर यर्दनमा टुङ्गिएको थियो।
34अनि सो सिमाना पश्चिमतिर अज्नोथ-तबोरपट्टि मोड़िएर, त्यहाँबाट हुक्कोकमा निक्लेको थियो, र त्यो दक्षिणतिर जबूलूनसम्म, पश्चिमतिर आशेरसम्म र पूर्वतिर यर्दनसम्म पुगेको थियो।
35पर्खाल भएका सहरहरूचाहिँ सिद्दीम, सेर, हम्मत, रक्कत, किन्नरेत,
36अदामा, रामा, हासोर,
37केदेश, एद्रई, एन-हासोर,
38यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। तिनीहरूका बस्तीहरूसमेत उन्नाईस सहरहरू हुन्।
39तिनीहरूका वंश-वंशअनुसार नप्तालीका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
40सातौँ चिट्ठा दानका कुलको निम्ति
41तिनीहरूका वंश-वंशअनुसार यसरी निस्क्यो:
42शालवीन, अय्यालोन, इत्ला,
43एलोन, तिम्ना, एक्रोन,
44एल्तके, गिब्बतोन, बालात,
45यहूद, बने-बरक, गात-रिम्मोन,
46मे-यरकोन र रक्कोन, साथै योप्पाको सिमानासम्म थियो।
47तर दानका खलकहरूलाई आफ्नो भूभागमाथि अधिकार जमाउन गाह्रो भएको थियो, यसर्थ दानका खलकहरू लेशेममा गएर त्यससँग युद्ध गरेर त्यसलाई तरवारले नाश गरी कब्जा गरे, र त्यहाँ बसेर लेशेमलाई आफ्ना पुर्खा दानको नाउँअनुसार दान नाउँ राखे।
48तिनीहरूका वंश-वंशअनुसार दानका कुलको अधिकारका सहरहरू तिनका बस्तीहरूसमेत यी नै हुन्।
49यसरी तिनीहरूले अधिकारको निम्ति सिमाना-सिमाना छुट्ट्याई देश बन्डा गरी सिद्ध्याए। अनि इस्राएलीहरूले नूनका छोरा यहोशूलाई परमप्रभुको आज्ञाअनुसार तिनीहरूका बीचमा अधिकारको एक भाग दिए।
50तिनीहरूले तिनलाई तिनले मागेकै, एफ्राइमको पहाड़ी देशको तिम्नथ-सेरह जग्गा दिए, अनि तिनले सहर बसालेर त्यहाँ बसे।
51पूजाहारी एलाजार, नूनका छोरा यहोशू र इस्राएलका कुलनायकहरूले परमप्रभुको सामुन्ने शीलोमा भेट हुने पालको ढोकामा बसेर चिट्ठा हाली बन्डा गरेका अधिकारका सिमाना यी नै हुन्। यसरी तिनीहरूले देश बन्डा दिने काम सिद्धयाए।