यहोशू 20:1-9 NNRV2012 - Bible AI

1तब परमप्रभुले यहोशूलाई यसो भन्‍नुभयो,

2“इस्राएलीहरूलाई भनिदे, ‘मोशाद्वारा मैले तिमीहरूलाई भनेबमोजिम तिमीहरूले शरण-नगरहरू नियुक्त गर।

3भूलले वा अजानमा कसैले कसैलाई मार्‍यो भने सो ज्‍यानमारा भागेर त्‍यहाँ जाओस्, र ती सहरहरू हत्‍याको बदला लिनेहरूबाट शरणस्‍थान हुनेछन्‌।

4ती सहरहरूमध्‍ये एउटामा त्‍यो भागेर जाओस्‌ र त्‍यस सहरभित्र पस्‍ने ढोकामा उभिओस्, र त्‍यस सहरका धर्म-गुरुहरूलाई आफ्‍नो कुरा सुनाओस्‌। अनि तिनीहरूले सहरभित्र आफूहरूकहाँ लगी त्‍यसलाई ठाउँ देऊन् र त्‍यो तिनीहरूका साथमा बसोस्‌।

5यदि हत्‍याको बदला लिनेले त्‍यसलाई खेद्‌यो भने तिनीहरूले त्‍यस ज्‍यानमारालाई त्‍यसको हातमा नसुम्‍पून्, किनभने त्‍यसले आफ्‍नो छिमेकीलाई अजानमा मारेको हो, र उसित त्‍यसको केही दुश्‍मनी थिएन।

6अनि न्‍यायको निम्‍ति समुदायको सामु खड़ा नभएसम्‍म, र त्‍यस समयको प्रधान पूजाहारीको मृत्‍यु नभएसम्‍म त्‍यो त्‍यही सहरमा बसिरहोस्‌। त्‍यसपछि त्‍यो ज्‍यानमारा आफ्‍नो घरमा आफ्‍नै सहरमा, जसबाट त्‍यो भागेको थियो, त्‍यही सहरमा जाओस्‌।”

7तब तिनीहरूले गालीलमा नप्‍तालीको पहाड़ी देशमा केदेश, एफ्राइमको पहाड़ी देशमा शकेम र यहूदाको पहाड़ी देशमा किर्यत-अर्बा (जो हेब्रोन हो) अर्पण गरे।

8यरीहोका यर्दनको पूर्वपट्टि, रूबेनका कुलको उजाड़-स्‍थानमा भएको बेँसीमा बेसेरलाई, गादका कुलको गिलादमा रामोतलाई, मनश्‍शेका कुलको बाशानमा भएको गोलानलाई तिनीहरूले ठहराए।

9कसैले कुनै मानिसलाई भूलले मारेको भए सभाको सामु त्‍यसको न्‍याय नभएसम्‍म हत्‍याको बदला लिनेको हातबाट मर्न नपरोस्‌ भनेर त्‍यो भागेर जानलाई, सारा इस्राएलीहरू र तिनीहरूसँगै प्रवास गर्ने परदेशीहरूका निम्‍ति ठहरिएका सहरहरू यी नै हुन्‌।

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
v>