1जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुले यहोशूलाई भन्नुभयो,
2“मानिसहरूबाट बाह्र जना पुरुष, कुलैपिच्छे एक-एक पुरुष गरी लिएर
3तिनीहरूलाई यसो भन्ने आज्ञा दे, ‘यर्दन नदीको बीचमा पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँबाट बाह्र वटा ढुङ्गा लिई तिमीहरूका साथमा बोकेर ल्याओ, र आज राती तिमीहरू जहाँ डेरा हालेर बस्छौ त्यहीँ राखिदेओ’।”
4यसकारण इस्राएलीहरूबाट यहोशूले कुलैपिच्छेको एक-एक गरी चुनेका बाह्र जनालाई बोलाए।
5यहोशूले तिनीहरूलाई भने, “तिमीहरू परमप्रभु आफ्ना परमेश्वरका सन्दूकको सामु यर्दन नदीको बीचमा जाओ, र इस्राएलीहरूका कुलको गन्तीअनुसार हरेकले एक-एक वटा ढुङ्गा आफ्नो काँधमा राखेर ल्याओ।
6तिमीहरूका बीचमा यो एक चिनो रहोस्, र पछि भविष्यमा तिमीहरूका छोराछोरीहरूले, ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोध्दा
7तिमीहरूले तिनीहरूलाई यसो भन्नू, ‘परमप्रभुका करारका सन्दूकको सामु यर्दनको पानी रोकिएको थियो। यर्दन पार गर्दा यर्दनको पानी रोकिएको थियो। यी ढुङ्गाहरू इस्राएलीहरूका निम्ति सदाका स्मारकको रूपमा रहनेछन्।”
8परमप्रभुले यहोशूलाई भन्नुभएअनुसार यहोशूको आदेश पालन गरेर इस्राएलका कुलको संख्याअनुसार इस्राएलीहरूले यर्दनको बीचबाट ढुङ्गाहरू ल्याए र तिनीहरू बसेका ठाउँमा राखे।
9करारको सन्दूक बोक्ने पूजाहारीहरूका खुट्टाले टेकेको ठाउँ, अर्थात् यर्दनको बीचबाट ल्याइएका बाह्र वटा ढुङ्गा यहोशूले उभ्याए। ती आजको दिनसम्म त्यहीँ छन्।
10मोशाले यहोशूलाई अह्राएअनुसार, मानिसहरूलाई सुनाउनलाई परमप्रभुले यहोशूलाई दिनुभएको आज्ञाका सबै काम पूरा नहोउञ्जेल सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचमै उभिरहे, र मानिसहरू चाँड़ो-चाँड़ो गरेर पार तरे।
11अनि जब सबै मानिसहरू पार तरिसके, तब परमप्रभुको सन्दूक र पूजाहारीहरू पनि मानिसहरूका सामुन्ने पार तरे।
12मोशाले तिनीहरूलाई भनेबमोजिम रूबेनका सन्तान, गादका सन्तान र मनश्शेको आधा कुल पनि इस्राएलीहरूका सामुन्ने हातहतियार भिरेर तरे।
13करीब चालीस हजार जति लड़ाइँको लागि हातहतियार भिरेका पुरुषहरू लड़ाइँ गर्नलाई परमप्रभुको सामु पार तरेर यरीहोको मैदानतिर लागे।
14त्यस दिन सबै इस्राएलीहरूका नजरमा परमप्रभुले यहोशूलाई उचाल्नुभयो र तिनीहरूले तिनको जीवनभरि मोशालाई झैँ यहोशूलाई आदर गरे।
15तब परमप्रभुले यहोशूलाई भन्नुभयो,
16“गवाहीको सन्दूक बोक्ने पूजाहारीहरूलाई यर्दनबाट उक्लिआउनू भनी हुकुम गर्।”
17यसकारण यहोशूले पूजाहारीहरूलाई, “तिमीहरू यर्दनबाट उक्लेर आओ,” भन्ने हुकुम गरे।
18परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरू यर्दनको बीचबाट उक्लिसकेपछि तिनीहरूका पैतालाले ओबानो भूइँमा टेक्ने बित्तिकै यर्दनको पानी आफ्नो बाटोमा फर्केर आयो र अघिझैँ किनार ढाकेर बग्न थाल्यो।
19पहिलो महिनाको दशौँ दिनमा मानिसहरूले यर्दनबाट उक्लेर आई यरीहोको पूर्व सिमानामा गिलगाल भन्ने ठाउँमा आफ्नो छाउनी बनाए।
20तिनीहरूले यर्दन नदीबाट निकालेर ल्याएका ती बाह्र वटा ढुङ्गाहरू यहोशूले गिलगालमा खड़ा गरे।
21अनि तिनले इस्राएलीहरूलाई यसो भने, “पछि तिमीहरूका बालबच्चाले आफ्ना बुबाहरूसँग ‘यी ढुङ्गाहरूको अर्थ के हो?’ भनेर सोधे भने,
22तिमीहरूले आफ्ना बालबच्चालाई यसो भनेर बताइदिनू, ‘इस्राएलीहरूले यर्दन नदी सुक्खा जमिनमा टेकेर तरेका थिए’।
23जसरी परमप्रभु तिमीहरूका परमेश्वरले लाल समुद्रलाई हामीले पार नगरुञ्जेल हाम्रा सामुन्ने सुकाउनुभएको थियो, त्यसरी नै तिमीहरूका सामुन्ने तिमीहरू पार नगरुञ्जेल यर्दन नदीको पानी पनि सुकाउनुभएको थियो।
24पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको हो।”