1धनी मानिस हो! सुन, तिमीहरूमाथि आइपर्ने कष्टहरूका निम्ति रोओ र विलाप गर।
2तिमीहरूको धन सड़ेको छ, र तिमीहरूका पोशाकहरू कीराले खाएका छन्।
3तिमीहरूका सुनचाँदीमा कस लागेको छ, र त्यही कस तिमीहरूका विरुद्धमा साक्षी हुनेछ, र आगोले जस्तै तिमीहरूको शरीर खानेछ। तिमीहरूले आखिरी दिनहरूका निम्ति धन साँचेका छौ।
4जुन खेतालाहरूले तिमीहरूका खेतका बाली काटेका छन्, तिमीहरूले धोकाबाजी गरेर नदिएको तिनीहरूको ज्याला नै कराउँछ, र ती बाली काट्नेहरूको पुकारा सेनाहरूका परमप्रभुका कानसम्मै पुगेको छ।
5तिमीहरू यस पृथ्वीका सुख-विलास र मोजमज्जामा मस्त भएर बसेका छौ। बलिका दिनको निम्ति तिमीहरूले आफैलाई पुष्टाई राखेका छौ।
6तिमीहरूको विरोध नगर्ने धर्मात्मालाई दोषी ठहराएर तिमीहरूले मारेका छौ।
7यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ।
8तिमीहरूले पनि धैर्य धारण गर। आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ।
9भाइ हो, एउटाले अर्काको विरुद्धमा गनगन नगर, नत्रता तिमीहरू दोषी ठहरिनेछौ। हेर, न्यायकर्ता ढोकैमा हुनुहुन्छ।
10भाइ हो, कष्ट-भोग र धैर्यको उदाहरण कस्तो हुनुपर्ने हो, सो प्रभुको नाउँमा बोल्ने अगमवक्ताहरूलाई हेर।
11हेर, धैर्य धारण गर्नेहरूलाई हामी धन्यका भन्छौं। तिमीहरूले अय्यूबको स्थिरताको विषयमा सुनेका छौ, र प्रभुको अभिप्राय देखेका छौ, कि प्रभु कस्तो करुणामय र कृपालु हुनुहुन्छ।
12मेरा भाइ हो, सबै कुराभन्दा पहिले स्वर्गको वा पृथ्वीको अथवा अरू कुनै कुराको शपथ नखाओ, तर दोषी नठहरिनलाई तिमीहरूको “हो” चाहिँ “हो” र “होइन” चाहिँ “होइन” होस्।
13के तिमीहरूमा कसैले कष्ट भोगिरहेछ? त्यसले प्रार्थना गरोस्। के कोही आनन्दित छ? त्यसले प्रशंसाको भजन गाओस्।
14के तिमीहरूमध्ये कोही बिरामी छ? त्यसले मण्डलीका एल्डरहरूलाई बोलाओस्। तिनीहरूले प्रभुको नाउँमा त्यसलाई तेलले अभिषेक गरेर त्यसको निम्ति प्रार्थना गरून्,
15र विश्वासको प्रार्थनाले बिरामीलाई बचाउनेछ, र प्रभुले त्यसलाई निको पार्नुहुनेछ, र यदि त्यसले पाप गरेको छ भने त्यसलाई क्षमा हुनेछ।
16यसकारण तिमीहरू एकले-अर्कासँग आ-आफ्ना पाप स्वीकार गर। तिमीहरू निको हुनलाई एउटाले अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसको प्रार्थना शक्तिशाली र प्रभावशाली हुन्छ।
17एलिया पनि त हामीहरूको जस्तै स्वभाव भएका मानिस थिए। तिनले पानी नपरोस् भनेर भक्तिसाथ प्रार्थना गरेका थिए, र तीन वर्ष छ महिनासम्म पृथ्वीमा पानी परेन।
18तिनले फेरि प्रार्थना गरे, र आकाशबाट वर्षा भयो, र भूमिले उब्जनी दियो।
19मेरा भाइ हो, यदि तिमीहरूमध्ये कोही सत्यबाट बरालिएर जाँदा कसैले त्यसलाई फर्काएर ल्यायो भने,
20त्यसले जानोस् कि जसले एक जना पापीलाई त्यसको कुमार्गबाट फर्काएर ल्याउँछ, त्यसलाई मृत्युबाट बचाउनेछ, र असंख्य पापलाई ढाक्नेछ।