यूहन्‍ना 11:1-57 NNRV2012 - Bible AI

1लाजरस नामको एक जना मानिस बिरामी भएका थिए। तिनी मरियम र उनकी दिदी मार्थाको गाउँ बेथानियाका थिए।

2प्रभुलाई अत्तर लाइदिएर उहाँका पाउ आफ्‍नो कपालले पुछिदिने मरियम यी नै थिइन्‌। यिनकै भाइ लाजरस बिरामी थिए।

3यी दुई दिदीहरूले येशूकहाँ यसो भनी समाचार पठाए, “प्रभु, जसलाई तपाईं माया गर्नुहुन्‍छ, तिनी बिरामी छन्‌।”

4तर यो सुनेर येशूले भन्‍नुभयो, “यस बिरामीले मृत्‍युमा पुर्‍याउँदैन, तर यो परमेश्‍वरको महिमाको निम्‍ति हो, ताकि यसद्वारा परमेश्‍वरका पुत्रको महिमा होस्‌।”

5येशूले मार्था, तिनकी बहिनी र लाजरसलाई माया गर्नुहुन्‍थ्‍यो,

6तापनि लाजरस बिरामी छन्‌ भन्‍ने सुनेर उहाँ जहाँ हुनुहुन्‍थ्‍यो, अझ दुई दिन त्‍यहीँ बस्‍नुभयो।

7त्‍यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो, “लौ, अब हामी फेरि यहूदिया फर्केर जाऔं।”

8चेलाहरूले उहाँलाई भने, “रब्‍बी, भर्खरै मात्र यहूदीहरूले तपाईंलाई ढुङ्गाले हान्‍न खोजेथे, र के फेरि तपाईं त्‍यहीँ जानुहुन्‍छ?”

9येशूले जवाफ दिनुभयो, “के दिनमा बाह्र घण्‍टा हुँदैनन्‌ र? दिनमा हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍दैन, किनभने तिनले यस संसारको ज्‍योति देख्‍तछन्,

10तर राती हिँड्‌डुल गर्नेलाई ठेस लाग्‍छ, किनभने त्‍यस मान्‍छेमा उज्‍यालो हुँदैन।”

11त्‍यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हाम्रा मित्र लाजरस निद्रामा परेका छन्, तर तिनलाई निद्राबाट बिउँझाउन म त्‍यहाँ जान्‍छु।”

12चेलाहरूले उहाँलाई भने, “प्रभु, तिनी निद्रामा परेका छन्‌ भने तिनी निको हुनेछन्‌।”

13येशूले तिनको मृत्‍युको विषयमा भन्‍नुभएको थियो, तर तिनीहरूले चाहिँ स्‍वाभाविक निद्राको विषयमा भन्‍नुभएको हो भन्‍ठाने।

14येशूले तिनीहरूलाई स्‍पष्‍ट भनिदिनुभयो, “लाजरस मरेका छन्‌।

15तिमीहरूले विश्‍वास गर भनेर तिमीहरूका खातिर म त्‍यहाँ नभएकोमा खुसी छु। जे भए तापनि हामी तिनीकहाँ जाऔं।”

16तब दिदुमस भनिने थोमाले आफ्‍ना सङ्गी-चेलाहरूलाई भने, “लौ, हामी पनि जाऔं, र उहाँसँगै मरौं।”

17जब येशू आइपुग्‍नुभयो, तब लाजरसलाई चिहानमा राखेको चार दिन भइसकेको थाहा पाउनुभयो।

18बेथानिया यरूशलेमदेखि नजिकै प्राय: तीन किलोमिटरको दूरीमा थियो।

19धेरै यहूदीहरू मार्था र मरियमकहाँ तिनका भाइको विषयमा तिनीहरूलाई सान्‍त्‍वना दिन आएका थिए।

20येशू आइरहनुभएको छ भन्‍ने सुनेर मार्था गइन्‌ र उहाँलाई भेटिन्‌। तर मरियम घरैमा बसिरहिन्‌।

21तब मार्थाले येशूलाई भनिन्, “प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।

22तर अब पनि म जान्‍दछु, तपाईंले परमेश्‍वरसँग जे माग्‍नुहुन्‍छ, परमेश्‍वरले तपाईंलाई दिनुहुनेछ।”

23येशूले तिनलाई भन्‍नुभयो, “तिम्रो भाइ फेरि जीवित हुनेछ।”

24मार्थाले उहाँलाई भनिन्, “म जान्‍दछु, कि त्‍यो अन्‍त्‍यका दिनको पुनरुत्‍थानमा फेरि जीवित भई उठ्‌नेछ।”

25येशूले तिनलाई भन्‍नुभयो, “पुनरुत्‍थान र जीवन म नै हुँ। मलाई विश्‍वास गर्ने मर्‍यो भने पनि जीवित हुनेछ।

26अनि जिउने र ममाथि विश्‍वास गर्ने प्रत्‍येक कहिल्‍यै मर्नेछैन। के तिमी यो विश्‍वास गर्‍छ्यौ?”

27तिनले उहाँलाई भनिन्, “हो प्रभु, म विश्‍वास गर्दछु, तपाईं संसारमा आउनुहुने ख्रीष्‍ट, परमेश्‍वरका पुत्र हुनुहुन्‍छ।”

28यति भनेर तिनी गइहालिन्, र आफ्‍नी बहिनी मरियमलाई बोलाएर सुटुक्‍क भनिन्, “गुरुज्‍यू आइपुग्‍नुभयो, र तिमीलाई बोलाउँदैहुनुहुन्‍छ।”

29यो सुनेर मरियम झट्टै उठेर उहाँकहाँ गइन्‌।

30त्‍यस बेलासम्‍म येशू गाउँमा आइपुग्‍नुभएको थिएन, तर उहाँ त्‍यही ठाउँमा हुनुहुन्‍थ्‍यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्‌।

31घरमा तिनलाई सान्‍त्‍वना दिन आएका यहूदीहरूले मरियम झट्टै उठेर बाहिर गएकी देखेर, तिनी त्‍यो चिहानमा रुन गएकी हुन्‌ भन्‍ठानेर, तिनको पछि लागे।

32जब मरियम येशू हुनुभएको ठाउँमा आइन्‌ र उहाँलाई देखिन्, तब यसो भन्‍दै तिनी उहाँका पाउमा परिन्, “हे प्रभु, तपाईं यहाँ हुनुहुँदो हो त मेरो भाइ मर्नेथिएन।”

33जब येशूले तिनलाई रोइरहेकी र तिनीसँग आउने यहूदीहरू पनि रोइरहेका देख्‍नुभयो, तब उहाँ आत्‍मामा ज्‍यादै व्‍याकुल हुनुभयो अनि अति दुःखित हुनुभयो।

34उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूले तिनलाई कहाँ राखेका छौ?”

34तिनीहरूले उहाँलाई भने, “प्रभु, आएर हेर्नुहोस्‌।”

35येशू रुनुभयो।

36यसकारण यहूदीहरूले भने, “हेर, उहाँले तिनलाई कति माया गर्नुहुन्‍थ्‍यो।”

37तर कुनै-कुनैले भने, “के अन्‍धाका आँखा खोलिदिने यिनले यस मानिसलाई पनि मर्नदेखि बचाउन सक्‍नेथिएनन्‌ र?”

38तब येशू फेरि ज्‍यादै व्‍याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्‍यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो।

39येशूले भन्‍नुभयो, “ढुङ्गो हटाओ।”

39मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्‍म त त्‍यो गन्‍हाउन लागिसक्‍यो होला, किनकि त्‍यो मरेको चार दिन भइसक्‍यो।”

40येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्‍वास गर्‍यौ भने परमेश्‍वरको महिमा देख्‍नेछौ’?”

41तिनीहरूले ढुङ्गो हटाए। अनि येशूले मास्‍तिर नजर उठाएर भन्‍नुभयो, “हे पिता, म तपाईंलाई धन्‍यवाद दिन्‍छु, किनकि तपाईंले मेरो बिन्‍ती सुन्‍नुभयो।

42मलाई थाहा छ, कि तपाईंले मेरो बिन्‍ती सधैँ सुन्‍नुहुन्‍छ। तर यहाँ उभिएका भीड़को खातिर मैले यो भनेको हुँ, ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्‍वास गरून्‌।”

43अनि यो कुरा भन्‍नुभएपछि उहाँ उच्‍च सोरले कराउनुभयो, “लाजरस, बाहिर निस्‍की आऊ।”

44त्‍यो मृत मानिस त्‍यसको हात-खुट्टा पट्टीले बाँधिएकै र अनुहार लुगाले बेह्रिएकैमा बाहिर निस्‍की आयो। येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्‍यसको बन्‍धन खोलिदेओ, र त्‍यसलाई जान देओ।”

45मरियमकहाँ आएका धेरै यहूदीहरूले येशूले गर्नुभएको काम देखेर उहाँमाथि विश्‍वास गरे।

46तर तिनीहरूमध्‍ये कोहीचाहिँ फरिसीहरूकहाँ गए, र येशूले गर्नुभएका कामहरू बताइदिए।

47तब मुख्‍य पूजाहारीहरू र फरिसीहरूले महासभाका सदस्‍यहरूलाई बोलाए र तिनलाई भने, “अब हामी के गरौं? किनभने यस मानिसले त धेरै चिन्‍हहरू गरिरहेछ।

48यसलाई यसै छोडिदियौं भने सबैले यसमाथि विश्‍वास गर्नेछन्‌ र रोमीहरूले आएर हाम्रो पवित्रस्‍थान र हाम्रो जाति दुवैलाई नष्‍ट पार्नेछन्‌।”

49तर तिनीहरूमध्‍ये एक जना, कैयाफा, जो त्‍यस वर्षका प्रधान पूजाहारी थिए, उनले तिनीहरूलाई भने, “तिमीहरू केही पनि जान्‍दैनौ!

50समस्‍त राष्‍ट्र नष्‍ट हुनुभन्‍दा बरु जनताको निम्‍ति एक जना मानिस मर्नुमा नै तिमीहरूको कल्‍याण छ भनी तिमीहरू बुझ्‍दैनौ।”

51यो तिनले आफ्‍नै तर्फबाट भनेका थिएनन्, तर त्‍यस वर्षका प्रधान पूजाहारी भएका हुनाले राष्‍ट्रको निम्‍ति येशू मर्नुपर्छ भन्‍ने अगमवाणी बोलेका हुन्‌।

52राष्‍ट्रको निम्‍ति मात्र तिनले यो भनेका थिएनन्, तर छरपष्‍ट भएका परमेश्‍वरका सन्‍तानलाई एकसाथ जम्‍मा गर्नलाई यो भनिएको थियो।

53यसैले त्‍यस दिनदेखि तिनीहरूले उहाँलाई मार्ने मतो गरे।

54यसैकारण येशू फेरि यहूदीहरूका बीचमा खुल्‍लमखुल्‍ला हिँड्‌डुल गर्नुभएन, तर त्‍यहाँबाट उजाड-स्‍थानको नजिकमा रहेको एफ्राइम भन्‍ने सहरमा जानुभयो, र त्‍यहाँ चेलाहरूसँग बस्‍नुभयो।

55यहूदीहरूको निस्‍तार-चाड नजिकै थियो, र गाउँ-गाउँबाट धेरै जना आफू-आफूलाई शुद्ध पार्न भनी निस्‍तार-चाड़को आरम्‍भ हुन अघि यरूशलेममा गए।

56तब तिनीहरूले येशूलाई खोजे, अनि तिनीहरू मन्‍दिरमा खड़ा हुँदा आपसमा भन्‍न लागे, “तिमीहरूलाई कस्‍तो लाग्‍छ, के उनी चाड़मा आउलान्‌?”

57मुख्‍य पूजाहारीहरू र फरिसीहरूले चाहिँ येशूलाई पक्रन उहाँ कहाँ हुनुहुन्‍छ भनी कसैले थाहा पाए खबर गर्नू भन्‍ने आज्ञा दिएका थिए।