1“साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्छ।
2ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाँट्नुहुन्छ र फल फलाउने हरेक हाँगालाई झन् बढ़ी फल फलोस् भनी उहाँले छिँवल्नुहुन्छ।
3मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
4ममा रहो, र म तिमीहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्दैनौ।
5“दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्यसमा रहें भने, त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ।
6कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिन्छन्, र ती जलिहाल्छन्।
7तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्छा लाग्छ माग, र त्यो तिमीहरूका निम्ति गरिनेछ।
8तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।
9“पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।
10यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्छु।
11मैले यी कुरा तिमीहरूलाई यसैकारण भनेको छु, कि मेरो आनन्द तिमीहरूमा होस्, र तिमीहरूको आनन्द भरिपूर्ण होस्।
12“मेरो आज्ञा यही हो, कि मैले तिमीहरूलाई जसरी प्रेम गरें, तिमीहरूले एक-अर्कालाई त्यसरी नै प्रेम गर।ⓕ
13आफ्ना मित्रहरूका लागि आफ्नो प्राण अर्पण गरिदिनुभन्दा ठूलो प्रेम अरू कसैको हुँदैन।
14म तिमीहरूलाई जे आज्ञा गर्दछु, ती तिमीहरूले गर्यौ भने, तिमीहरू मेरा मित्र हौ।
15अबदेखि म तिमीहरूलाई नोकर भन्दिनँ, किनकि त्यसका मालिकले के गर्दछ नोकरले जान्दैन। तर मैले तिमीहरूलाई मित्र भनेको छु, किनभने जे मैले मेरा पिताबाट सुनें, मैले ती सबै तिमीहरूलाई जनाइदिएको छु।
16मलाई तिमीहरूले चुनेनौ, तर मैले तिमीहरूलाई चुनें र तिमीहरूलाई नियुक्त गरें, कि तिमीहरू जाओ, र फल फलाओ, अनि तिमीहरूको फल रहिरहोस्। यसैले तिमीहरूले पितासँग मेरो नाउँमा जे मागौला, उहाँले तिमीहरूलाई सो दिनुहुनेछ।
17म तिमीहरूलाई यो आज्ञा दिँदछु, कि तिमीहरूले एक-अर्कालाई प्रेम गर।
18“यदि संसारले तिमीहरूलाई घृणा गर्दछ भने, तिमीहरू जान, कि तिमीहरूलाई घृणा गर्न अघि त्यसले मलाई घृणा गरेको हो।
19यदि तिमीहरू यस संसारका हुँदा हौ त संसारले तिमीहरूलाई आफन्त ठानी माया गर्नेथियो। तर तिमीहरू यस संसारका होइनौ। तिमीहरूलाई संसारबाट मैले चुनें, यसैकारण संसारले तिमीहरूलाई घृणा गर्दछ।
20मैले तिमीहरूलाई भनेको वचन याद राख, ‘नोकर घरको मालिकभन्दा ठूलो हुँदैन।’ तिनीहरूले मलाई सताए भने तिमीहरूलाई पनि सताउनेछन्। तिनीहरूले मेरो वचन पालन गरे भने तिमीहरूको वचन पनि पालन गर्नेछन्।ⓖ
21तर तिनीहरूले यी सब कुरा मेरो नाउँको खातिर तिमीहरूलाई गर्नेछन्, किनभने तिनीहरूले मलाई पठाउनुहुनेलाई चिन्दैनन्।
22म नआएको भए र तिनीहरूलाई नबताएको भए तिनीहरू पापको दोषी हुनेथिएनन्, तर अब त आफ्ना पापको निम्ति तिनीहरूसँग केही बहाना छैन।
23जसले मलाई घृणा गर्दछ, त्यसले मेरा पितालाई पनि घृणा गर्दछ।
24यदि अरू कसैले नगरेको काम मैले तिनीहरूका बीचमा नगरेको भए तिनीहरू पापको दोषी हुनेथिएनन्। तर अब तिनीहरूले मलाई र मेरा पिता दुवैलाई देखेका छन् र घृणा गरेका छन्।
25तर, व्यवस्थामा लेखिएको यो वचन पूरा हुनलाई यो भएको थियो, ‘तिनीहरूले मलाई विनाकारण घृणा गरे।’ⓗ
26“जब सल्लाहकार आउनुहुन्छ, जसलाई म पिताको तर्फबाट तिमीहरूकहाँ पठाइदिनेछु, अर्थात् सत्यका आत्मा, जो पिताबाट आउनुहुन्छ, उहाँले नै मेरो विषयमा गवाही दिनुहुनेछ।
27तिमीहरू सुरुदेखि नै मेरो साथ रहेका हुनाले, तिमीहरू पनि मेरा साक्षी हौ।”