1यी कुरा भनिसक्नुभएपछि येशूले स्वर्गतिर आँखा उचाली भन्नुभयो, “हे पिता, समय आइपुगेको छ, तपाईंका पुत्रको महिमा प्रकट गर्नुहोस्, र पुत्रले तपाईंको महिमा प्रकट गरोस्।
2किनकि तपाईंले उसलाई सबै मानिसमाथि अधिकार दिनुभएको छ, ताकि तपाईंले उसलाई दिनुभएका सबैलाई उसले अनन्त जीवन देओस्।
3अब अनन्त जीवन यही हो, कि तिनीहरूले तपाईं, एकमात्र सत्य परमेश्वरलाई चिनून्, र तपाईंले पठाउनुभएको येशू ख्रीष्टलाई चिनून्।
4जुन काम तपाईंले मलाई दिनुभयो, त्यो पूरा गरी तपाईंलाई पृथ्वीमा मैले महिमित तुल्याएको छु।
5अब हे पिता, संसारको सृष्टि हुन अघि तपाईंको सम्मुख मेरो जुन महिमा थियो, त्यसैले आफ्नो उपस्थितिमा मलाई महिमित पार्नुहोस्।
6“संसारबाट जुन मानिसहरू तपाईंले मलाई दिनुभयो, तिनीहरूलाई तपाईंको नाउँ मैले प्रकट गरिदिएको छु। तिनीहरू तपाईंका थिए, अनि तपाईंले तिनीहरू मलाई दिनुभयो, र तिनीहरूले तपाईंको वचन पालन गरेका छन्।
7तिनीहरूलाई अब थाहा छ, कि तपाईंले मलाई दिनुभएको प्रत्येक कुरा तपाईंबाट आएको हो।
8किनभने जुन वाणी तपाईंले मलाई दिनुभयो, मैले तिनीहरूलाई दिएको छु, र तिनीहरूले ती ग्रहण गरेका छन्। म तपाईंबाट आएको हुँ भन्ने तिनीहरूले साँच्चै जानेका छन्, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरेका छन्।
9म तिनीहरूका निम्ति प्रार्थना गर्दछु, संसारको निम्ति म प्रार्थना गर्दिनँ, तर तिनीहरूका निम्ति, जसलाई तपाईंले मलाई दिनुभएको छ। किनभने तिनीहरू तपाईंकै हुन्।
10मेरा सबै जे छन् तपाईंका हुन्, र तपाईंका जे छन् मेरा हुन्। मेरो महिमा तिनीहरूमा प्रकट भएको छ।
11“म फेरि संसारमा रहँदिनँ, तर यिनीहरू त संसारमा रहन्छन्। मचाहिँ तपाईंकहाँ आइरहेछु। पवित्र पिता, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राख्नुहोस्, र हामी जस्तै तिनीहरू पनि एक होऊन्।
12जबसम्म म तिनीहरूसँग थिएँ, तपाईंले मलाई दिनुभएको तपाईंको नाउँमा तिनीहरूलाई सुरक्षित राखें। तिनीहरूको रक्षा गरें। अनि तिनीहरूमध्ये विनाशको छोराबाहेक अरू कोही नष्ट भएन, किनकि धर्मशास्त्र पूरा हुन आवश्यक थियो।ⓘ
13“तर अब म तपाईंकहाँ आइरहेछु। संसारमा हुँदा यी कुरा म बोल्दछु, कि तिनीहरूमा मेरो आनन्द पूरा होस्।
14मैले तिनीहरूलाई तपाईंको वचन दिएँ, तर संसारले तिनीहरूलाई घृणा गर्यो, किनकि तिनीहरू संसारका होइनन्, जसरी म संसारको होइनँ।
15तपाईंले तिनीहरूलाई संसारबाट लैजानुहोस् भनी म प्रार्थना गर्दिनँ, तर तिनीहरूलाई दुष्टबाट सुरक्षित राखिदिनुहोस्।
16तिनीहरू संसारका होइनन्, जस्तो म पनि संसारको होइनँ।
17तिनीहरूलाई सत्यमा पवित्र पारिदिनुहोस्, तपाईंको वचन सत्य हो।
18जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु।
19तिनीहरूका खातिर म आफैलाई पवित्र पार्दछु, ताकि तिनीहरू पनि सत्यतामा पवित्र होऊन्।
20“म यिनीहरूका निम्ति मात्र प्रार्थना गर्दिनँ, तर यिनीहरूका सन्देशद्वारा ममाथि विश्वास गर्नेहरूका निम्ति पनि प्रार्थना गर्छु,
21कि तिनीहरू सबै एक होऊन्। हे पिता, जसरी तपाईं ममा हुनुहुन्छ, र म तपाईंमा, त्यसरी तिनीहरू पनि हामीमा होऊन्, र तपाईंले मलाई पठाउनुभयो भनी संसारले विश्वास गरोस्।
22जुन महिमा तपाईंले मलाई दिनुभएको छ, मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन्।
23म तिनीहरूमा, अनि तपाईं ममा, र तिनीहरू पूर्ण रूपले एक होऊन्, र तपाईंले मलाई पठाउनुभएको हो, अनि मलाई प्रेम गर्नुभएजस्तो तपाईंले तिनीहरूलाई पनि प्रेम गर्नुभयो भनी संसारले जानोस्।
24“पिता, म इच्छा गर्दछु, कि तपाईंले मलाई दिनुभएकाहरू म जहाँ छु मसँग रहून्, र मेरो महिमा देखून्, जुन महिमा, संसारको सृष्टि हुन अघि देखि नै मलाई प्रेम गर्नुभएको हुनाले तपाईंले मलाई दिनुभएको थियो।
25“धार्मिक पिता, संसारले तपाईंलाई चिन्दैन, तर म तपाईंलाई चिन्दछु, अनि तपाईंले मलाई पठाउनुभएको हो भनी यिनीहरूले जान्दछन्।
26मैले तपाईंको नाउँ यिनीहरूमा प्रकट गरें, अनि तपाईंको नाउँ यिनीहरूमा प्रकट गराइरहनेछु, ताकि जुन प्रेमले मलाई तपाईंले प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस्, र म तिनीहरूमा रहूँ।”