यूहन्‍ना 9:1-41 NNRV2012 - Bible AI

1त्‍यहाँबाट जाँदैगर्दा येशूले एक जना जन्‍मैको अन्‍धालाई देख्‍नुभयो।

2उहाँका चेलाहरूले उहाँलाई सोधे, “रब्‍बी, कसले पाप गर्‍यो, यसले कि यसका आमा-बुबाले, र यो अन्‍धो जन्‍म्‍यो?”

3येशूले जवाफ दिनुभयो, “न त यसले पाप गर्‍यो न यसका आमा-बुबाले, तर यो यस हेतुले भयो कि परमेश्‍वरको काम यस मानिसको जीवनमा प्रकट होस्‌।

4मलाई पठाउनुहुनेका कामहरू हामीले दिन छँदै गर्नुपर्छ। रात आउँछ, जब कसैले काम गर्न सक्‍दैन।

5म संसारमा रहुञ्‍जेल म संसारको ज्‍योति हुँ।”

6यी कुरा भनेर उहाँले भूइँमा थुक्‍नुभयो, र थूकले माटो मुछेर लेप बनाई त्‍यसका आँखामा लगाइदिनुभयो।

7अनि उहाँले त्‍यसलाई भन्‍नुभयो, “जाऊ, सिलोआमको (जसको अर्थ हो, पठाइएको) तलाउमा गएर पखाल।” त्‍यसले गएर पखाल्‍यो, र देख्‍ने भएर फर्क्‍यो।

8त्‍यसका छिमेकीहरू र त्‍यसलाई भीख मागेको देख्‍नेहरूले भने, “बसेर भीख माग्‍ने मान्‍छे के यही होइन?”

9कसै-कसैले भने, “यो त्‍यही हो।” अरूले भने, “होइन, यो त्‍यहीजस्‍तो देखिन्‍छ।” त्‍यसले भन्‍यो, “म त्‍यही हुँ।”

10तब तिनीहरूले त्‍यसलाई सोधे, “तेरा आँखा कसरी खोलिए त?”

11त्‍यसले जवाफ दियो, “येशू भन्‍ने एक जना मानिसले माटोको लेप बनाएर मेरा आँखामा लगाइदिएर मलाई भन्‍नुभयो, ‘सिलोआममा जाऊ र पखाल।’ तब गएर मैले पखालें, र म देख्‍ने भएँ।”

12तिनीहरूले त्‍यसलाई भने, “तिनी कहाँ छन्‌ त?” त्‍यसले भन्‍यो, “म जान्‍दिनँ।”

13अघि अन्‍धो हुने त्‍यस मान्‍छेलाई तिनीहरूले फरिसीहरूकहाँ ल्‍याए।

14जुन दिन येशूले माटोको लेप बनाएर त्‍यसका आँखा खोलिदिनुभएको थियो त्‍यो शबाथ-दिन थियो।

15फरिसीहरूले त्‍यसलाई सोधे, “तँ कसरी देख्‍ने भइस्‌?” त्‍यसले तिनीहरूलाई भन्‍यो, “उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनुभयो, अनि मैले पखालें र देख्‍ने भएँ।”

16फरिसीहरूमध्‍ये कुनै-कुनैले भने, “त्‍यो मानिस परमेश्‍वरबाट आएको होइन, किनकि त्‍यसले शबाथ-दिन पालन गर्दैन।” तर अरूहरूले भने, “कसरी पापी मानिसले यस्‍ता चिन्‍हहरू गर्न सक्‍तछ?” र तिनीहरूका बीचमा फाटो हुन गयो।

17तिनीहरूले त्‍यस अन्‍धालाई फेरि सोधे, “उसले तेरा आँखा खोलिदिएछ, अब उसको विषयमा तँ के भन्‍छस्‌?” त्‍यसले जवाफ दियो, “उहाँ अगमवक्ता हुनुहुन्‍छ।”

18दृष्‍टि पाउने मानिसका आमा-बाबुलाई बोलाएर नसोधुञ्‍जेल यहूदीहरूले त्‍यो अन्‍धो थियो र देख्‍ने भयो भनेर विश्‍वास गरेनन्‌।

19तब तिनीहरूले उनीहरूलाई सोधे, “के यो तिमीहरूको छोरो हो जो अन्‍धो जन्‍मेको थियो भनी तिमीहरू भन्‍छौ? त अब कसरी त्‍यो देख्‍न सक्‍ने भयो?”

20त्‍यसका आमा-बुबाले तिनीहरूलाई भने, “हामी जान्‍दछौ यो हाम्रो छोरो हो, र अन्‍धो जन्‍मेको थियो।

21तर अब यो कसरी देख्‍ने भयो हामी जान्‍दैनौं, अथवा यसका आँखा कसले खोलिदिए त्‍यो पनि हामी जान्‍दैनौं। यसको उमेर पुगेको छ, यसैलाई सोध्‍नुहोस्‌। आफ्‍नो विषयमा त्‍यो आफै बोल्‍नेछ।”

22त्‍यसका आमा-बुबाले यी कुरा भने, किनकि उनीहरू यहूदीहरूदेखि डराउँथे। किनभने कसैले उहाँलाई ख्रीष्‍ट भनी स्‍वीकार गर्‍यो भने, त्‍यसलाई सभाघरबाट निकाल्‍नुपर्छ भनी यहूदीहरू अघि नै सहमत भएका थिए।

23यसैकारण त्‍यसका आमा-बुबाले भने, “यसको उमेर पुगेको छ, यसैलाई सोध्‍नुहोस्‌।”

24तब तिनीहरूले त्‍यस अन्‍धो मानिसलाई दोस्रो पल्‍ट बोलाएर भने, “परमेश्‍वरलाई महिमा दे। हामी जान्‍दछौं यो मान्‍छे पापी हो।”

25त्‍यसले जवाफ दियो, “उहाँ पापी हुनुहुन्‍छ कि हुनुहुन्‍न, म जान्‍दिनँ। एउटै कुरा मात्र म जान्‍दछु कि म अन्‍धो थिएँ, तर अब देख्‍दछु।”

26तब तिनीहरूले त्‍यसलाई भने, “उसले तँलाई के गर्‍यो? उसले तेरा आँखा कसरी खोलिदियो?”

27त्‍यसले तिनीहरूलाई जवाफ दियो, “मैले तपाईंहरूलाई अघि नै भनिसकें, तर तपाईंहरूले सुन्‍नुभएन। अब फेरि किन सुन्‍न चाहनुहुन्‍छ? तपाईंहरू पनि उहाँका चेला हुन चाहनुहुन्‍छ कि कसो?”

28तिनीहरूले त्‍यसलाई गाली गर्दै भने, “तँ पो उसको चेला होस्, तर हामी त मोशाका चेला हौं।

29हामीलाई थाहा छ मोशासँग परमेश्‍वरले बोल्‍नुभएको थियो, तर हामीलाई थाहा छैन यो मानिसचाहिँ कहाँको हो।”

30त्‍यस मानिसले जवाफ दिई तिनीहरूलाई भन्‍यो, “कस्‍तो विचित्र कुरो! उहाँ कहाँबाट आउनुभएको हो तपाईंहरू जान्‍नुहुन्‍न, तर मेरा आँखा उहाँले खोलिदिनुभयो।

31हामी जान्‍दछौ कि परमेश्‍वर पापीहरूका कुरा सुन्‍नुहुन्‍न, तर परमेश्‍वरको भय मान्‍ने र उहाँको इच्‍छा पालन गर्ने व्‍यक्तिको कुरा परमेश्‍वरले सुन्‍नुहुन्‍छ।

32संसार सुरु भएदेखि यसो जन्‍मैको अन्‍धाका आँखा कसैले खोलिदिएको कुरा कहिल्‍यै सुनिएन।

33यदि यी मानिस परमेश्‍वरबाट नआउनुभएको भए उहाँले केही गर्न सक्‍नुहुनेथिएन।”

34तिनीहरूले त्‍यसलाई जवाफ दिई भने, “तँ त बिलकुलै पापमा जन्‍मेको थिइस्, र के अब तँ हामीलाई सिकाउन चाहन्‍छस्‌?” अनि तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए।

35तिनीहरूले त्‍यसलाई बाहिर निकालिदिए भन्‍ने येशूले सुन्‍नुभयो, र त्‍यसलाई भेट्टाएर भन्‍नुभयो, “के तिमी मानिसको पुत्रमाथि विश्‍वास गर्दछौ?”

36त्‍यसले जवाफ दिई भन्‍यो, “प्रभु, उहाँ को हुनुहुन्‍छ? म उहाँमाथि विश्‍वास गर्नेछु?”

37येशूले त्‍यसलाई भन्‍नुभयो, “तिमीले उसलाई देखेका छौ, अनि तिमीसँग बोल्‍ने उही नै हो।”

38तब त्‍यसले भन्‍यो, “प्रभु, म विश्‍वास गर्दछु”, र त्‍यसले उहाँलाई दण्‍डवत्‌ गर्‍यो।

39अनि येशूले भन्‍नुभयो, “म न्‍यायको लागि यस संसारमा आएँ, कि नदेख्‍नेहरूले देखून्‌ र देख्‍नेहरूचाहिँ अन्‍धा होऊन्‌।”

40यी कुरा सुनेर उहाँका नजिकै हुने फरिसीहरूमध्‍ये कुनै-कुनैले उहाँलाई भने, “के हामी पनि अन्‍धा हौं त?”

41येशूले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू अन्‍धा भए ता पापको दोषी हुनेथिएनौ, तर तिमीहरू ‘हामी देख्‍छौं’ भन्‍दछौ, यसकारण तिमीहरूको पाप रहिरहन्‍छ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
/div>