योएल 2:1-32 NNRV2012 - Bible AI

1सियोनमा तुरही फुक, मेरो पवित्र डाँड़ामा चेताउनी ध्‍वनि बजाओ। देशमा बस्‍नेहरू सबै थरथर कामून्, किनकि परमप्रभुको दिन आउँदैछ, त्‍यो नजिकै छ,

2अन्‍धकार र उदासी दिन, बादल र बाक्‍लो अँध्‍यारोले ढाकेको दिन। पर्वतहरूमा प्रभात फैलिएझैँ एक ठूलो र शक्तिशाली सेना आउँछ। त्‍यस्‍तो अघि कहिल्‍यै भएको थिएन, न त फेरि पुस्‍ता-पुस्‍तासम्‍म कहिल्‍यै हुनेछ।

3तिनीहरूका अगिअगि आगोले भस्‍म पार्छ र तिनीहरूका पछिपछि आगोको ज्‍वाला दन्‍कन्‍छ। तिनीहरूका सामुन्‍ने भूमि अदनको बगैँचाजस्‍तो छ, तिनीहरूका पछि उजाड़ मरुभूमिजस्‍तो छ। तिनीहरूदेखि केही पनि उम्‍कनेछैन।

4तिनीहरूको अनुहार घोड़ाहरूको जस्‍तै छ। तिनीहरू युद्धका घोड़चढ़ीहरूझैँ कुद्‌छन्‌।

5रथहरू कुदेको आवाजझैँ पहाड़का टाकुरामा ती कुद्‌छन्, झिँजामिजाहरूलाई भस्‍म गर्ने आगोका ज्‍वालाको आवाजझैँ, लड़ाइँको निम्‍ति पङ्‌क्ति बाँधेको बलियो सेनाझैँ।

6तिनीहरूलाई देख्‍दा जाति-जातिहरू शोकित हुन्‍छन्, हरेक अनुहार पहेँलो हुन्‍छ।

7तिनीहरूले वीर योद्धाहरूले झैँ आक्रमण गर्छन्, तिनीहरू सिपाहीहरूझैँ पर्खाल चढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारीकन प्रत्‍येक एउटै पङ्‌क्तिमा हिँड्‌छन्‌।

8तिनीहरू एउटाले अर्कालाई धक्‍का दिँदै हिँड्‌दैनन्, प्रत्‍येक आफ्‍ना-आफ्‍नै पङ्‌क्तिमा सीधा अगि बढ्‌छन्‌। तिनीहरू आफ्‍ना पङ्‌क्ति नबिगारी शत्रुका रक्षकहरूभित्र पस्‍छन्‌।

9तिनीहरू सहरलाई आक्रमण गर्छन्, र पर्खालमाथि-माथि कुद्‌छन्‌। तिनीहरू घरका झ्‍यालहरूमा चोरहरूझैँ प्रवेश गर्छन्‌।

10पृथ्‍वी तिनीहरूका सामुन्‍ने काम्‍छ, आकाश थरथराउँछ। सूर्य र चन्‍द्र अँध्‍यारा हुन्‍छन्‌ र ताराहरूले आफ्‍नो चमक दिँदैनन्‌।

11परमप्रभु आफ्‍नो सेनाको अगि गर्जनुहुन्‍छ। उहाँको फौज अनगन्‍ती छ, र उहाँको हुकुम पालन गर्नेहरू शक्तिशाली छन्‌। परमप्रभुको दिन महान्‌ र साह्रै डरलाग्‍दो छ। त्‍यो कसले सहन सक्‍छ र?

12परमप्रभु घोषणा गर्नुहुन्‍छ, “अहिले पनि तिमीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले, उपवास बसेर, रुँदै र शोक गर्दै मतिर फर्क।”

13आफ्‍नो लुगा होइन, तर आफ्‍नो हृदय फटाएर परमप्रभु तिमीहरूका परमेश्‍वरतिर फर्क, किनकि उहाँ अनुग्रहकारी, दयामा भरपूर, रीस गर्नमा ढीला र प्रेममा भरिपूर्ण हुनुहुन्‍छ, र विपत्ति ल्‍याउनुहुँदा उहाँ दु:खित हुनुहुन्‍छ।

14कसले जान्‍दछ, कतै दु:खित भएर उहाँले आफ्‍नो मन बदली आशिष्‌ दिनुहुन्‍छ— परमप्रभु तिमीहरूका परमेश्‍वरको निम्‍ति तिमीहरूले चढ़ाउने अन्‍नबलि र अर्घ-बलिहरू।

15सियोनमा तुरही फुक, पवित्र उपवासको घोषणा गर, पवित्र सभा बोलाओ।

16मानिसहरूलाई भेला गर, सभालाई अर्पण गर, धर्म-गुरुहरूलाई जम्‍मा गर, नानीहरू र दूधे-बालकहरूलाई बटुल। दुलहा आफ्‍नो कोठाबाट र दुलही आफ्‍नो भित्री कोठाबाट निस्‍कून्‌।

17परमप्रभुको अगि सेवा गर्ने पूजाहारीहरू मन्‍दिरको दलान र वेदीका बीचमा रोऊन्‌। तिनीहरूले भनून्, “हे परमप्रभु, आफ्‍नो प्रजालाई बाँकी राख्‍नुहोस्‌। आफ्‍नो उत्तराधिकारीलाई गिल्‍लाको पात्र हुन, र जाति-जातिहरूका बीचमा हेलाको शब्‍द हुन नदिनुहोस्‌। ‘तिनीहरूका परमेश्‍वर कहाँ छन्‌ त?’ भनी अन्‍यजातिहरूले किन भन्‍न पाऊन्‌?”

18तब परमप्रभु आफ्‍नो देशको निम्‍ति डाही हुनुहुनेछ र उहाँले आफ्‍नो प्रजालाई टिठ्याउनुहुनेछ।

19परमप्रभुले आफ्‍नो प्रजालाई यसो भनेर जवाफ दिनुहुनेछ, “म तिमीहरूलाई नयाँ अन्‍न, दाखमद्य र तेल पठाइदिनेछु, र तिमीहरू सम्‍पूर्ण तृप्‍त हुनेछौ। जाति-जातिहरूका बीचमा फेरि कहिल्‍यै म तिमीहरूलाई गिल्‍लाको पात्र हुन दिनेछैनँ।

20“म उत्तरतिरबाट आएको सेनालाई तिमीहरूदेखि टाढ़ा खेदिदिनेछु। म त्‍यसलाई बाँझो र उजाड़ देशमा धपाइदिनेछु। त्‍यसको अगिल्‍लो पङ्‌क्तिलाई पूर्वको समुद्रमा [1] र त्‍यसको पछिल्‍लो पङ्‌क्तिलाई चाहिँ पश्‍चिमको समुद्रमा [2] हटाइदिनेछु, अनि त्‍यसको गन्‍ध, त्‍यसको सड़ेको दुर्गन्‍ध माथि उठ्‌नेछ।” निश्‍चय नै उहाँले ठूला-ठूला काम गर्नुभएको छ।

21ए देश, नडरा, तँ खुशी भएर रमाहट गर्‌। निश्‍चय नै परमप्रभुले ठूला-ठूला कामहरू गर्नुभएको छ।

22ए जङ्गली पशु हो, नडराओ, किनकि खुला खर्कहरू हरिया भइरहेका छन्‌। रूखमा फलहरू फलिरहेछन्, नेभाराका बोट र दाखका बोटले प्रशस्‍त फलहरू दिन्‍छन्‌।

23ए सियोनका मानिस हो, खुशी होओ, परमप्रभु तिमीहरूका परमेश्‍वरमा रमाहट गर, किनकि उहाँले तिमीहरूलाई शरद्‌को वर्षा धार्मिकतामा दिनुभएको छ। उहाँले हामीलाई प्रशस्‍त झरी ल्‍याइदिनुहुन्‍छ— शरद्‌ र बसन्‍त दुवै झरी पहिलेको झैँ पठाइदिनुहुन्‍छ।

24तब खलाहरू अन्‍नले भरिनेछन्, घैलाहरू नयाँ दाखमद्य र तेलले भरेर पोखिनेछन्‌।

25“म तिमीहरूलाई ती वर्षहरूको भर्ना गरिदिनेछु, जो ठूलो सलह, जवान सलह र अरू सलह, अर्थात्‌ मैले तिमीहरूका बीचमा पठाएको मेरो ठूलो सेनाले खाएको थियो।

26तिमीहरू अघाउञ्‍जेल प्रशस्‍त खान पाउनेछौ, र तिमीहरूका निम्‍ति उदेकका काम गर्नुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरका नाउँको प्रशंसा गर्नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लज्‍जित हुनेछैन।

27तब म इस्राएलको बीचमा छु, र म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ, र मबाहेक अरू कोही छैन भनी तिमीहरूले जान्‍नेछौ। मेरो प्रजा फेरि कहिल्‍यै लज्‍जित हुनेछैन।

28“त्‍यसपछि म मेरा आत्‍मा सबै मानिसमाथि खन्‍याउनेछु। तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्‍नेछन्‌। तिमीहरूका बूढ़ा मानिसहरू स्‍वप्‍नदर्शी हुनेछन्, र तिमीहरूका युवकहरूले दर्शन देख्‍नेछन्‌।

29ती दिनमा मेरा सेवकहरू पुरुष र स्‍त्रीहरू दुवैमाथि म आफ्‍ना आत्‍मा खन्‍याउनेछु।

30आकाश र पृथ्‍वीमा म अचम्‍मका कामहरू देखाउनेछु, अर्थात्‌ रगत, आगो र धूवाँका मुस्‍लाहरू।

31परमप्रभुको त्‍यो महान्‌ र भयङ्कर दिन आउनुभन्‍दा अघि सूर्य अँध्‍यारोमा र चन्‍द्र रक्तमा परिवर्तन हुनेछन्‌।

32परमप्रभुको नाउँ लिने हरेकले उद्धार पाउनेछ। किनकि परमप्रभुले भन्‍नुभएअनुसार सियोन पर्वत र यरूशलेममा परमप्रभुले बोलाउनुभएअनुसार बाँचेकाहरूको छुटकारा हुनेछ।”

Scripture Text © Nepal Bible Society 1997, 2006, 2009, 2012
>