1परमप्रभुको यो वचन अमित्तैका छोरा योनाकहाँ आयो:
2“त्यस ठूलो सहर निनवेमा जा, र त्यसको विरुद्धमा प्रचार गर्, किनभने त्यसको दुष्ट्याइँ मेरो सामु आएको छ।”
3तर योना परमप्रभुबाट भागे र तर्शीशतिर लागे। तिनी तल योप्पा सहर गए, र त्यहाँ तिनले तर्शीशमा जाने एउटा जहाज भेट्टाए। परमप्रभुबाट भाग्न तर्शीश जानलाई जहाजमा भाड़ा दिएर तिनी चढ़े।
4तब परमप्रभुले समुद्रमा एउटा ठूलो बतास चलाउनुभयो, र यस्तो प्रचण्ड आँधी चल्यो कि त्यसले जहाजलाई नष्ट गर्लाजस्तै भयो।
5सबै नावीकहरू डराए, र प्रत्येकले आफ्नो देवताको पुकारा गर्यो। अनि तिनीहरूले जहाज हलुङ्गो बनाउनलाई व्यापारका मालहरू समुद्रमा फाले।
6जहाजका कप्तान तिनीकहाँ आएर भने, “कसरी सुत्न सकेको! उठेर तिम्रा परमेश्वरलाई पुकारा। शायद उहाँले हाम्रो ख्याल राख्नुहुनेछ र हामी नष्ट हुनेछैनौं।”
7तब नावीकहरूले आपसमा भन्न लागे, “आओ, यस आपत्तिको जिम्मावार को रहेछ, सो जान्नलाई हामी चिट्ठा हालौं।” तिनीहरूले चिट्ठा हाले, र चिट्ठा योनाको नाउँमा पर्यो।
8तब तिनीहरूले तिनलाई सोधे, “हामीलाई भन, हामीमाथि यो आपत् ल्याउन को जिम्मेवार छ? तिम्रो काम के हो? तिमी कहाँबाट आएका हौ? तिम्रो देश कुन हो? तिमी कुन जातिका हौ?”
9तिनले जवाफ दिएर भने, “म एक हिब्रू हुँ, अनि म स्वर्गका परमेश्वरको आराधना गर्दछु, जसले समुद्र र जमिन दुवै बनाउनुभयो।”
10यस कुराले तिनीहरू डराए र तिनलाई सोधे, “तिमीले के गरेका छौ?” (अघि नै यो कुरा बताएका हुनाले तिनी परमप्रभुको सामुन्नेबाट भागेका रहेछन् भन्ने तिनीहरूलाई थाहा थियो।)
11समुद्रका छालहरू झन्-झन् प्रचण्ड हुँदैथिए। यसैले तिनीहरूले सोधे, “तिमीलाई अब हामीले के गरेदेखि समुद्र हाम्रा निम्ति शान्त होला?”
12तिनले जवाफ दिए, “मलाई उचालेर समुद्रमा फालिदेओ, र समुद्र शान्त हुनेछ। किनकि मेरै कारणले गर्दा तिमीहरूमाथि यो प्रचण्ड आँधी चलेको हो भन्ने म जान्दछु।”
13तापनि जहाजलाई किनार लगाउनलाई ती मानिसहरूले सकेसम्म खियाए, तर तिनीहरूले सकेनन्, किनकि तिनीहरूका विरुद्धमा समुद्र झन्-झन् खराब हुँदैगयो।
14यसकारण तिनीहरूले परमप्रभुमा पुकारा गरेर भने, “बिन्ती छ, हे परमप्रभु, यस मानिसको ज्यान लिएको कारण हामीलाई मर्न नपरोस्, र एक निर्दोष मानिसका हत्याको दोष हामीलाई नलागोस्, किनकि हे परमप्रभु, तपाईंलाई जस्तो इच्छा लागेको थियो सो गर्नुभएको छ।”
15तब तिनीहरूले योनालाई उचालेर समुद्रमा फालिदिए, र उर्लेको समुद्र शान्त भइहाल्यो।
16यो देखेर ती मानिसहरूले परमप्रभुको अत्यन्तै भय माने, र तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए र उहाँमा भाकल गरे।
17तर योनालाई निल्न परमप्रभुले एउटा ठूलो माछा जुटाउनुभयो, र तीन दिन र तीन रातसम्म योना त्यस माछाको पेटभित्र रहे।